coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

स्वास्थ्य सावधानी

भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने खबरले कोरोना महामारी नियन्त्रणको सवालमा थोरै भए पनि आशा जगाएको छ । नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको, त्यही खोप भारतबाट एक साताभित्र  आउने र त्यसलगत्तै खोप लगाउन सुरु गर्ने भएकाले पनि आशा जागेको हो । खोप आएलगत्तै लगाउने मिति घोषणा गर्ने सरकारको तयारी छ । त्यसो त खोपका लागि गर्नुपर्ने आवश्यक आन्तरिक तयारी पूरा गरिसकेको हुनाले पनि खोप आउनेबित्तिकै लगाउन सहज हुने देखिएको हो । खोपको आपूर्ति तयारी, कोल्डचेन भण्डारण, स्वास्थ्यकर्मीलाई तालिम दिने, प्रचार–प्रसारका लागि सूचना तयारीदेखि खोपले पार्न सक्ने संभावित असरको उपचार तयारीसम्मका कार्य सम्पन्न भइसकेको छ । यसरी पहिलो चरणमा ल्याउन खोजिएको खोप अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने अन्य कर्मचारी, सेना तथा प्रहरीलगायतलाई दिने पनि सरकारी योजना छ । अहिले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैमा एक किसिमको डर/त्रास छ भने कम्तीमा पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई मात्र खोप दिँदा त्यसपछिका दिनमा कोरोना संक्रमितको उपचार प्रक्रिया ढुक्क र सहजताका साथ हुने अपेक्षा गर्न सकिन्छ ।

अहिले सबै क्षेत्र कोरोनाअघिको पूर्ववत् अवस्थामा फर्किन थालेका छन् । दैनिक जीवन यापनका लागि पूर्ववत् अवस्थामा फर्किनु बाध्यता पनि हो । तर त्योसँगै संभावित स्वास्थ्य जोखिमलाई ख्याल गरेर खोप आउन्जेल स्वास्थ्य सावधानी अपनाउन पनि उत्तिकै आवश्यक छ ।  

जति खोप आउन लागेकोमा आशा देखिन्छ, त्यसैगरी कोरोनाको संभावित दोस्रो लहर आउन सक्ने विज्ञहरूको चेतावनीले पनि उत्तिकै चिन्तित बनाएको छ । एकातिर बेलायतमा देखापरेको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि देखिएको र अर्काेतिर कोरोना संक्रमणको दर घटेसँगै सर्वसाधारणले स्वास्थ्य सावधानी अपनाउन हेलचेक्र्याइँ गर्न थालेकाले विज्ञहरूले दोस्रो लहरको चेतावनी दिएका हुन् । त्यसमाथि कोरोनालाई लगभग नियन्त्रणमा ल्याएका बेलायत, जर्मनी, इटालीदेखि जापानसम्मका मुलुकमा कोरोनाको दोस्रो लहर आएको र त्यसलाई नियन्त्रण गर्न फेरि पनि लकडाउन, आपतकाल जस्ता रणनीति अवलम्बन गर्नुपरेकाले पनि विज्ञहरूले बेलैमा चेतावनी दिएका हुन् । र, जनस्वास्थ्य क्षेत्रका यी विज्ञहरूको यो चेतावनीलाई नजरअन्दाज गर्न मिल्दैन ।  बेलायतबाट फर्केका तीन जना नेपालीमा नयाँ प्रजातिको कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चिकित्सकका अनुसार कोभिड–१९ कै नयाँ स्वरूपमा देखापरेको नयाँ प्रजातिको भाइरसको संक्रमण दर पहिलाको तुलनामा ७४ प्रतिशत ज्यादा छ । कुनै पनि भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने क्रममा बढी असर गर्ने विज्ञहरूको भनाइ छ । यो भाइरस कोभिड–१९ सार्स २ को तुलनामा तीव्र गतिमा सर्ने भएकाले एकैपटक धेरै संक्रमित हुने र धेरै जना एकैपटक अस्पताल पुग्दा उपचार प्रक्रिया सहज नहुने जोखिम पनि उत्तिकै छ । यो अवस्थामा संक्रमित सबैले राम्रो उपचार पाउन नसक्दा मृत्यु दरसमेत बढ्न सक्ने सम्भावना भएकाले पनि स्वास्थ्य सावधानीमा हेलचेक्र्याइँ नगर्न विज्ञले सुझाउँदै आएका हुन् ।  

