७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

बुहारी विवाह

पतिको निधनपछि एकल महिलालाई नेपाली समाजले विधवाका रूपमा चिन्छ। समाजले सदियौंदेखि यस्ता माहिलाले पुनः दाम्पत्य जीवनमा प्रवेश गर्नुलाई निषिद्ध गर्दै आएको छ। विधुरले पत्नीको निधनलगत्तै विवाह गरे पनि खासै चासो हुँदैन। महिलाले पति वियोगपछि पुनः जीवन चलाउन खोजे समाजले त्यसमा प्रायः आपत्ति जनाउँछ। पतिको निधनपछि बाँचुञ्जेल एकल भएर कैयन् महिलाले बाँच्नु परेको छ। महिलाविरुद्ध विभेदात्मक व्यवस्था रहे पनि निकै थोरैले मात्र यसलाई परिवर्तन गर्ने आँट गरेका छन्। पुनर्विवाहको के कुरा कतिपय अवस्थामा तिनले राता कपडा र श्रृंगारबाट समेत आफूलाई वञ्चित गर्नुपर्ने अवस्था छ । पछिल्ला दिनमा यस्ता मान्यता परिवर्तन गर्न अग्रणी महिला र समाज सुधारक सक्रिय भएका छन्।

गुल्मीस्थित शान्तिपुरका लक्ष्मीधर गौतम दम्पतीले यस्ता अमान्य सामाजिक विधिविधान परिवर्तन गर्न उदाहरणीय काम गरेका छन्। आफ्ना पुत्रको निधनपछि विधवा बुहारीको बिहे गरिदिएर उदात्त भावना प्रदर्शन गरेका छन्। त्यही समाज उन्नत हो, जसले अरूको खुसीका निम्ति आफूलाई सहयोगीका रूपमा प्रस्तुत गर्छ। गौतम दम्पतीले बुहारीको खुसीमा आफ्नो खुसी ठानेका छन्। कलिलै उमेरमा विधवा भएकी बुहारीको एकांकीपन र भावी जीवनलाई बुझेर उनीहरूले विवाह गराइदिने महान् कार्य गरेका छन्। छोरीको विवाह गर्दा जुन पुण्य हुन्छ भन्ने ठानिन्छ, त्योभन्दा कैयन् गुणा उपल्लोस्तरको कर्म ठानिन्छ विधवा बुहारीको घरजम गराइदिने काम। गौतम दम्पतीले समाजलाई सत्कर्मकाे नयाँ बाटो देखाएका छन्। गाैतम दम्पती यथार्थमा हाम्रो समाजका गहना हुन्।

बिहे गरेको तीन वर्षपछि लक्ष्मीधरका छोरा ध्रुवको करेन्ट लागेर असामयिक निधन भएको हो। त्यतिबेला बुहारी धना २४ वर्षकी मात्र थिइन्। जोसँग जीवन बिताउने वाचा गरेर विवाह बन्धनमा बाँधिएकी थिइन्, उही नभएपछि जीवन काँडासरि हुने नै भयो। त्यसमा पनि मन बुझाउने कुनै सन्तान पनि काखमा नहुँदाको एकांकीपन महसुस हुने नै भयो। गौतम दम्पतीले यस्तै अवस्था अनुभूत गरेका हुन्। कतिपय परिवारमा धनाहरूको पुनर्विवाहको परिकल्पना अझै सम्भव छैन तर यो परिवारले उनको इच्छालाई सर्वोपरि मानेको देखिएको छ। पति वियोगको तीन वर्षसम्म उनी यो घरमा रहिन् र सानोतिनो जागिर गरेर समय व्यतित गरिन्।

