३० भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

देशका ‘हराएका वर्षहरू’

युट्युब च्यानल हेर्ने कथामा प्रसारित ‘हराएका वर्षहरू’ यतिबेला सामाजिक सञ्जालमा ‘ट्रेन्डिङ’ छ। काठमाडौंबाट १० वर्षको उमेरमा हराएर झन्डै ३५ वर्षपछि गोर्खाको हिमाली गाउँ छेकम्पारमा भेटिएका भोजपुर पुर्ख्यौली घर भएका प्रकाश मोक्तान ‘हराएका वर्षहरू’कै कारण चर्चित बनेका छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भेट्ने बताएका छन्। अब उनको नागरिकता बन्ने भएको छ। सबैभन्दा महत्त्वपूर्ण त सहृदयीहरूको सहयोगमा आमाबुबा र आफन्तसँगै भोजपुरमै उनको घर बन्ने भएको छ। एउटा वृत्तचित्रले आम मानिसको जीवनमा साँच्चै परिवर्तन आएको छ।

यही सन्दर्भमा सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा केहीले ‘हराएका वर्षहरू’को निर्माण प्रक्रियाको चर्चा गर्दै समग्रमा हेर्ने कथाकै उत्पादनहरूको सैद्धान्तिक जगमाथि पनि प्रश्न उठाएका छन्। यी कार्यक्रमहरू वस्तुगतभन्दा पनि अतिशय भावनाप्रधान हुनु र व्यक्तिको संघर्षलाई उसकै धरातलमा नहेरेर मध्यम र उच्च वर्गको दृष्टिकोणबाट जबर्जस्ती दुःख मात्र देख्ने सोच राखेको भन्दै आलोचना गरेका छन्। सार्वजनिक वृत्तमा यस्तो बहसलाई स्वागत गर्नुपर्छ। तर यस्ता प्रश्न र तर्कहरूमा निहित कतिपय भाव नियाल्ने हो भने त्यहाँ समस्याको जरो र समाधान पहिल्याउनेभन्दा भिडमा ‘फरक मत’ राखेर ध्यान तान्ने मनशाय देखिन्छ, जसको अन्तर्यमा पपुलिजम अर्थात् लोकरिझ्याइँ नै हुर्किरहेको हुन्छ। अर्कातिर अचानक भेटिएका प्रकाशमा खासगरी सत्तासीन दल एमालेका कार्यकर्ताले भोजपुर राजनीति त गरिरहेका होइनन् भन्ने आशंका प्रशस्त छ। प्रकाशलाई प्रधानमन्त्री भेट्टाइदिने र उनको नागरिकता बनाउन प्रधानमन्त्रीले गृह सचिवलाई निर्देशन दिएको तस्बिर सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्माओलीमा यस्ता विषयप्रतिको रुचि देखिनुलाई यथोचित मान्नु पर्छ। वास्तवमा सरकार प्रमुखले सबैप्रति ध्यान दिन सक्ने हुनु नै वास्तविक अभिभावकत्व हो।

तर यो समयमा यहाँ चिन्ता गरिनुपर्ने विषय भनेकै ‘भाइरल राजनीति’को हो। सामाजिक सञ्जाललाई नै वास्तविक समाज ठान्ने र त्यहाँ भाइरल भएका विषयमा आफ्नो विचार र सके पहलकदमी लिएर यस्ता सञ्जालमा नायक हुने प्रवृत्ति नौलो भएन। केही समय अघिसम्म यस्ता काम ‘सोसल मिडिया इन्फ्लुएन्सर’ले गर्थे तर अहिले त्यसको ठाउँ नेताहरूले लिन थालेका छन्। नेताहरूले नै भर्चुअल दुनियाँमा अभ्यस्त हुन थालेका कारण अहिले मुलुकका थुप्रै प्राथमिकताका विषय ओझेल परेका छन्। वर्षा सकिएको छैन। दिनहुँ बाढीपहिरोबाट जनधनको क्षतिको समाचार आइरहेको छ। प्राकृतिक विपत्, जलवायुजन्य संकटको जोखिममा विश्वमै उच्च रहेको नेपालमा वर्षमा कम्तीमा पाँच सय जनाको ज्यान गइरहेको छ। सरकारकै तथ्यांकमा प्रत्येक दिन सात नेपाली सडक दुर्घटना मर्न विवश छन्। वायु प्रदूषणको अवस्था अझ कहालीलाग्दो छ। स्टेट अफ ग्लोबल एयर रिपोर्टले हालै मात्र जारी गरेको तथ्यांकअनुसार विश्वकै तेस्रो प्रदूषित देश नेपालमा बर्सेनि झन्डै ५० हजार मानिसको प्रदूषणबाट मृत्यु भइरहेको छ।

