नेपालमा अंगदान गर्नेमा प्रायः महिला अग्रपंक्तिमा देखिँदै आएका छन्। महिलाको यो उदात्त उपस्थितिले नेपाली समाज धन्य भएको छ। तर पछिल्लो समय पुरुष पनि यो क्षेत्रमा अग्रसर हुन थालेका देखिएको छ। तथापि यो अत्यन्तै सानो संख्या मात्र रहेको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालै मात्र सासु लक्ष्मीदेवी श्रेष्ठलाई ज्वाइँ श्रीकृष्ण मानन्धरले कलेजो दान गरेर उदाहरणीय काम गरेका छन्। उनीजस्तै अन्य पुरुषले पनि अंगदानतर्फ आफूलाई प्रोत्साहित गर्नुपर्ने अवस्था छ।
मानव अंग प्रत्यारोपण केन्द्रमा एक हजार २१२ मिर्गौला प्रत्यारोपण भएका छन्। जसमा मिर्गौला दिनेचाहिँ ७२ प्रतिशत महिला छन्। अंगदान लिनेमा भने महिला २१ प्रतिशत मात्र छन्। यसरी हेर्दा अंगदाता भनेकै महिला हुन् भन्दा पनि फरक पर्दैन। यस्तो अवस्थामा ६५ वर्षीया सासूलाई बचाउन २० वर्ष कान्छा ज्वाइँले आफ्नो महत्त्वपूर्ण अंगदान गरेको घटनाले यो अवधारणा परिवर्तन हुँदै गरेको संकेत गर्छ। अंगदान गर्दा कमजोर भइन्छ भन्ने मान्यतालाई पुरुषले चिर्नुपर्ने आवश्यकता पनि छ। यो घटना उनकी सासूभन्दा पनि एउटा व्यक्तिको जीवन बाँच्ने हिसाबले निकै महत्त्वको छ। त्यसबाहेक अन्य पुरुषलाई समेत अंग दानतर्फ उत्प्रेरित गराउन पनि अहम् भूमिका निर्वाह गर्न सक्छ।
पहिलो बुझ्नुपर्ने पक्ष हो, अंग मृत्युपछि मात्र हैन, जीवितै हुँदा दान गर्न सकिन्छ। खासगरी हामीसँग दुई वटा हुने अंगमध्ये एउटा अर्कोलाई दिँदा ऊ बाँच्छ भने त्यो भन्दा महत्वपूर्ण उपकार के हुन सक्छ? जस्तो–जीवित छँदै दुईमध्ये एउटा मिर्गाैला दिन सकिन्छ भने फोक्सोको एउटा अंशसमेत दिन सकिन्छ। अझ कलेजो त यस्तो चिज हो जुन दान गर्ने र लिने दुवैमा पुनः हुर्कँदै आउँछ। अहिले श्रीकृष्णले सासूप्रति गरेका महान् धर्म यही हो। यसले उनलाई पुनर्जन्म दिएको छ।
दोस्रो पक्ष, हाम्रो शरीर मृत्युपछि माटोमै मिल्ने हो। त्यसैले आफ्नो मृत्युपश्चात अरूलाई काम लाग्ने अंगले कसैको जीवनको आयु थप्न सक्छ भने त्यसलाई खेर जान दिनु हुँदैन। नासिएर जाने अंगदान गर्दा त्यसले कुनै व्यक्तिलाई नयाँ जीवन प्राप्त हुन्छ। मानव अंग प्रत्यारोपण केन्द्रले प्रत्यारोपण गरेर जीवन पाएका १२ सयभन्दा बढी व्यक्तिको अवस्थाले निःसन्देह यो ठूलो उपकार हो भन्ने सन्देश दिन्छ। मृत्युपश्चात दान गरिने फोक्सो, मिर्गौला, मुटु, कलेजो, आन्द्रा, छाला आदिले पनि धेरै मानिसको ज्यान बच्न सक्छ। यस्ता विषयमा अब जनचेतना गाउँ गाउँसम्म फैलाउन अबेर भइसकेको छ।
जसले मृत्युपश्चात आफ्ना कुनै अंगदान गर्ने घोषणा गरेको भने उसको मृत्युपश्चात यी अंग निकाल्न कुनै शुल्क लाग्दैन। त्यसैगरी अंगदान गर्न कुनै पनि उमेर समूह बाधक हुँदैन। जहाँसम्म दाताको अंग लिनेलाई मिल्ने÷नमिल्ने कुरा छ, त्यो त चिकित्सकले अवश्य जाँचबुझ गर्छन् नै। त्यसैले खेर जाने अंग कसैको पुनर्जन्म वा दीर्घायुको कारण बन्न सक्छ भने त्यसतर्फ किन अग्रसर नहुने? सम्पूर्ण मानवले घोत्लेर सोच्नुपर्ने प्रश्न हो यो।
अंग प्रत्यारोपण गर्न चाहने व्यक्तिको सूची केन्द्रले तयार पारेर राखेको छ। आवश्यकता र औचित्यको आधारमा विना भेदभाव यस्ता अंग प्रत्यारोपणको अभ्यास अहिले भइरहेको छ। नेपालले छोटो समयमै यस क्षेत्रमा गरिरहेको प्रगतिलाई अझ बढाउने र अत्यावश्यक भएका व्यक्तिको जीवन बचाउने हो भने यो निकै उपयोगी काम हो। यतिबेला नेपालमै पनि एक लाखभन्दा बढी मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन्। कसैलाई मिर्गौला चाहिएको छ, कोही कलेजो र अनि कोहीचाहिँ फोक्सो पाए बाँचिन्थ्यो भन्ने आशमा छन्। यस्तो अवस्थामा जीवित वा मृत व्यक्तिका आफूलाई नभए पनि चल्ने वा खेर जाने अंग उनीहरूलाई पुनर्जन्म दिलाउन समक्ष हुन्छन्। उच्च स्तरको मानवीयता प्रदर्शन गर्ने यस्तो अवस्थाको सदुपयोग गर्न चुक्नु गलत हुनेछ। त्यसैगरी यस्तो पुनीत कार्यमा आफू संलग्न हुनु जति आवश्यक छ, अरूलाई पनि यसबारे उत्प्रेरित गर्न उत्तिकै जरुरी छ। अंगदान महादान हो, त्यसका निम्ति सबैले उदार हुन आश्यक छ।
प्रकाशित: २७ फाल्गुन २०८० ०६:०७ आइतबार