१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

महामारीमा नागरिक जिम्मेवारी

कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले गत वर्षको चैत ११ देखि राष्ट्रव्यापी रूपमा गरेको पूर्ण लकडाउन मंगलबार मध्यरातदेखि औपचारिक रूपमा अन्त्य ग¥यो। योबीचमा असार १ देखि आंशिक रूपमा लकडाउन खोलेर सरकारले बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य अत्यावश्यक कार्यालय सञ्चालनको अनुमति दिएको थियो। अझै पनि स्कुल, कलेज, जिमखाना, भोजभतेर, धार्मिक स्थल, चिडियाखाना, डान्सबार, सभा–सेमिनार लगायत भीडभाड हुने स्थानमा लगाइएको रोक कायमै छ।  

स्वाभाविक रूपमा लकडाउन लम्बाइरहँदा भोकमरी, खाद्यसुरक्षा, बेरोजगारी बढेर मानवीय संकट झन् गहिरिने सम्भावना बढ्छ। त्यस हिसाबले लकडाउन खुला गर्ने निर्णय सही हो। तर, लकडाउनले सामाजिक तथा आर्थिक जीवनलाई असर पारे पनि संक्रामक भाइरसको फैलावट नियन्त्रणमा यसले सहयोग गरेकै थियो। नेपालमा आइतबारसम्म ४५ जनाको मृत्यु भएको छ भने १८ हजार ६ सय १३ जना संक्रमित भएका छन्। पछिल्ला दिनमा समग्रमा देशभर संक्रमितको संख्या घटेको भए पनि तराईका केही जिल्लामा संक्रमण समुदाय स्तरमा देखिएको छ। नेपालका ९९ प्रतिशत कोरोना भाइरस संक्रमितलाई यसअघि कुनै लक्षण देखिएको थिएन, अहिले लक्षण सहितका संक्रमित देखिन थालेका छन्। सार्वजनिक यातायात खुलेको अवस्थामा सवारी आवागमनको बढी चाप रहने सहरी क्षेत्रमा आवश्यक सावधानी नअपनाए संक्रमण बढ्ने सम्भावना रहन्छ। विज्ञले पनि ठूलो जनघनत्व भएको राजधानी काठमाडौंमा संक्रमण बढ्न सक्ने अनुमान गरेका छन्। अर्काेतर्फ उनीहरू स्वास्थ्यकर्मीमा संक्रमण बढेको देखिएकाले महामारी अस्पतालमा प्रवेश गरिसकेको तर्क गर्छन्।  

‘लकडाउन अन्त्य’को घोषणा गर्दैमा महामारी सकियो वा संक्रमण फैलिने सम्भावना कम भयो भन्ने होइन, भीडभाड बढ्दा र सावधानी नअपनाउँदा संक्रमण फैलने सम्भावना झनै बढ्छ। सरकारको घोषणाले सर्वसाधारणमा गलत सन्देश गएको भनी विज्ञले चिन्ता व्यक्त गरेका छन्। ‘लकडाउन अन्त्य’लाई आम मानिसले नियमित जीवनशैली अवलम्बन गर्न सक्ने अर्थमा बुझे अनर्थ हुन जान्छ।  

अहिले काठमाडौं लगायत देशका सहर बजारमा चहलपहल देखिन थालेको छ। राजधानीमा चल्ने सफा टेम्पो, माइक्रोबस तथा साना बसमा मानिसले एकापसमा राख्नैपर्ने दूरी कायम गरेका छैनन्। मास्क खोलेर गफगाफ गरेका दृश्य यत्रतत्र देखिन्छन्। यस्ता असावधानीले भाइरसको जोखिम बढ्छ, घट्दैन।  

