गौशाला–चाबहिल–चुच्चेपाटी सडकखण्ड लामो समयदेखि मर्मत सम्भार नहुँदा अहिले यो क्षेत्र दयनीय अवस्थामा पुगेको छ। यसले त्यो सडकमा यात्रा गर्ने यात्रुलाई त कष्ट भएको छ नै साथै धुलोका कारण त्यस क्षेत्रका बासिन्दा अत्यासलाग्दो वातावरणमा बस्न बाध्य भएका छन्। चाबहिलका स्थानीयले ‘कोरोना महामारीले भन्दा पनि धुलैले मरिएला जस्तो छ’ भनी दिएको प्रतिक्रियाले त्यस क्षेत्रका बासिन्दा र त्यो सडक खण्डमा यात्रा गर्ने यात्रुको स्वास्थ्यमा के कस्तो प्रभाव परिरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। यसरी सडकमा उडेको धुलोका कारण काठमाडौंको वायु प्रदूषणसमेत बढ्दै गएको छ। वायु प्रदूषणका कारण दम, खोकीसँगै श्वासप्रश्वाससम्बन्धी, फोक्सोको क्यान्सर, मष्तिस्कघात जस्ता समस्या आउने विभिन्न अध्ययनले देखाएकै तथ्य हो। त्यसो त विश्व स्वास्थ्य संगठनको एक अध्ययनलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि १० हजार भन्दा बढी नेपालीको वायु प्रदूषणका कारण ज्याने जाने गरेको छ। त्यसैले वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा भयाबह स्वास्थ्य समस्या नआउला भन्न सकिँदैन। त्यसै पनि कोरोना महामारीले आक्रान्त सर्वसाधारणलाई यो धुलोले झनै समस्या निम्त्याएको छ।
वायु प्रदूषण हुनुमा प्रमुख कारणमध्येको एक हो, समयमै सडक मर्मत सम्भार नहुनु। काठमाडौंका सडक समयमै मर्मत सम्भार हुने हो भनेमात्र पनि वायु प्रदूषणमा धेरै कमी आउने थियो। त्यसमाथि सडकमा यात्रा गर्ने यात्रुदेखि स्थानीयले अत्यासलाग्दो अवस्थामा बस्नुपर्ने थिएन। कोरोना महामारी नियन्त्रणका लागि गत चैतमा लकडाउन गरेको समयमा काठमाडौंका कतिपय सडक कालोपत्रे र मर्मतसम्भार पनि भएका हुन्। त्यतिबेला मर्मत सम्भारका कारण सडक सफा भएका थिए। साथै त्यो बेला सवारी साधन सीमित संख्यामा मात्रै गुडेका कारण पनि उपत्यकाको वातावरण धेरै नै स्वच्छ भएको थियो। तर, अहिले फेरि पनि उही धुलोमाण्डुमा परिणत भएको छ। यो अवस्थामा सवारी साधनको आवतजावत कम गर्न त त्यति संभव नहोला। तर, सडक मर्मत सम्भार र कालोपत्रे मात्रै गर्ने हो भने पनि प्रदूषणलाई धेरै हदसम्म नियन्त्रण गर्न संभव हुन्छ। त्यसो त लकडाउनका बेला पनि उपत्यकाका मुख्य सडक खण्डमा मात्रै ध्यान दिइएको हो। भित्री सडकहरूको मर्मत सम्भार एवं कालोपत्रे गर्ने काम अघि बढ्न सकेको थिएन। फेरि त्यतिबेला जुन अभियानका साथ सडक मर्मत सम्भारको काम भएको थियो, अहिले त्यसले निरन्तरता पनि पाउन सकेको छैन। त्यसैले पनि काठमाडौं उपत्यका धुलोमाण्डुमा परिणत भएको हो।
त्यसो त डिभिजन सडक कार्यालय काठमाडौंले तयार पारेको कार्ययोजनाअनुसार काम भएको भए गौशाला–चाबहिल–चुच्चेपाटी सडकखण्ड पनि छ महिनाअघि नै कालोपत्रे भइसक्नुपर्ने हो। यो सडक खण्ड एउटा उदाहरण मात्र हो, यस्ता धेरै सडक खण्डमा मर्मत सम्भारका लागि कार्ययोजना चाहिँ बन्ने तर काम नहुने समस्या यथावत छ। यसरी काम नहुनुमा सरकारी निकायबीच एउटाले अर्काेतिर देखाएर उम्किने प्रवृति छ। अझ कहिलेकाहीँ त सडक विभागले कालोपत्रे गरेको केही दिनमै