अन्ततः सरकारले तेजाब (एसिड) आक्रमणविरुद्ध कडा सजाय व्यवस्थासहित अध्यादेश जारी गरेर सन्त्रस्त पीडितको चोटमा मलम लगाउने कोसिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा चासो देखाएर अत्यन्त चाँडै कानुनी रूप दिएका छन्। तीव्र गतिमा अध्यादेश ल्याई लागू गराउने व्यवस्थाले अहिलेको सरकार यो पीडादायी अवस्थाप्रति गम्भीर भएको सन्देश समेत दिएको छ। मुलुकका विद्यमान कानुनले यो मुद्दालाई सम्बोधन गरेका भए पनि अझ यसलाई बलियो र फराकिलो बनाउनु आवश्यक रहेको सरकारले महसुस गरेको छ। एसिड आक्रमणविरुद्ध सक्रिय अभियन्ताले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका हुन्।
कोरोना विषाणु संक्रमण महामारीकै बेला (गत वैशाख)मा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएका कारण प्रधानमन्त्री ओली आलोचित भएका थिए। मुलुकका समस्यालाई बेवास्ता गरी आफ्नो राजनीतिक लाभका निम्ति यसरी अध्यादेश ल्याउँदा ओलीको आलोचना हुनु स्वाभाविक थियो। अहिले कोरोना महामारी उत्कर्षमा पुगेका बेला पनि एसिड आक्रमणलाई सम्बोधन गर्दा भने आलोचनाभन्दा स्याबासीका ताली नै बढी बजेका छन्। वास्तवमा जो एसिड आक्रमणमा परेका छन्, जसका परिवार यसबाट पीडित छन्, तिनले भोगेको यो पीडाको कुनै हिसाब छैन। तिनका मनमा लागेको घाउ जिन्दगीभरि निको हुँदैन। कडा कानुन र यसको कार्यान्वयनले निःसन्देह एसिड आक्रमणलाई निरुत्साहित गर्छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीबाट यसमा स्वीकृति भई मंगलबारदेखि कार्यान्वयन समेत सुरु भएको छ। यो कानुनी प्रावधानअनुसार अब एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ। कडा सजाय र जरिवानाले आपराधिक मनोवृत्तिका व्यक्ति निरुत्साहित हुन सक्छन्। दुवै आँखा जली वा क्षति भई पूर्ण रूपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पूर्ण रूपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रूपमा जली वा क्षति भई कुरूप भएमा, महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनांग जली वा क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख जरिवाना हुने व्यवस्था गरिएको छ।
अब एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ। कडा सजाय र जरिवानाले आपराधिक मनोवृत्तिका व्यक्ति निरुत्साहित हुन सक्छन्।
एउटा आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली वा क्षति भई कुरूप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रूपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा १० देखि २० वर्षसम्म कैद र सात लाखदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था कानुनमा छ। यस्तै, शरीरको कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसुुरको प्रकृति बमोजिम पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।
एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभए पनि त्यसैको परिणाम स्वरूपपछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्छ। एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागे पनि उद्योग गरेको मान्ने गरी कानुनी व्यवस्था भएको छ। यस्तो अवस्थामा पनि १० वर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुनेछ। यसरी प्राप्त जरिवाना पीडितले पाउने व्यवस्था कानुनमा हुनु निःसन्देश पीडितका पक्षमा गरिएको निर्णयका रूपमा लिन सकिनेछ। पीडितको उपचारको व्यवस्था सरकारले गर्ने÷गराउने प्रावधान पनि पीडितमैत्री छ।
पछिल्ला वर्षमा एसिड पीडितको संख्या बढिरहेको छ। कुनै युवतीसँग प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेमा वा अन्य कुनै कारणले एसिड आक्रमण गरिएका घटना निरन्तर सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन्। दक्षिण एसियामा भारत, पाकिस्तान लगायत मुलुकमा एसिडको दुरुपयोग हुँदै आएको थियो। यसरी आक्रमणमा पर्ने महिलाको ठूलो संख्या छ। तिनका बारेमा अनेकन् फिल्म र कथा बनेका छन्। हाम्रो मुलुकमा पनि केही वर्षयता यस्ता पीडितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सँगै यस्ता घटनाका विरुद्धमा यहाँ वातावरण पनि बन्न थालेको छ। केही अभियन्ताले यो मुद्दालाई गम्भीरतापूर्वक उठाउने, सरकारसम्म पु¥याउने र कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने माग गर्दै आएका हुन्। यसबीच केही एसिडपीडित महिलालाई नेपाली र भारतीय कलाकारले समेत मनोबल बढाउन सार्वजनिक रूपमा अभियान समेत सञ्चालन गरेका थिए।
एसिडको किनबेच आदिमा कानुनी प्रावधानको पालना अत्यावश्यक छ। कुनै कानुन निर्माण गरेर मात्र पुग्दैन, त्यसको कार्यान्वयनमा गम्भीरता महत्वपूर्ण हुन्छ। कसैले एसिड प्रहार गरिसकेपछि कानुनी कारबाही गर्नु त छँदै छ, त्योभन्दा पहिल्यै यस्ता घटना हुन नदिन पर्याप्त सावधानी आवश्यक छ। पुरुषले महिलालाई मात्र होइन, महिलाले समेत पुरुषलाई एसिड आक्रमण गरेका घटना यसबीच भएका थिए। कोही व्यक्तिलाई एसिड हानेर जीवनमरणको दोसाँधमा पु¥याउने उद्देश्य आक्रमणकारीको हुने रहेछ भन्ने देखिएको छ। त्यसकारण सकेसम्म बदला लिन यस्ता वस्तुको उपयोग गर्नुहुन्न भन्ने सामाजिक चेतना आवश्यक छ। प्रत्येक वर्ष भदौ २५ गते मनाउने योजना गरिएको एसिड आक्रमण विरुद्धको जागरण दिवसले यो चेतनामा इँटा थप्ने विश्वास लिन सकिन्छ।
प्रकाशित: १४ आश्विन २०७७ ०५:०५ बुधबार