९ वैशाख २०७८ बिहीबार
सम्पादकीय

व्याधिमा वैद्यखाना

कोभिड–१९ को बढ्दो संक्रमणसँगै बजारमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग बढिरहेको छ तर आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको सिंहदरवार वैद्यखानालाई चाहिँ यहीबेला थला पार्ने काम भएको छ। आयुर्वेदिक औषधि उत्पादन गर्ने नेपालको सबैभन्दा पुरानो यो कम्पनीले अहिले उत्पादन नै बन्द गरेको छ जसले गर्दा बजारमा निजी कम्पनीका कमसल औषधिको बिगबिगी छ। यसले गर्दा  स्वास्थ्य मन्त्रालयदेखि वैद्यखानासम्ममा कार्यरत उच्च कर्मचारीले नै कतै निजी कम्पनीसँग मिलेमतो त गरिरहेका छैनन् भन्ने गम्भीर शंका पनि उब्जिएको छ। अझ स्वास्थ्य मन्त्रालयसमेत यो सवालमा मौन रहनुले त्यो शंकामा थप बल मिलेको छ। अहिले आयुर्वेदिक औषधिको माग भएका बेला उत्पादनलाई अझै बढाउनुपर्ने हो। तर यहीबेला वैद्यखानाले भने आफूले उत्पादन गर्दै आएका शिलाजित, पीडाहर, आसव अरिष्ट जस्ता महत्वपूर्ण आयुर्वेदिक औषधि उत्पादन नै बन्द गरेको हो जुन औषधि शरीरलाई तागत दिने र रोग प्रतिरोधी क्षमता बढाउने हिसावले परिचित छन्। त्यसो त कोभिड–१९ लाई कुनै विशेष औषधि मात्रले निको गर्छ भन्ने प्रमाणित भएको विषय होइन। तैपनि, आयुर्वेदिक औषधिहरू प्रभावकारी भएको कतिपय अनुसन्धानले संकेत गरेकै विषय हो। त्यसमाथि नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू स्वंयले आयुर्वेदिक औषधिहरूले आफूलाई राम्रो गरेको बताउँदै आएका छन्। संक्रमित व्यक्तिहरूको अनुभवकै आधारमा पनि आयुर्वेदिक औषधि कोभिड–१९ का लागि फलदायी भएको देखिन्छ। यी र यस्तै कारणले नेपालमा कोभिड–१९ को समयमा आयुर्वेदिक औषधिहरूले बजार लिएको हो। त्यसैले आयुर्वेदिक औषधिहरू कोरोना संक्रमण भएका र नभएका दुवै किसिमका व्यक्तिका लागि गुणकारी भएकामा कुनै शंका छैन।

कोरोना भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका बेला वैद्यखानाले भने औषधि उत्पादन बन्द गरेर बजारमा अभाव सिर्जना गराएको छ।

एकातिर शरीरमा रोग प्रतिरोधी क्षमता बढाएर संक्रमणबाट जोगाउने अर्काेतिर संक्रमितलाई पनि लाभदायी हुने भएकाले कोभिडको समयमा आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको हो। त्यसमाथि आयुर्वेदिक औषधिले कुनै पनि किसिमको असर नगर्ने भएकाले पनि यसप्रति आकर्षण थपिएको हो। यसरी आयुर्वेदिक औषधिप्रति आकर्षण बढेका बेला सरकारीस्तरबाट यसको उत्पादनमा जोड दिनुका साथै यसको प्रभावकारिताका विषयमा थप अनुसन्धान अघि बढाउनुपर्ने हो। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली स्वंय नै आयुर्वेदिक औषधिको महŒवबारे बेलावखत प्रकाश पार्ने गर्छन्। यही कोभिड नियन्त्रणका लागि पनि उनले बेसार पानीलगायतका आयुर्वेदिक औषधि सेवन गर्न सुझाव दिएकै हुन् भलै अन्य तयारीचाहिँ नगर्ने तर बेसार पानीलाई मात्र कोभिड–१९ उपचारको रामवाणका रूपमा अतिरञ्जित गरेका कारण यो ठट्टाको विषय बन्यो। हो, प्रधानमन्त्री ओलीले आयुर्वेद विज्ञानको विकासमा साँच्चै जोड दिनै खोजेका हुन् भने सरकारी स्वामित्वमा रहेको कम्पनीले उत्पादन गरिरहेको औषधिसमेत यस्तो बेला बन्द गर्दा मौन नबस्नुपर्ने हो। त्यसैले स्वास्थ्य संकट हुनुका साथै अत्यधिक माग भइरहेका बेला सरकारी स्वामित्वको वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन बन्द गरेको विषयमा प्रधानमन्त्रीकै ध्यान आकृष्ट हुनुपर्छ।

