८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सामान्य जीवनका सावधानी

अन्ततः सरकारले कोरोना भाइरस संक्रमण रोक्न गरेको बन्दाबन्दी (लकडाउन) को असीऔँ दिनमा पुगेर खुकुलो पार्ने निर्णय गरेको छ। निःसन्देह बन्दाबन्दीले जनजीवन कष्टकर बनाएको छ। यसलाई अनन्तकालसम्म बढाएर लैजान सक्ने अवस्था थिएन र छैन पनि। बन्दाबन्दी एउटा अपरिहार्य आवश्यकताका रूपमा सुरुमा देखिएको हो। समुदायको तहमा यसको फैलावट नहोस् भनेर बन्दाबन्दी गर्नु स्वाभाविक हो। यो स्थितिमा फेरि जनजीवन सामान्य अवस्थातिर जाने क्रम सुरु भएको छ। सरकारको निर्णयले जनजीवन खुल्ने अवस्थातिर गए पनि स्थिति सहज छैन। जतिबेला बन्दाबन्दी सुरु भयो, त्यो बेला एक जना संक्रमित निको भइसकेका थिए भने अको एक संक्रमित राजधानी काठमाडौँमा देखिएका थिए। त्यो बेला बन्दाबन्दी निर्विकल्प रहेको हो। त्यसकारण हामीले समेत बन्दाबन्दी तत्काल गर्नका निम्ति सरकारलाई आग्रह गरेका थियौँ।  

बन्दाबन्दीको पचासौँ दिनसम्म पुग्दा पनि जाँचको दायरालाई बढाइएको थिएन। भारतबाहेकको तेस्रो मुलुकबाट आउने व्यक्तिबाट संक्रमणको सम्भावना रहेन। तर विस्तारै भारतमा रोजीरोटी गुमाएर स्वदेश फर्किएका व्यक्तिहरूबाट यो फैलिँदै गएको छ। सरकारले बन्दाबन्दी खुकुलो पार्ने निर्णय गरेको बुधबारसम्ममा ४ हजार ३ सय ६४ जना संक्रमित मुलुकमा भएका छन्। यसबीच उपचारपछि ६ सय ७४ जना निको भइसकेका छन्। तथापि १५ जनाको निधन यसबीच भइसकेको छ। यस अर्थमा अहिले पनि कोरोना विषाणु संक्रमणको सम्भावना उत्तिकै छ। जाँचको दायरा बढाउँदै सरकारले यसलाई निमिट्यान्न पार्नेतिर लागिरहनुको विकल्प छैन। अहिले संक्रमण बढिरहेको स्थितिमा सबैको ध्यान यसलाई घटाउनेतिर जानु उचित हुन्छ।  

कोरोना विषाणु संक्रमणका सन्दर्भमा केही सुखद पक्ष पनि छन्। त्यो भनेको हाम्रो उपचार र सावधानीले धेरै व्यक्ति निको भएका छन्। बाँकी संक्रमित पनि निको हुँदै जाने छन्। तर यसको संक्रमण हुन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र चौपट भएको छ। धेरै मानिसले आफ्नो दैनिक रोजगारी गुमाएका छन्। आर्थिक कठिनाइ, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यतात्मक अवस्थाका कारण फैलिएको निराशा आदिले धेरै मानिसको मानसिक स्थिति खल्बलिएको छ। यो अवस्थामा तिनलाई परिवार, छिमेकी, समाज र मुलुकको साथ र सहयोगको आवश्यकता छ। बन्दाबन्दीयताको अढाइ महिनामा ११ सय २५ व्यक्तिले आत्महत्या गरेका छन्। कोरोना संक्रमणका कारण १५ जनाको मात्र मृत्यु भए पनि बन्दाबन्दीका क्रममा जीवनका कठिनाइ भोग्न नसकेर आत्महत्या गर्न बाध्य व्यक्तिहरूको जीवन मूल्य कता हो कता धेरै छ। यसले धेरैको जीवनलाई तहसनहस पारेको छ। यो बेलामा सहयोग गर्ने सरकारको अभाव महसुस गर्ने व्यक्तिको संख्या पनि ठूलो छ।  