ढल, खानेपानी र विद्युत् जस्ता निकायले आफनो संरचनाको व्यवस्थापनको लागि सडक खन्ने गर्छन् जुन वर्षाैं सम्म कालोपत्रे हुँदैन। सडक विभागले कहिले खानेपानी कार्यालय त कहिले विद्युत् प्राधिकरणलाई देखाएर उम्किने गर्छ। अर्काेतिर ढल, खानेपानी र विद्युत् जस्ता कार्यालयले चाहिँ सडक विभागले आपसी समन्वय नगरेको कारण देखाउँदै दोष उतै थुपार्ने गर्छन्। जसले जसलाई दोष लगाए पनि आखिर सरकारी निकायहरूबीचको समन्वय अभाव, ढिलासुस्ती र अकर्मण्यताका कारण सर्वसाधारणले भने सास्ती खेप्नु परिरहेको छ।
गौशाला–चाबहिल–चुच्चेपाटी सडकखण्डकै कुरा गर्ने हो भने त्यहाँ अहिले धुलाम्मे सडकका कारण सर्वसाधारणलाई आउजाउ नै समस्या भइरहेको छ। सडक विभाग र ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारण सर्वसाधारणले यो सास्ती खेप्नुपरेको हो यसमा पनि डिभिजन सडक कार्यालय, ठेकेदार कम्पनी र विद्युत् प्राधिकरण तीनवटै पक्षको लापरबाहीको कारण अहिलेको समस्या देखिएको हो। डिभिजन सडक कार्यालयले कालिका वेदांशी कन्स्ट्रक्सन जेभीलाई उक्त सडक निर्माणको ठेक्का दिएको हो। तर, ठेकेदार कम्पनी भने विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) र खानेपानीको पाइप लिकेजका कारण कालोपत्रे गर्न ढिलाइ भएको प्रष्टीकरण दिएर उम्किन खोजिरहेको छ। त्यसो त सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच भूमिगत विद्युतीय पाइपलाइन बिछ्याउने सम्झौता भएअनुसार प्राधिकरणले तोकिएको समयभित्रै उक्त सडकखण्डमा भूमिगत प्रसारण लाइन विस्तार नगरिदिएका कारण पनि सडक कालोपत्रेको काम प्रभावित भएको हो।
यता, प्राधिकरणले भने कोरोनाका कारण कामदार नभएको भन्दै जेठको अन्तिम समयमा मात्रै भूमिगत विद्युतीय प्रसारण लाइन राख्ने काम सकेको थियो। तर, डिभिजन सडक कार्यालयले असारमा वर्षात् सुरु भएको भन्दै सडक निर्माण कार्य अघि बढाएन जसका कारण लामो समयदेखि गौशाला चाबहिल सडकखण्ड अस्तव्यस्त बनेको हो। अन्य स्थानको समस्या पनि उस्तै छ। कुनै न कुनै निहुँ बनाएर सडक मर्मत सम्भारको कामलाई पछि धकेल्ने काम भएको छ भने सर्वसाधारणचाहिँ दैनिक हैरानी बेहोर्न बाध्य छन्। विगतमा भन्दा अहिले काठमाडौंका मुख्य सडक खण्डहरूमा सुधार भए पनि भित्री सडकको अवस्थामा चाहिँ कुनै सुधार आएको देखिँदैन। सडक विभागले पनि प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ अधिकारी हिँड्ने सडक खण्डमा मात्रै ध्यान दिने होइन, भित्री सडकखण्डका समस्यालाई पनि उत्तिकै प्राथमिकता दिन जरुरी छ। यसका साथै संघीय संरचनाअनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका साना सडकहरूको मर्मत सम्भारको कार्यमा स्थानीय सरकारले ध्यान दिन आवश्यक छ। सडक मर्मत सम्भारमा देखिएको समस्याको समाधानका लागि विभिन्न सरकारी निकायबीच समन्वय त जरुरी छ नै साथै संघीय, प्रादेशिक र स्थानीय सरकारबीचको समन्वयको पनि उत्तिकै खाँचो छ। त्यसका लागि कम्तीमा भौतिक पूर्वाधार मन्त्रालय र त्यस मातहतको सडक विभागले सक्रियता देखाउन जरुरी छ।
प्रकाशित: ११ मंसिर २०७७ ०५:४८ बिहीबार