नेपालमा कोरोना संक्रमितको तथ्यांक घट्दै गएसँगै सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेको र सत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनपछि जुन हिसाबले जमघट र  गतिविधि बढेको छ, त्यसले थप जोखिम देखिएकै हो । त्यसमाथि नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि हुनु जनस्वास्थ्यका हिसाबले चिन्ताको विषय हो । त्यसैले पनि नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएसँगै  स्वास्थ्य मन्त्रालयले सबैमा खोपको पहुँच नपुगेसम्म स्वास्थ्य मापदण्ड कडाइपूर्वक पालना गर्न अनुरोध गरेको छ । दुई मिटरको भौतिक दूरी कायम गर्नेदेखि सकेसम्म भिडभाडमा नजाने, मास्क लगाउने, साबुन–पानीले हात धुने र बाहिर जाँदा सेनिटाइजरको प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सावधानी पालना गर्न मन्त्रालयले अनुरोध गरेको हो । एकातिर सर्वसाधारणले स्वास्थ्य सावधानी अपनाउने मामिलामा लापरबाही गरेका छन् भने अर्काेतिर कोरोनाका कारण विगत १० महिनादेखि बन्द भएका विभिन्न कार्यालयदेखि शैक्षिक संस्थासमेत खुलेका छन् । स–साना केटाकेटी पनि विद्यालय जान थालेकाले उनीहरूबाट घर–घरमा कोरोना संक्रमण फैलिन सक्ने संभावनालाई नजरअन्दाज गर्न मिल्दैन । स–साना केटाकेटीबाट स्वास्थ्य सावधानी अपनाउने सवालमा कमजोरी हुन जाने र उनीहरू संक्रमित हुने खतरा रहन्छ । केटाकेटीमा त्यति धेरै लक्षण नदेखिने तर उनीहरूबाट घर–घरमा संक्रमण फैलिन सक्ने भनी जनस्वास्थ्यविज्ञहरूले दिँदै आएका चेतावनीलाई पनि सरोकारवालाले मनन गर्नैपर्छ ।  

एक हिसाबले भन्ने हो भने अहिले सबै क्षेत्र कोरोनाअघिको पूर्ववत् अवस्थामा फर्कन थालेका छन् । दैनिक जीवन यापनका लागि पूर्ववत् अवस्थामा फर्कनु बाध्यता पनि हो । तर त्योसँगै संभावित स्वास्थ्य जोखिमलाई ख्याल गरेर खोप आउन्जेल स्वास्थ्य सावधानी अपनाउन पनि उत्तिकै आवश्यक छ । कोरोनालाई सामान्यरूपमा लिने र स्वास्थ्य सावधानी नअपनाउँदा आगामी दिनमा दोस्रो लहर आयो भने त्यो पहिलाको तुलनामा झनै खतरनाक हुन सक्छ । त्यसैले पनि कोरोनाविरुद्धको खोप नआउन्जेल सरकारले सर्वसाधारणलाई मास्कको अनिवार्य प्रयोगदेखि सार्वजनिक स्थानमा भौतिक दूरी कायम गर्ने जस्ता सामान्य विषयमा कडाइ गर्नैपर्छ । यता सर्वसाधारणले पनि यी सावधानी आफ्नै लागि हो भन्ने कुरा मनन गर्नुपर्छ । र, मुख्य कुरा कोरोना नियन्त्रणको प्रभावकारी उपाय यसविरुद्धको खोप नै भएकाले सरकारले खोप ल्याउनतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । त्यसका लागि कुनै मुलुकविशेषमा मात्रै भर नपरी कूटनीतिक सक्रियतामार्फत खोप निर्माता मुलुक र कम्पनीहरूसँग थप संवाद गरी खोप खरिदको आवश्यक प्रक्रिया थालनी गर्न ढिला गर्न हुँदैन ।

प्रकाशित: ८ माघ २०७७ ०३:५९ बिहीबार

Download Nagarik App
Download Nagarik App