गत साता देशभर परेको अन्धाधुन्ध पानी थामिए पनि कैयन् नेपालीका आँसु थामिएका छैनन्। वर्सादसँगै आएको बाढी/पहिरोको विपत्तिले रुवाउनु रुवाएको छ। विपद्ले दुई सय २४ जनाको ज्यान गएको छ। यो संख्या यत्तिमै थामिने छाँट छैन। अझै कैयन् हराइरहेका छन्। सरकारको प्रारम्भिक अनुमानमा १७ अर्ब रुपियाँ बराबरको क्षति भएको छ। एक झर ठूलो पानी आउँदा पनि डराउनुपर्ने नियतिमा हामी नेपाली छौँ।
बितेका एक दशकमा नेपालीले के भोगेनन् ? भूकम्पले थिलथिलो पारेकालाई नाकाबन्दीको कहरले कठिनाइको भित्तैसम्म पुर्यायो। त्यसपछि आएको कोभिड–१९ ले झनै शरीर मात्र होइन, अर्थतन्त्रलाई समेत धक्का दियो। त्यसो त प्रत्येक वर्ष बर्सादपछि आउने विपद् नेपालीका निम्ति नौलो होइन। कुनै खास क्षेत्रका बासिन्दा यसबाट पीडित हुने गरेका हुन्। त्यसले यसपटकचाहिँ सिंगै मुलुकलाई आक्रान्त तुल्याएको छ।
बर्साद र यस्तै अन्य विपत्तिबाट नेपालीहरू व्यापक संकटमा रहेको यसपटकको बाढी/पहिरोले पुष्टि गरेको छ। बाढी/पहिरो र भूकम्पका हिसाबले नेपाल उच्च जोखिम क्षेत्रमा रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। युनिसेफ नेपालका अनुसार भूकम्प र अन्य विपत्तिका हिसाबले हाम्रो मुलुक विश्वमा क्रमशः ११औँ र १६औँ स्थानमा छ। प्राकृतिक र अन्य विपत्तिको उच्च संकटमा भइकन पनि त्यसबाट जोगिन गरिने तयारी भने न्यून स्तरको देखिएको छ।
जो विपत्तिमा पर्छ, त्यसले एक्लै सामना गर्नुपर्ने अवस्था मुलुकमा छ। जति हारगुहार गरे पनि त्यसबाट उम्काउन सक्ने क्षमता राज्यमा देखिएन। यसपटकको बाढी/पहिरोका बेला सडकमा अलपत्र परेका सर्वसाधारणको अवस्था कहालीलाग्दो छ। त्यति मात्र होइन, बाढी/पहिरोमा परेका सर्वसाधारणका गाउँहरू राष्ट्रिय सम्पर्कबाट टाढा रहन बाध्य भएका छन्। न बिजुली, न टेलिफोन, न बाटोघाटो सबैबाट अलगथलग हुनुपर्ने अवस्था सर्वसाधारण भोग्न बाध्य भएका छन्। हो, ठूला विकसित मुलुक पनि बेलाबेलामा आउने यस्ता विपत्तिबाट झुक्किन्छन्। तर पटक–पटक त्यही अवस्था रहँदैन। तिनले आफूलाई त्यसबाट बाहिर निकाल्ने उपाय खोजिसकेका हुन्छन्।
हामी मात्रै त्यस्ता नेपाली हौँ जसलाई कुनै पाठ सिक्नुपर्ने अवस्था छैन। दुई/चार दिन विपत्तिका खबर पढ्ने र बिर्सने महानतम् गुणबाट हामी अनुप्राणित छौँ। बुद्धिमानले अरूका समस्याबाट समेत सिक्छ। हामी त आफैँलाई पर्दा पनि सिक्न सक्दैनौँ। यसपटकको विपत्तिले हाम्रो तयारीलाई मात्र होइन, संरचनालाई पनि गम्भीर चुनौती दिएको छ। कुन हदसम्मको विपत्ति थाम्न सक्ने गरी बाटाघाटा, पुलपुलेसा र अन्य संरचना बनाउनुपर्छ भन्नेतर्फ ध्यान नदिएको देखिएको छ। दशौँ वर्ष लगाएर बनाएको पुल एउटा विपत्तिमै भत्किएको छ। यस्तो अवस्थामा भविष्यका संरचनाबारे पनि पुनर्विचार गर्नु उचित हुन्छ। यस्तै त हो नि भनेर ढुक्क हुनेभन्दा पनि भविष्यलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने देखिन्छ।
हामीभन्दा कैयन् गुणा बढी विपत्तिको सामना गरेका मुलुक पनि छन्। छिनछिनमा भूकम्प गइरहने जापानले आफूलाई यस क्षेत्रमा उम्दा बनाएको छ। मानिसका निम्ति असम्भव केही छैन। तर हाम्रो जस्तो नियतिले भने अवस्थामा तत्काल सुधार आउन सम्भव छैन। विपत्ति सामना गर्ने बेलामा सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका यात्रामा भए पनि अन्यले आफूलाई उम्दा बनाउन नसक्ने थिएनन्। राज्य भनेको कुनै एक व्यक्तिको अनुपस्थितिले चल्न नसक्ने होइन। हामीले संस्था निर्माण गर्न नसकेको पीडादायी अवस्थाकै कारण यस्तो अवस्था आएको हो। संस्था निर्माण गर्नु र सबैलाई यसमा जिम्मेवार बनाउनु आवश्यक देखिएको छ।
विपत्ति सामना गर्न बनाइएको संस्थाकै प्रमुख त्यही दिन विदेश जानु, प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य व्यक्ति पनि जिम्मेवारी निर्वाहभन्दा रमाइलोमा लाग्नु, यस्तो अवस्था आएपछि स्रोत/साधनको जोहो गर्न नसक्नु आदि धेरै पक्ष यसपटक उजागर भएका छन्। जताततै पानी भएपछि चाहिने आवश्यक मोटरबोट, अन्य अत्यावश्यक उद्धार सामग्री पनि खरिद गरेको देखिएन। उद्धारका निम्ति चाहिने सामग्री किन्न आग्रह गर्दा विगतमा सरकारले वास्ता नगरेको गुनासो पनि सम्बन्धित प्रहरी अधिकारीबाट आएको छ। यसले बिग्रेको घरको उदाहरण दिने ठाउँमा देशलाई पुर्याएको छ।
जस्तोसुकै कठिन अवस्था आउँदा सर्वसाधारणलाई ढाडस दिन सक्ने, तत्काल कार्यक्षेत्रमा खटिने र काम गर्न सक्ने गरी संरचना निर्माण अहिलेको आवश्यकता देखिएको छ। एउटा देशका निम्ति आवश्यक पर्ने न्यूनतम आधारभूत तयारीसमेत नगरी बस्ने अहिलेको परिपाटी फेर्नुपर्ने देखिएको छ। आमनागरिकमा राज्यप्रति झनै वितृष्णा उत्पन्न गर्ने किसिमका व्यवहार देखिएका छन्। यसमा सुधार गर्न प्रधानमन्त्री ओलीले माथिबाटै हस्तक्षेप गर्न ढिला भइसकेको छ।
प्रकाशित: १७ आश्विन २०८१ ०५:४८ बिहीबार