कोरोना भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका बेला वैद्यखानाले भने औषधि उत्पादन बन्द गरेर बजारमा अभाव सिर्जना गराएको छ। अहिलेको समयमा वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन गर्ने हो भने एकातिर आमउपभोक्ताले गुणस्तरीय आयुर्वेदिक औषधि पाउँछन् भने अर्काेतिर वैद्यखाना फाइदामा जान सक्छ। तर निजी संस्थाहरूले रातारात करोडौँ आम्दानी गरिरहेका बेला आयुर्वेदको क्षेत्रमा स्थापित र परिचित सिंहदरबार वैद्यखानाचाहिँ टाट पल्टिने अवस्थामा पुग्नु दुभाग्र्यपूर्ण हो। सिंहदरबार वैद्यखानामा ६० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् भने कर्मचारीको तलब, भत्ता र सुविधा तथा कार्यालय व्यवस्थापनमा मात्रै वार्षिक दुई करोड बढी खर्च हुँदै आएको छ। अघिल्लो वर्ष दुई करोड ४८ लाख रुपियाँको औषधि बिक्री गरेको वैद्यखानाको बिक्री यो वर्ष एक करोड हाराहारीमा छ। यो वर्ष उत्पादन घटाएका कारण बिक्री वितरणमा कमी आएको हो। त्यसो त वैद्यखानाले उत्पादन गर्ने गरेको च्यवनप्रास, शिलाजितलगायत औषधि खोज्न अहिले पनि दैनिक सयौँको संख्यामा ग्राहक वैद्यखानासम्मै पुग्ने गर्छन्। तर वैद्यखाना स्वयंले उत्पादन बन्द गरेका कारण त्यस्ता ग्राहक खाली हात फर्कन बाध्य छन्। सिंहदरबार वैद्यखानाले आफ्नो क्षमताअनुसार आवश्यक आयुर्वेदिक औषधि नियमित उत्पादन गर्ने हो भने वार्षिक १५ देखि २० करोड रुपियाँसम्म आम्दानी सहजै गर्न सक्ने त्यहीँ कार्यरत कर्मचारी बताउँछन्। यसैलाई आधार मान्ने हो भने कम्पनीको पूर्वाधार र क्षमता कमजोर होइन, नियतमा मात्रै समस्या हो। त्यसैले त औषधि उत्पादनका लागि करोडौँमा खरिद गरिएका उपकरण त्यत्तिकै थन्क्याउने काम गरिएको छ भने सिंहदरबार वैद्यखानाचाहिँ उत्पादन र बिक्रीका हिसावले दिन÷प्रतिदिन ओरालो लाग्दै गएको छ। औषधि उत्पादन गर्ने आफ्नो मुख्य जिम्मेवारी पूरा नगर्दा संस्था नै धराशायी बन्दै गएको देखिन्छ। यो अवस्थामा वैद्यखानाकै उपचार पहिला गर्नुपर्ने देखिन्छ। विशेषगरी अहिलेको स्वास्थ्य संकटको समयमा आयुर्वेदिक औषधिको प्रभावलाई विचार गर्दै स्वास्थ्य मन्त्रालय र यसको नेतृत्वकर्ताले यस क्षेत्र विशेषगरी सिंहदरवार वैद्यखानाको सुधार र सुदृढीकरणमा ध्यान दिनैपर्छ। सिंहदरबार वैद्यखाना एउटा इतिहासको विरासत पनि हो। यसलाई जोगाउँदै नेपाली जडीबुटीबाट मौलिक परम्पराका औषधि उत्पादन गर्दै स्वास्थ्य सुधारमा यसलाई लगाउनु उचित हुन्छ। 

प्रकाशित: १० मंसिर २०७७ १२:३५ बुधबार

को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?