अब हराइरहेका नेपालीकै कुरा गरौं। प्रहरीको तथ्यांकबाट अहिलेसम्म उजुरी परेअनुसार पाँच हजार सात सय ७६ मानिस हराइरहेका छन्। माओवादी केन्द्रको १० वर्ष सशस्त्र युद्धमा बेपत्ता बनाइएका २५ सयभन्दा बढीको अवस्था अझै पत्तो छैन। फर्किने व्यक्तिको हिसाब पन्छाउने हो भने प्रत्येक दिन अहिले पनि कम्तीमा दुई हजार नेपाली कामका लागि बिदेसिन्छन्। बिदेसिनेमा केही वर्षयता विद्यार्थीको संख्या पनि उल्लेख्य छ। अमेरिका र युरोपमा नेपाली विद्यार्थी नभेटिने ठाउँ छैन। पछिल्लो समय जापानमा पढ्न भनेर गएकाहरू प्रशस्त छन्। वैदेशिक रोजगारको पुरानो गन्तव्य दक्षिण कोरियाका लागि इपिएस परीक्षा दिन पाऊँ भन्दै गरिएको प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट गएको पुसमा प्रहरीसँगको दुई युवाको मृत्युसमेत भयो।

अर्थतन्त्रकै कुरा गरौं, गत साउनमा मात्र वैदेशिक व्यापारमा नेपाललाई एक खर्ब १६ अर्ब व्यापार घाटा भएको छ। यो घाटामा भारतसँग मात्र ७० अर्ब छ। यो घाटालाई विदेशबाट श्रमिकले पठाउने विप्रेषणले मुलुकको अर्थतन्त्रमा केही भरथेग गरिरहेको छ। र सरकार टाट पल्टिनबाट मुस्किलले बचिरहेको छ। देशको हाल यस्तो छ। यो अवस्थाका प्रमुख जिम्मेवार हाम्रा राजनीतिक दलका नेताहरू भने ‘म्युजिकल चेयर’ खेलजस्तो सरकार बदल्न व्यस्त छन्। संघीय होस् वा प्रदेश सरकार कुन बेला विघटन हुन्छ र कसको नेतृत्वमा अर्को सरकार बन्छ, यसका हेक्का कसैलाई हुन्न। मुलुक विश्वकै गरिब र भ्रष्ट देशका रूपमा बदनाम छ। तर आफू भने चोखो भएको बहाना गर्दै नैतिकताको अर्ती दिन थाकिरहेका देखिन्नन्।

बेलाबेला हामीमाझ नेपाल किन बन्न सकेन भन्ने बहस चल्ने गर्छ। यसमा अनेक कारण खोजिन्छन्। तर विज्ञहरूको मतैक्यमा नेपाल नबन्नुमा सबैभन्दा ठुलो दोष नेतृत्वको छ। आधुनिक नेपालको निर्माणपछि दुई सय चार वर्षसम्म शासन गर्ने राणा खलक हुन् या पञ्चायतका राजा महेन्द्र, वीरेन्द्र या त्यसपछि संवैधानिक राजतन्त्र र गणतन्त्रका राजनीतिक दलका नेताहरू, अपवादस्वरूप छिमेकी देशसँगका केही केही सन्धि, सम्झौता र घरेलु केही कामकारबाहीबाहेक मुलुकको समग्र हितमा नेतृत्वको अवसर पाएका अधिकांश असफल रहे। राजनीतिक परिवर्तनका लागि कठोर संघर्षमा सफल भएकाहरू पनि देश बनाउन विफल भए। नयाँ र स्वतन्त्र भनिएकाहरू पनि आफ्ना कामभन्दा पुरानालाई सत्तोसराप, चर्को स्वरमा ठुल्ठुला कुरा ‘स्टन्ट राजनीति’कै अलमलमा छन्। यसो किन पनि भन्न सकिन्छ भने कुनै समय नेपालभन्दा गरिब र चुनौती भोगेका देश आज कुशल राजनीतिक नेतृत्वकै कारण विकसित भइसकेका प्रमाण एक होइन, अनेक छन्।

हामीले स्वीकार गर्नैपर्छ, हामीले सुन्दर देश पायौं, लोकतन्त्र, गणतन्त्र पनि पायौं तर विकासलाई शिरमा राखेर देशलाई नेतृत्व प्रदान गर्ने असल, अब्बल नेता पाएनौं। आफूलाई नेता भनाउँदा त थुप्रै पायौं तर देशलाई चाहिने नीति पाएनौं। जसको अभावमा नागरिकमा राज्यप्रति आस्था, विश्वास र भरोसा हराएको छ। युवाको सपना हराएको छ, भविष्य हराएको छ। लोक हराउने लोकतन्त्र हुन सक्दैन। यहाँ लोकतन्त्रका नाममा अरू नै तन्त्र चलिरहेको छ । यो नेता हराएको देशमा हामीले हामीले देश जोगाउने, जनता जोगाउने र जनताको भरोसा जोगाउने नेता खोज्नु छ।

प्रकाशित: १६ भाद्र २०८१ ०६:०६ आइतबार

Download Nagarik App
Download Nagarik App