७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

आत्मविश्वासी छोरीहरू !

नेपालको भविष्य सुन्दर छ भन्ने थुप्रै प्रमाण यही धर्तीमा छन् जसलाई दुःखजिलो सहेर पनि मातृभूमिमै भविष्य खोजिरहेकाहरूले पटकपटक पुष्टि गर्दै आएका छन्। गत आइतबार पनि नेपालका ‘बहादुर’ छोरीहरूले पुनः यसलाई एकपटक पुष्टि गरे। हुन त सन् २०२२ मै नेपालले भारतलाई हराउँदै पहिलोपल्ट जितको ध्वनी छिमेकी राष्ट्रविरुद्ध गुञ्जाएको थियो। तर, यसपल्ट कठिन परिस्थितिबाट उनीहरूले फेरि एकपटक विजयगान गुञ्जाए। उनीहरूले भूगोल, जनसंख्या, अर्थतन्त्रलगायत हरकुरामा नेपालभन्दा ठूलो छिमेकी भारतलाई फुटबलमा हराएर नेपाली मनलाई हर्षित मात्र तुल्याएका छैनन्, मुलुक सानो भए पनि हामी सक्षम छौं भन्ने पुष्टिसमेत गरेका छन्।

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा विशाल भारतसँग भिडिरहेका नेपाली छोरीहरूले भरिभराउ घरेलु दर्शकलाई निराश बनाउन नहुने आफ्नो ठूलो चुनौती राम्रैसँग बुझेका थिए। जसका लागि उनीहरूले अथक मिहेनत र जुक्तिका साथ मैदानमा प्रस्तुत हुनुपर्ने जिम्मेवारी राम्रोसँग निर्वाह गरे। राष्ट्रिय झण्डाको फर्फराहटसँगै गुञ्जयमान ताली र उत्साहले उनीहरूमा ऊर्जा भरेको थियो। जुन ऊर्जालाई सफलतामा परिणत गरेर नेपाली छोरीहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा समर्थकको मात्र हैन, सम्पूर्ण नेपालीको मन जिते। जसका लागि उनीहरूलाई जति बधाई दिए पनि कम हुन्छ।

शक्ति, सिप, कौशलका आधारमा सफलता हात पार्न कुनै लिंग मापक हुन सक्दैन भन्ने प्रमाण पनि हो यो। अवसर पाएमा नेपाली छोरीहरू आफ्नो प्रतिभा प्रष्फुटन गर्न सक्षम छन् भन्ने उनीहरूले यसपटक पनि पुष्टि गरे। जसरी यसअघि पनि विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेर होस् या राष्ट्रपतिको भूमिका निर्वाह गरेर, प्रधानन्यायाधीशका रूपमा सफल कार्यसम्पादन गरेर होस् या विभिन्न सार्वजनिक निकायमा इमानदारपूर्वक नेतृत्व गरेर नै किन होस्, आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। यो घटनाले फेरि पनि पुष्टि गरेको छ कि छोरीहरूलाई मात्र अवसर खाँचो छ। जसका लागि राज्यले वातावरण मिलाइदिनै पर्छ।

संगीत र खेलकुद यस्तो विषय हो जसले विश्व जोड्ने चुम्बकको काम गर्छ। युद्धोन्मुख विश्वमा यतिबेला भातृत्व कायम गर्ने सेतुहरू आवश्यक छ। जसका बाहक खेलाडी र कलाकार हुन सक्छन्। यस्तो परिवेशमा नेपाली छोरीहरूले आफूहरूलाई शान्तिका दरिला बाहकका रूपमा जसरी प्रस्तुत गरेका छन्, त्यसका लागि पनि उनीहरू थप बधाईका पात्र छन्। उनीहरूमा खेलका क्रममा देखिएको उत्साह, जाँगर र समर्पणले पनि यो पाटो राम्रैसँग उजागर गरेको छ। यो खेलमा केही नहुनुपर्ने घटना पनि भए। करिब एक घण्टा ६ मिनेट अवरुद्ध भयो। रेफ्रीले नेपाली पक्षलाई मान्यता दिइसकेका गोल पनि पछि रद्द भयो। रेखा पौडेलले दुई पटक पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिनुपर्‍यो। यिनै कारणले गर्दा घरेलु दर्शकहरूबाट केही असन्तुष्टि पनि व्यक्त भए। तर पनि नेपाली छोरीहरू यी सबै प्रतिकूलताबीच पनि परिणाम आफ्नो पक्षमा निकालिछाडे।