ससुरा लक्ष्मीधर वामपन्थी विचारधाराका थिए। त्यसैले प्रगतिशील सोच हुन्थ्यो हरेक विषयमा। उनले धेरैपटक बुहारीको मन बुझ्ने प्रयास नगरेका पनि होइनन् तर समाजको कुनै कुनामा रहेको पापले आफूलाई बुहारी घाँडो भएकाले लखेट्न खोजेको आरोप लाग्ने त हाेइन भन्ने त्रास पनि मनमा रहिरह्यो। यति हुँदाहुँदै पनि उनले बुहारीको खुसीका लागि अवरोधक नबन्ने संकेत भने दिइसकेका थिए। बुहारीले कुनै केटा मन पराएको र ऊसँग घरजम गर्न चाहेको भन्दै घरपरिवारको धारणा जान्न चाहिन्। नारी अधिकारका पक्षधर लक्ष्मीधर खुसी नहुने कुरै भएन। त्यसपछि उनले आफ्नै पहलमा शुभसाइत जुराएर राम्रैसँग बुहारी अन्माएर पठाउने बताए। नभन्दै राम्रैसँग बिहे पनि गरिदिए। नेपाली समाज न हो, यसरी विधवा बुहारीको बिहे आफैँ अग्रसर भएर गरिदिएबापत धेरैले उनको कुरा पनि काट्न भ्याएका छन् तर उनलाई यस्ता पक्षमा कुनै गुनासो छैन किनभने उनी बुहारीको खुसीसँग मात्र सरोकार राख्छन्।

लक्ष्मीधर महिलाको, त्यसमाथि आफ्नै बुहारी भइसकेकी एक विधवाप्रति कतिसम्म सम्मान भाव राख्छन् भन्ने प्रमाणका लागि बुहारी अन्माएपछि उनले व्यक्त गरेका भनाइ पर्याप्त छन्। उनले बुहारीलाई ‘यो घर तिम्रै भएको र माइती सम्झेर आउन सदा खुला रहेको’ बताएका छन्। के नेपाली समाजमा यत्तिको फराकिलो हृदय सबै पुरुषको हुन्छ? सबै ससुरा यस्तै दिलका धनी हुन्छन् ? पक्कै हुँदैनन्। नेपाली समाजमा महिलालाई खुसी हुन दिने हो भने तिनका भावनाको कदर गर्न सक्नुपर्छ। यस अर्थमा लक्ष्मीधर स्याबासीका हकदार बनेका छन्।

उनका दुई पुत्र छन्। उनले बुहारीलाई पुनर्विवाह गर्न वा घरमै रहन विकल्प दिएका थिए। ‘तिमी बिहे गर्छौ भने सहयोग गर्छु। यहीँ बस्छौ भने मेरो सम्पत्ति तीन भाग लगाउँछु, जसमध्ये एक भाग तिम्रा लागि सुरक्षित हुनेछ।’ पुत्र छैन, नातिनातिना पनि छैनन्। यस्तो अवस्थामा बाँकी दुई छोरासँगै विधवा बुहारीलाई पनि एक अंशको हिस्सेदार बनाउने लक्ष्मीधरको प्रस्ताव आफैँमा उच्च व्यावहारिक क्रान्तिकारी कदम हो। यसर्थ पनि उनी विकृति र विसंगतिले घेरिएको वर्तमान नेपाली समाजका लागि स्तुत्य व्यक्ति हुन्। हामी समाजमा राम्रो मान्छे छैन भन्छौँ, राम्रो काम कसैले गरेन भन्छौँ तर राम्रो काम र काम गर्नेलाई बेवास्ता गर्छौं। लक्ष्मीधरले नेपाली समाजमा चेतनाको नयाँ दियो बालेका छन्। अहिलेसम्मका यी प्रगति उनीजस्तै थुप्रै उदारमना व्यक्तिहरूले समाजमा ल्याएको परिवर्तनबाट सम्भव भएको हो। यस्तो स्तुत्य कदमको जति प्रशंसा गरे पनि कमै हुन्छ। 

प्रकाशित: ५ चैत्र २०८० ०६:०७ सोमबार

Download Nagarik App
Download Nagarik App