मुलुकलाई बन्दाबन्दीमा राखेपछि संकटग्रस्त ठूलो जनसमुदाय छ, त्यसका निम्ति सोच्नुपर्छ भन्ने देखिएन। हो, स्थानीय सरकारले केही हदसम्म उल्लेख्य काम गरेका छन्। तैपनि जति ठूलो संख्यामा स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि र संरचनाका निम्ति मुलुकले खर्च गरेको छ, त्यही अनुपातमा तिनले आमनागरिकको जीवन सहज बनाउन काम गर्न नसकेको अवस्था उत्तिकै टड्कारो छ। स्वास्थ्यलाई मुलुकले मौलिक अधिकारका रूपमा संविधानमा स्थापित गरेको छ। तर यसका निम्ति बजेटको कम्तीमा १० प्रतिशत खर्च गर्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन। कोरोना महामारीका क्रममा हाम्रा स्वास्थ्य संरचनाको दुरावस्था प्रकट भएको छ। जुन तहमा यसको तयारी बन्दाबन्दीका क्रममा सरकारले गर्नुपर्ने थियो, त्यो हुन सकेन। त्यतिमात्र होइन, कोरोना विषाणुसँगको लडाइँमा प्रयोग हुने मेडिकल सामग्री र औषधि खरिदमा जुन तहको अनुशासनहीनता र अराजकता देखिएको छ, त्यसले भावी दिनमा समेत अहिलेको बेथितिलाई सम्झना गराइरहनेछ। यो बेलामा जुन संस्था र व्यक्तिहरूले मुलुकको महँगो स्रोतसाधनलाई आफ्नो आर्थिक अनियमितताबाट सिकार बनाएका छन्, त्यसलाई कहिल्यै बिर्सन सकिँदैन। मुलुकका प्रतिष्ठित संस्था र व्यक्तिको यथार्थ यसले प्रकट गरेको छ।  

सरकारले बन्दाबन्दीलाई खुकुलो बनाए पनि नागरिकका रूपमा हाम्रो जिम्मेवारी यथावत् छ। कोरोना विषाणुको स्वरूप र यसले गर्न सक्ने क्षतिबारे निरन्तर अध्ययन÷अनुसन्धान भइरहे पनि अझै धेरै पक्ष अन्धकारमै छन्। यसको संक्रमणमा परेर मृत्युको मुखमा परिहालियो भने पनि सरकारका निम्ति त्यो एउटा संख्याबाहेक केही हुने छैन। अहिले भएको १५ जना व्यक्तिको निधन परिवारका निम्ति भने ठूलो क्षति हो। यो स्थितिलाई बुझेर प्रत्येक व्यक्तिले आउने ‘न्यु नर्मल’ अर्थात् ‘नयाँ सामान्यवस्था’ मा पनि उत्तिकै सावधानी अपनाउनुको विकल्प छैन। कोरोना विषाणुको संक्रमणसँग अबको संसार हिजोजस्तो हुने छैन भन्ने भविष्यवाणी भइरहेको छ। कोरोना विषाणु हाम्रो बीचमै रहिरहने भएकाले यसबाट जोगिँदै आफ्नो दैनिकी अघि बढाउनुको विकल्प छैन। सरकारसँग यसका निम्ति ठूलो तयारी छैन। जति ठाउँमा संक्रमण देखिएको छ, त्यसको व्यवस्थापन गर्न हम्मे परेको छ। यो स्थितिलाई मनन् गर्दै व्यक्ति आफैँले आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्था छ।  

अबका दिनमा मास्क व्यक्तिका निम्ति अनिवार्य भइसकेको छ। हिजोसम्म हावाबाट यसको संक्रमण हुँदैन भनिएको थियो। कोरोना विषाणु हावामा तैरिएर पनि अन्य व्यक्तिमा संक्रमण हुन सक्ने सम्भावनालाई नकारिएको छैन। त्यसैगरी लक्षण नदेखिएका (असिम्टम्याटिक) बिरामीबाट यसको संक्रमण हुँदैन भन्ने मान्यतालाई समेत फेरि सच्याइएको छ। कोरोना विषाणुका सन्दर्भमा विश्वलाई नेतृत्व दिइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) समेत बेलाबेलामा अल्मलिने गरेको देखिएको छ। न सरकार न विश्व संस्था, कसैको भनाइमा नै भर गर्न सकिने अवस्था छ। यसका निम्ति व्यक्ति आफैँको जिम्मेवारीवोध महत्वपूर्ण हुन्छ। अब क्रमशः सामान्य जीवनमा प्रवेश गर्दाका सावधानी अत्यन्तै अपरिहार्य छन्। सचेत हौँ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०४:५१ शुक्रबार

Download Nagarik App
Download Nagarik App