एक चिया चम्चा मह बनाउन १२ कर्मी माहुरीले आफ्नो पूरै जीवनकाल लगाउनुपर्छ। यी माहुरीको जीवन ६ देखि आठ साताको मात्र हुन्छ। आफ्नो छोटो जीवनकालमा माहुरीले यति मह बनाउनु भनेको कम महत्त्वको विषय होइन। योभन्दा पनि महत्त्वपूर्ण कार्य माहुरीले फूल र बिरुवामा परागसेचन गराएर हुनसम्मको गुन लगाएका छन्। अल्बर्ट आइन्सटाइनलाई उधृत गर्दै भन्ने गरिएको छ, ‘पृथ्वीबाट माहुरी लोप भए भने मानिस यो धर्तीमा चार वर्षभन्दा बढी बाँच्ने छैनन्।’
माहुरीको अभावमा हाम्रो प्राकृतिक विविधता मासिँदै जान्छ। परागसेचन हुन छाडेपछि बिस्तारै पर्यावरणको चक्र भत्किँदै जान्छ। मानिस वा रोबोट प्रयोग गरी कति ठाउँमा परागसेचन गराउन सकिएला ? प्रकृतिले सित्तैमा दिएका कैयन् यस्ता संरचना र व्यवस्था छन्, जसलाई भत्काएपछि आइपर्ने समस्या अकल्पनीय हुन्छन्। माहुरीले प्रत्येक पटकको उडानमा फूलको रस लिन जाँदा ५० देखि सयवटा फूलमा आफूलाई पुर्याउँछ।
हालैका वर्षहरूमा अरिंगालको सिकार हुन थालेको छ। त्यसका लार्भालाई स्वादिस्ट र पौष्टिक मानेर रेस्टुराँसम्म ल्याउने काम भइरहेको छ। ज्यानकै बाजी लगाएर अरिंगाल सिकार गर्नुलाई बहादुरीको काम मान्ने गरिएको छ। अरिंगाल हेर्दा जति खतरनाक देखिन्छ, परोक्ष रूपमा यो पनि प्रकृतिको अनुपम वरदान हो। यसले पनि परागसेचनमा उल्लेख्य भूमिका खेल्छ। त्यति मात्र नभई हामीलाई हानि गर्ने लामखुट्टे, झिँगाजस्ता घातक किरालाई खाएर ठुलो गुन लगाउने गरेको छ। एक अध्ययनअनुसार सामान्यतया एक गोला अरिंगालले एक दिनमा तीन हजारभन्दा बढी लामखुट्टे तथा हानिकारक किरा खान्छ र प्राकृतिक सन्तुलन कायम राख्छ।
मानिसले आफूलाई चेतनशील प्राणी ठान्छ। चेतनाका हिसाबले अन्य प्राणी र वनस्पति पनि कम छैनन् भन्ने पुष्टि भइसकेको छ। तर, मानिसले आफू र आफ्नो स्वादलाई मात्र ध्यानमा राख्दा प्रायः वातावरण र पारिस्थितिकी प्रणालीमा नोक्सानी भइरहेको छ। अरिंगालजस्तो उपयोगी जीवलाई स्वादका निम्ति आक्रमण गर्दा त्यसले कालान्तरमा पार्ने प्रभाव भयावह हुनेछ। पछिल्ला वर्षहरूमा यसै पनि हामीमाथि लामखुट्टेको आक्रमण तीव्र भइरहेको छ। जलवायु परिवर्तनका कारणले लामखुट्टेका लागि अनुकूल वातावरण बन्दा डेंगीजस्तो खतरनाक रोग अहिले देशैभरि फैलिएको छ। पहाडीदेखि उच्च पहाडी भूभागमा समेत यो खतरनाक रोग सर्दैछ। विगतमा यो केही खास ठाउँको मात्र समस्या रहेको हो। अरिंगाललाई सिध्याउँदै जाँदा लामखुट्टे बढ्न सजिलो हुन्छ। त्यति मात्र नभई माहुरी, अरिंगालजस्ता जीवले हाम्रो प्राकृतिक सन्तुलनका लागि खेलेको भूमिका कमजोर हुन जान्छ। जसले प्राणी र वनस्पतिबीचको चक्रलाई गम्भीर संकटमा पार्ने निश्चित छ।
अरिंगालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा पछिल्लो समय होटल र रेष्टुराँमा समेत यसलाई पस्किन थालिएको छ। यस विषयमा रोचक सामग्री लेखिएका पनि छन्। तर, यस्तो अभ्यास गर्न थाल्दाका दुष्परिणामलाई मनन गर्नुपर्छ। सानो रूपमा विगतमा पनि गाउँठाउँमा यसरी खाँदै आएको देखिन्छ। तर, व्यावसायिक रूपमै यसलाई खान थाल्ने हो भने खेती गर्न थाल्नुपर्छ। छिमेकी चीनमा भने यसको खेती हुने गरेको छ। अन्यथा, प्राकृतिक रूपमा यत्तिकै उपलब्ध हुने अरिंगाल खाँदा समस्यामा परिन सक्छ। परम्परागत रूपमा हाम्रा केही जनजातिले कुलपितृलाई अरिंगाल चढाउनेहरू बाहेक अरूले यसको प्रयोग कम गर्नु उचित हुन्छ। पर्यावरणीय हिसाबले अचेल मांसाहारी अभ्यासलाई कम गर्न समेत आग्रह गरिँदै आएको छ। विशेषगरी मासुका निम्ति पशु र पन्छीपालन तथा कृषि कर्म गर्दा मिथेन ग्यास उत्सर्जन बढी भई वातावरण विनाश हुन्छ भन्ने तथ्यका आधारमा यस्तो भोजनमै कमी ल्याउनसमेत आग्रह गरिँदैछ।
मांसाहार बढ्ता रुचाउने युरोपेली देशमध्येको एक फ्रान्समा हालै सातामा दुई दिन बुधबार र शुक्रबार कामदारलाई शाकाहारी भोजन पस्किन खोज्दा विरोध भएको छ। मांसाहारलाई समेत जलवायु संकटको कारक मान्दै यसलाई कम गर्न आग्रह गरिँदै आएको छ। बेलायतीहरूलाई पूरै शाकाहारी नभए पनि मांसाहारमा थोरै मात्र कटौती गर्दा पनि ठुलो फाइदा हुने एक अध्ययनले देखाएको थियो। बिबिसीले सन् २०२३ जुलाईमा सार्वजनिक गरेको एउटा अनुसन्धानमा आधारित समाचारअनुसार बेलायतीहरूले मासांहारलाई थोरै मात्र घटाउँदा पनि सडकबाट ८० लाख गाडी हटाए बराबरको वातावरणीय प्रदूषण कम हुने बताइएको थियो।
यी उदाहरण दिनुको उद्देश्य एक मात्र हो, हामीले हाम्रो स्वाद वा आनन्दका निम्ति गर्ने कुनै पनि कामका पछाडि वातावरण र पारिस्थितिकी प्रणालीमा कुनै असर पर्छ कि भनेर विचार गर्ने पनि हो। यो अरू सबैले गरेपछि आफूले पनि गर्नेभन्दा पनि प्रत्येक व्यक्तिले आफैं सोच्ने हो। हाम्रा सन्ततिको भविष्यका निम्ति पनि सन्तुलन बनाइराख्नु उचित हुन्छ। अनायासै पृथ्वीबाट हामीलाई काम लाग्ने जीव समाप्त नहुन् भन्नेतर्फ ध्यान दिने हो।
प्रकृतिले नै सफाइकर्मीका रूपमा पहिचान गरेका अरिंगाल हुन् वा वातावरणलाई जीवन्त तुल्याउने माहुरी, सबैलाई ध्यानमा राख्नु आजको आवश्यकता भएको छ। मानिसले आफूलाई बौद्धिक र चेतनशील मान्छ भने यो पृथ्वीको सान जोगाउन पनि काम गर्नुपर्छ। प्रस्ट भइसकेको छ– हाम्रो पृथ्वी अन्य प्राणीका कारण संकटमा छैन, मानिसकै कारण छ। सानासाना पक्षमा पनि ध्यान दिइएन भने मानव अस्तित्वमै संकटमा पर्नेछ। अन्य प्राणी र वनस्पति मानिसबिना बाँच्न सक्छन् तर मानिस उनीहरूबिना बाँच्न सक्दैन।
प्रकाशित: ७ आश्विन २०८१ ०६:११ सोमबार