दक्षिण एसियाका अधिकांश मुलुकको तुलनामा नेपाल खुला छ। पर्यटक जब नेपाल आउँछन्, यहाँको खुला हृदय, हृदयतः हुने स्वागत र फरासिलोपनको प्रशंसक बन्न पुग्छन्। कयौँ पर्यटकले नेपालीको खुलापन र स्वागतको प्रशंसामा अनेकन् किस्सा लेखेका छन्, व्यक्त गरेका छन्।
खुलापनले स्वतन्त्रता दिन्छ। यसले पारदर्शिता र सामूहिक सहयोगको बाटो खुलाउँछ। मौलिक ज्ञान, प्रविधि र अन्य स्रोतसम्मको सहज पहुँच दिन्छ। यो बन्द, केन्द्रीकृत अवस्था र गोप्यताविरुद्ध हुन्छ। नेपालीजनले २०४६ सालको जनआन्दोलन बन्दपनाविरुद्धको विद्रोह गरेका थिए। त्यसयता खुलापनको अभ्यास गर्दै यही समाजले अन्तकतै अभिव्यक्त गर्न नसक्ने विचार, कहन नसकिएका कथाहरूको प्रदर्शनस्थल बन्न पुगेको थियो। काठमाडौँ खुला, स्वतन्त्रताको प्रतीक बन्न पुगेको थियो। यहाँका डबलीहरू बौरिएका थिए।
सशस्त्र द्वन्द्वको बखत नेपाल खुम्चियो। नेपालीहरूको खुला हृदय खुम्चिनु पर्दा खुसी थिएन। काँडेतारले खुलामञ्च बेरियो। टुँडिखेल सेनाको कब्जामा पुग्यो। ठमेल र अन्य रमाइलो गर्ने ठाउँहरू सम्साँझै बन्द भए। हुँदाहुँदा आफूमाथि अन्याय भयो भनेर उभिने माइतीघर–मण्डल पनि अपहरित भयो। त्यहाँका प्रदर्शकहरू आँखी प्रमाणित गरिए। पञ्चायतकालमा समेत ‘प्रजातन्त्रको भित्तो’ थियो। त्यहाँ असन्तुष्टिहरू पोखिन्थे। तिनै असन्तुष्टिको अभिव्यक्तिबाटै सर्वसाधारणले देशको राजनीतिक र सामाजिक समस्याको वास्तविक पारो कुन हदसम्म बढेको छ भन्ने थाहा पाउँथे।
नेपालमा लोकतन्त्र स्थापना भएपछि यस्ता ‘प्रजातन्त्रका भित्तो’हरू अझ फराकिलो हुने अपेक्षा थियो तर उल्टो क्रमशः संकुचित हुन थाल्यो। जे उपलब्धि थिए, ती क्रमशः हरण गरियो। कतिसम्म भने अहिलेको २१ औँ शताब्दीमा समेत अनेक किसिमका अङ्कुशको प्रयोग गर्ने बहानाहरू खोज्न थालियो। प्रेसलाई नियन्त्रण गर्न बनेका नियम–कानुन हुन् या टिकटकजस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय होऊन्, त्यस्ता वक्रदृष्टिले पटकपटक नेपालीजनलाई झस्काउने कारण बन्न पुगेको छ।
त्यसो त अहिलेको समयमा प्रविधिले यति धेरै उन्नति गरिसकेको छ कि कुनै एउटा सामाजिक सञ्जाल बन्द हुँदैमा असन्तुष्टि पोख्ने ‘डबली’ बन्द हुने छैन। तर बन्द गर्ने अवस्थामै नपुग्नु हामी सुसंस्कृत हुनु हो। अहिले हाम्रो समाजलाई डिजिटल भित्ताहरू भन्दा वास्तविक संवादका डबली र सम्पर्कसूत्रहरूको टडकारो आवश्यकता छ। प्रतिबन्धले त्यस्ता डबली, प्रदर्शनीस्थललाई खुम्च्याउँछ र समाज अवसादमा पुग्छ। अवसादग्रस्त बन्द समाज दुर्घटित हुन पुग्छ। यस्तो अवस्थामा हामीलाई बढीभन्दा बढी खुलापन चाहिएको छ। एकअर्कामा अन्तरक्रिया आवश्यक छ। यसका लागि खुलामञ्चजस्ता मञ्च, टुँडिखेलजस्ता मैदान तथा मण्डलजस्ता वास्तविक स्थल सबैको पहुँचमा हुनुपर्छ। आर्थिक गतिविधि २४ सैं घण्टा सक्रिय हुनुपर्छ। यसका लागि ठमेल, दरबारमार्गजस्ता व्यापारिक थलो खुल्ने वातावरण बनाउनु जरुरी छ।
अहिले राजधानीमा र पछि राजधानीबाहिर यस्ता व्यापारिक थलो खुल्न थालेपछि निश्चय नै यसले सकारात्मक प्रभाव पार्छ। एउटा सुसभ्य समाजको द्योतक नै मञ्च–मण्डलको निर्बाध उपयोग र ती स्थलको समुचित प्रयोग पनि हो। डिजिटल थलो विषाक्त हुँदैनन्। त्यसैले नयाँ वर्षसँगै यस्ता मञ्च, टुँडिखेल, मण्डल खुला बनाउने समाचार सञ्चारित भएसँगै यसका हिमायतीहरू खुसी भएका छन्। निर्णय मात्र हुने, कार्यान्वयन नहुने रोगबाट ग्रस्त हाम्रो समाजमा यो निर्णय पनि कार्यान्वयन तहमा पुगोस् किनभने नयाँ वर्षमा यस्ता साना कुराको ठूलो अर्थ हुन्छ। साना साना कुरा खुल्न थालेपछि ठूला कुरा खुल्ने र फक्रने अवसर पनि बढ्छ।
बन्द भएका यस्ता थलोहरू क्रमशः खुलेसँगै नेपाली दैनिक जीवनका धेरै कुराहरू क्रमशः खुल्दै जानुपर्छ। खुल्नु भनेको पारदर्शी हुनु हो, नयाँ अवसरका बाटाहरू फराकिलो हुनु हो। अहिलेलाई माइतीघर–मण्डल तथा ठमेलजस्ता व्यापारिक थलोको खुलापन नयाँ वर्षसँगै एउटा सन्देश पनि हो। नेपालीजनले गुमाएको एउटा खुलापनको रौनक नयाँ वर्षसँगै फराकिलो होस्। यही हाम्रो शुभकामना छ!
प्रकाशित: २ वैशाख २०८१ ०६:१७ आइतबार