विशेषगरी सहरी क्षेत्रमा सार्वजनिक यातायात खुला हँुदा चुनौती झनै थपिएको छ। सबैभन्दा पहिले कोभिड–१९ महामारी फैलिएको चीनमा नियन्त्रणका लागि कडा कदम चालिएको थियो। लकडाउनसँगै सावधानीका अन्य उपाय अवलम्बन गरेकाले चीनले महामारीलाई छिटै नियन्त्रणमा लिन सफल भयो। अर्काेतिर, पूर्वी एसियाकै सिंगापुर र ताइवानमा आम मानिसले अवलम्बन गरेको सावधानीकै कारण भाइरस फैलने क्रम रोकिँदै गएको छ। इटालीले गरेको भाइरस नियन्त्रणको प्रयासलाई लिएर अमेरिकी लेखकले आफ्नै देशको गलत नीतिको आलोचना गर्ने गरेका छन्। नेपालले आमनागरिकले परिपालन गर्नुपर्ने नियमलाई न चीनको जस्तो कडा बनाउन सकेको छ, न त सिंगापुर र ताइवानका आममानिसले अवलम्बन गरेको जस्तो सावधानी नेपालीले अवलम्बन गरेका छन्।

‘लकडाउन अन्त्य’को घोषणा गर्दैमा महामारी सकियो वा संक्रमण फैलिने सम्भावना कम भयो भन्ने होइन, भीडभाड बढ्दा र सावधानी नअपनाउँदा संक्रमण फैलने सम्भावना झनै बढ्छ। सरकारको घोषणाले सर्वसाधारणमा गलत सन्देश गएको भनी विज्ञले चिन्ता व्यक्त गरेका छन्। ‘लकडाउन अन्त्य’लाई आम मानिसले नियमित जीवनशैली अवलम्बन गर्न सक्ने अर्थमा बुझे अनर्थ हुन जान्छ।

नेपाल सरकारले आम मानिसले मास्क अनिवार्य रूपमा लगाउन अनुरोध गरेको छ, तर त्यसको पूर्ण रूपमा पालना भएको छैन। पछिल्ला दिनमा भाइरसको संक्रमण हावाको माध्यमबाट पनि सर्न सक्ने प्रमाण फेला परेका कारण विश्वभर मास्क प्रयोगलाई अपरिहार्य मानिएको छ। मास्कको विषयलाई लिएर अनुदार धारणा राख्ने अमेरिकी राष्ट्रपतिले समेत गत साता आम अमेरिकीलाई मास्कको प्रयोग गर्न अनुरोध गरेका छन्।

यो परिप्रेक्ष्यमा आमनागरिकले रोगको संक्रमण रोक्न अनुशासित भई सावधान हुन अत्यावश्यक छ। त्यसो नगरे महामारीको अवधि लम्बिनेछ र महामारीका कारण पर्ने आर्थिक तथा सामाजिक प्रभाव झन् बढ्नेछन्। पछिल्ला दिनमा नेपालमा चार–पाँच हजारको हाराहारीमा मात्र परीक्षण हुन सकेको छ। दिनहुँको संक्रमण दुई सयभन्दा कम देखिएको छ। साँच्चिकै संक्रमण घटेको हो, अथवा परीक्षणको सीमित दायराका कारण घट्न गएको हो भन्ने प्रस्ट छैन। यसका लागि परीक्षणको दायरालाई बढाउनैपर्छ, जसले महामारीको सही अवस्था देखाउँछ।  

अबका दिनमा पनि युद्धस्तरमा टेस्टिङ र ट्रेसिङलाई अगाडि बढाउन आवश्यक छ। सार्वजनिक यातायात तथा बजारमा संक्रमणको टे«सिङ गर्न सजिलो छैन। सरकारले अबका दिनमा कसरी महामारी नियन्त्रणका रणनीति अख्तियार गर्छ, त्यो आम जनचासोको विषय हो। निश्चित के हो भने, कामचलाउ हिसाब र कछुवा गतिले महामारीको अवस्थालाई सम्बोधन गर्न सकिँदैन।

महामारी नियन्त्रण प्रमुख प्राथमिकताको विषय हो। भाइरस नियन्त्रण सँगसँगै सामाजिक एवं आर्थिक जीवनलाई सन्तुलित बनाई अघि बढ्नुपर्छ। यसका लागि आमनागरिकको सचेतना र सरकारको प्रभावकारी नियमन तथा अनुगमन महत्वपूर्ण हुन्छ। यसो गर्न सके मात्र संकट टार्न सकिन्छ। यसले जीवन र जीविकोपार्जन दुवैको सुरक्षा गर्न सक्छ।

प्रकाशित: १२ श्रावण २०७७ ०५:३४ सोमबार

Download Nagarik App
Download Nagarik App