एक खेलाडीबिना र खेलमा १–० ले पछि परेको स्थितिमा जित निकाल्न कुनै पनि बलियो टोलीका लागि असम्भव जस्तै हुन्छ। यस्तो अवस्थामा जितको कल्पना गर्नु भनेको अप्रत्याशित नतिजा कुर्नु हो। आइतबार नेपाली चेलीले यही अप्रत्याशित नतिजा निकाले। त्यो नतिजाले दशरथ रंगशालामा रहेका १८ हजार समर्थकको मात्र होइन स्वयम् खेलाडीको शरीरमा पनि काँडा उम्रिएको थियो। नेपाली चेलीले असम्भवजस्तै देखिएको नतिजा ल्याए। नतिजामा पछि र एक खेलाडी बिना खेलेका नेपाली छोरीहरूले उल्टै भारतमाथि दबाब बनाए। जुन नतिजाको आधार नै उनीहरूमा उच्च आत्मविश्वास, एकता र देशप्रति समर्पण नै हो। नेपाली छोरीहरूले अप्रिय घटना रोक्न गरेका पहलले पनि उनीहरूको चर्चा थप चुलियो। असन्तुष्ट र उग्र दर्शकहरूलाई सम्भावित अप्रिय घटना हुनबाट जसरी रोके, त्यसका लागि उनीहरू पनि बधाईका पात्र पनि अवश्य छन्।

सबैलाई थाहा छ, हाम्रो देशले खेलकुदका लागि पर्याप्त लगानी गर्न सकेको छैन। कम्तीमा एक प्रतिशत लगानी नै नेपाली खेलकुदले देखेको महŒवाकांक्षा हो। जुन अहिलेसम्म पूरा हुन सकेको छैन। राज्यसँगै नीजि क्षेत्रको प्राथमिकतामा पनि खेलकुद देखिन्न। छोरीहरूले पनि खेल्छन् भन्ने मान्यता अभैm राम्रोसँग स्थापित हुनै नसकेको समाज हो हाम्रो। त्यसैले छोरीहरूको रुचि, क्षमता र उत्साह अनि जाँगरका आधारमा उनीहरूलाई तालिम, प्रशिक्षण जीवननिर्वाहका लागि आर्थिक सहयोग जस्ता क्षेत्रमा सरकारले सहयोग गर्नुपर्छ। तब मात्र २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिको उपाधि जित्ने सपना साकार बनाउने नेपाली छोरीहरूको लक्ष्यमा दरिलो साथ पुग्नेछ। सीमित सेवासुविधाबाट पनि नेपाली छोरीहरू पाँच पल्टसम्म उपाधिका लागि भिडेका छन्। अब बुधबार पनि छैटौंपल्ट प्रयास हुँदै छ। भारतविरुद्ध भएको प्रदर्शन दोहोरिएमा यसपल्ट भने उपाधि भिडन्त नेपालले बाङ्लादेशलाई हराउनेमा दुईमत छैन। फाइनलमा फेरि नेपाली छोरीहरूले अर्को चमत्कार देखाऊन्। हाम्रो अग्रिम शुभकामना !

प्रकाशित: १३ कार्तिक २०८१ ०६:०३ मंगलबार

Download Nagarik App
Download Nagarik App