२५ फाल्गुन २०७७ मंगलबार
सम्पादकीय

भूराजनीतिक भाष्य

भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगला दुईदिने नेपाल भ्रमण गरेर फर्किएको दोस्रो दिन चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल वेइ फेङहे काठमाडौँ आउनुलाई छिमेकी मुलकहरूको नेपालप्रति ध्यान आकृष्ट भएको रूपमा बुझ्न सकिन्छ। एक सातामै भारत र चीनबाट यो तहमा कूटनीतिक भ्रमण भए, त्यसको आफनै अर्थ र विशिष्ट महत्व छ। अझ नेपाल–भारतवबीच सीमा विवादका कारण करिब एक वर्षयता संवादहीनता देखिएकामा पछिल्लो समय भारतीय उच्च अधिकारीहरूको शृंखलाबद्ध भ्रमणले यो अवस्था तोडिएको छ। विदेश सचिव श्रींगला आउनुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र सेना प्रमुख मनोजमुकुन्द नरवाणेले छुट्टाछुट्टै नेपालको भ्रमण गरेका थिए। करिब एक महिनाभित्र भारतबाट भएका यी तीन भ्रमणले दिएको स्पष्ट सन्देश ‘दुई देशबीचको असहमति/असमझदारीको वार्ताबाटै समाधान खोज्ने’ भन्ने हो।  छिमेकी मुलुकबीचको असमझदारी वा मित्रराष्ट्रबीच देखिएका असहमतिको समाधान खोज्ने सबैभन्दा उन्नत बाटो कूटनीतिक संवाद र सहमति नै हो। तर सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले कोरोना महामारीका कारण देखाउँदै छलफलमा अनिच्छा देखाउँदा दुई देशबीच सम्बन्धमा एक किसिमको जटिलता देखिएकै हो। त्यसमाथि भारतले जतिबेला कोरोना महामारी भन्दै नेपालसँगको संवादलाई धकेलिरहेको थियो, त्यहीबेला अन्य मुलुकसँग भने कूटनीतिक भ्रमण र छलफललाई घनिभुत बनाइरहेकै थियो। त्यसले दुई देशबीचको सम्बन्धमा संशय झल्किनु स्वाभाविक थियो। त्यसैले पनि कोरोना महामारीलाई भारतले संवाद र छलफल टार्ने निहुँ मात्रै बनाएको बुझ्न गाह्रो थिएन। नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि अहिले दुई देशबीच विदेश सचिवस्तरीय बैठक हुनुलाई सकारात्मक विकासक्रमका रूपमा लिन सकिन्छ।

नेपाल–भारतबीचको सचिवस्तरीय यो वैठकमा आपसी सहकार्यलाई अगाडि बढाउने  सवालमा सहमति भएको छ। ‘दुईपक्षीय सहकार्यका कैयौँ विषयमा छलफल भएको’ भन्दै भारतीय विदेश सचिव श्रींगलाले ‘निकै फलदायी बैठक भएको’ बताएर जुन सन्देश दिए, त्यो आफैँमा महत्वपूर्ण छ। सचिवस्तरीय बैठकमा द्विपक्षीय सहयोगको समीक्षा हुनुका साथै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल हुनु सकारात्मक पक्ष हो। सीमा विवाद जस्तो अजेन्डा एक दुई सचिवस्तरीय बैठकबाटै छिनोफानो हुन सक्दैन। आपसी छलफलबाटै सीमा समस्या समाधान गर्ने सहमति सचिवस्तरीय बैठकमा भएको छ, त्यसले संवादको ढोका खोलेको छ। अब नेपाली पक्षले आगामी बैठकको आफ्नो प्रस्तुतिका बारेमा तयारी गर्नुपर्छ। त्यसका लागि सीमासम्बन्धी विषयमा पर्याप्त प्रमाण जुटाउनुपर्छ। श्रींगलाले आफ्नो भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको शिष्टाचार भेटमा कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे। त्यसक्रममा श्रींगलाले भारतले ठूलो परिमाणमा कोभिड–१९ खोप उत्पादन गर्न लागेको मात्रै बताएनन्, ‘नेपाललगायत निकटस्थ मित्रहरू भारतको प्राथमिकतामा पर्ने’ अभिव्यक्ति दिँदै भारत आफना छिमेकी मित्रराष्ट्र र उनीहरूले भोगेका समस्यामा संवेदनशील रहेको सन्देश दिन खोजे। त्यसैले भारतले नेपाल मामिलामा अहिले जुन संवेदनशीलता अभिव्यक्तिमार्फत देखाएको छ, त्यो आगामी दिनमा व्यवहारमै देखियो भने समस्याको समाधान सम्भव छ।

उत्तरी छिमेकी चीनले पनि नेपाललाई पछिल्लो समय उच्च प्राथमिकता दिएको देखिन्छ। एक वर्षअघि चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण र अहिले रक्षामन्त्री जनरल वेइ फेङहेको भ्रमणले पनि त्यसलाई पुष्टि गरेको छ। त्यसअघि नेपाली पक्षबाट त्यसैगरी चीनमा उच्चस्तरीय भ्रमण भएकै हो। यस्ता उच्चस्तरीय भ्रमणका क्रममा नेपाल–चीनबीच पनि थुप्रै सहमति÷समझदारी भएका छन्। अहिले रक्षामन्त्री फेङहेको भ्रमण तिनै दुईपक्षीय सम्झौता कार्यान्वयनमा केन्द्रित भएको देखिन्छ जुन उनी आफैँले त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै बताएका थिए। चिनियाँ रक्षामन्त्री वेइले पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी द्विपक्षीय हितका विषयमा कुराकानी गरे। राष्ट्रपतिसँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल गर्दै चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षीलाई पठाएको सन्देश सुनाए। यता, प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको र उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

यसरी उत्तर र दक्षिण दुवैतर्फका छिमेकी राष्ट्रले अहिले नेपाललाई प्राथमिकतामा राखेको सन्देश दिएका छन्। यसबाट नेपाली पक्ष हौसिनेभन्दा पनि त्यसलाई आफनो हितअनुकूल बनाउन प्रयासरत हुनुपर्छ। कतिपय बेला छिमेकी र शक्ति राष्ट्रहरूको चासो बढ्दा मुलुक नै भूराजनीतिक जटिलताको चपेटामा पनि फस्न सक्छ। त्यसैले नेपालले विश्वकै शक्ति राष्ट्रका रूपमा उदाउँदै गरेको चीन र त्यसलाई टक्कर दिने गरी अघि बढिरहेको भारत जस्ता दुवै छिमेकीको संवेदनशीलता र चासोलाई ध्यानमा राख्दै अगाडि बढ्नुको विकल्प छैन। त्यसो गर्दा चीन वा भारत कतैतिर ढल्किने होइन, दुई शक्ति राष्ट्रबीचको गतिशील पुलका रूपमा आफूलाई स्थापित गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। हाम्रो महत्व बढ्नुको कारण यहाँको भूराजनीतिक स्थिति हो। यसैकारण हामीलाई दुई छिमेकी चीन र भारतले मात्र प्राथमिकतामा राखेका छैनन्, अमेरिका, युरोप आदिका निम्ति पनि उत्तिकै महत्व छ। यो स्थितिलाई ध्यानमा राखेर अघि बढ्यौं भने निःसन्देह हामीले हाम्रो मुलुकलाई फाइदमा राख्न सक्छौँ। साथै मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि वृद्धि हुँदै जान्छ। 

प्रकाशित: १६ मंसिर २०७७ ११:५४ मंगलबार

Download Nagarik App
Download Nagarik App