१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

समृद्धिका सोपान

आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस। विश्वभर हर्षोल्लासपूर्वक मनाइँदैछ यो दिवस। विशेषगरी नारीबीच अधिकारप्रति चासो जगाउने, अन्यायविरुद्ध लड्ने र आफ्नो सशक्तीकरणका लागि जागरुक हुने अवसरका रूपमा लिइन्छ यो दिनलाई। महिला दिवसका प्रत्येक वर्षका नाराले यिनै पक्ष पुष्टि गर्छन्। यस अर्थमा महिला दिवस सशक्तीकरणको भावनातर्फ बढी प्रेरित भएको देखिन्छ।

महिला सृष्टिकर्ता हुन्। सहनशीलता महिलाको विशेषता हो। दुःखमा पनि सहजता खोज्न सक्ने खुबी उनीहरूमा हुन्छ। कोक्रो हल्लाउने हातले संसार हाँक्न सक्ने शक्ति र सामथ्र्य देखाइसकेका छन्। राष्ट्र प्रमुख र सरकार प्रमुख बन्नु महिलाका निम्ति गाह्रो काम होइन। यति हो यसका निम्ति मुलुकी व्यवस्थामा समान अवसरको उपस्थिति हुनुपर्छ। आविष्कार र चमत्कारमा पनि पछि परेका छैनन्। यसका निम्ति अवसर सिर्जना गर्न भने तत्पर हुनै पर्छ।

नारी शक्तिबिनाको संसार अकल्पनीय हुन्छ। त्यो अजस्र शक्तिलाई प्रफुटित हुन दिनु पर्छ। हाम्रा धार्मिक ग्रन्थमा तिनका गाथा रहेको गीत गाएर मात्र पुग्दैन, व्यवहारमा तिनको शक्तिको सदुपयोग हुनुपर्छ। महिला यस्ता हुन् र उस्ता हुन् भनेर मात्र पुग्दैन, तिनलाई अवसर सिर्जना गर्ने गरी राज्य र समग्र संस्थाको संरचनाले ध्यान पुर्‍याउन सक्नुपर्छ। संरचनागत सुधार नभई तिनको यथोचित उपस्थिति हुन सक्दैन।

रेडियम पत्ता लगाउने म्याडम क्युरी महिला थिइन्। दुनियाँसामु समाजसेवाको पर्याय बनेकी मदर टेरेसा पनि महिला थिइन्। नेपालकै कुरा गर्दा पनि योगमाया जस्ता महान् क्रान्तिकारी महिला जन्मेका थिए यहाँ। मुलुकका प्रत्येक क्रान्ति र परिवर्तनमा महिलाको योगदान पुरुषभन्दा कम छैन। तर, जब महिलालाई समान अवसरको पक्ष आउँछ तिनीहरू छाँयामा पारिन्छन्। हाम्रो संविधानले महिला सशक्तीकरण र सहभागिताका निम्ति गरेको परिकल्पना अग्रगामी भए पनि यतिले पुगेको छैन। तिनलाई पुरुषभन्दा बढ्ता अवसरको आवश्यकता छ।

यसपटकको महिला दिवसको नारा ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ रहेको छ। यसको अर्थ हो– महिलामाथि परिवार, समाज र राज्यले लगानी गर्नुपर्छ। भनिन्छ, पुरुषमा लगानी गरेको एकजनालाई मात्र हुन्छ। महिला माथिको लगानी भनेको सिंगो परिवारका निम्ति हुन्छ। एकजना शिक्षित आमा हुनुको अर्थ सन्तान मात्र शिक्षित होइन देशको भविश्य समेत सुनिश्चित हुन्छ। आजका महिलामा लगानी नगरी भोलिको देश समुन्नत बन्न सक्दैन।

विशेषगरी नेपालमा जुनसुकै विषयमा पनि यसो गर्छु र उसो गर्छौँ भनेर घोषणा गरिदिइहाल्ने तर त्यसलाई व्यवहारमा भने लागु नगर्ने प्रवृत्ति सामान्य मानिँदै आएको छ। यसअघिका विभिन्न नारी दिवसका नारा पनि स्वीकार्ने तर त्यसलाई कार्यान्वयनमा भने नल्याउने परिपाटी चल्दै आएको छ। यसर्थमा महिला दिवसका नारा ‘एक दिने नारा’ का रूपमा सीमित रहँदै आएका छन्। त्यसैले अबचाहिँ महिला दिवस मनाइरहँदा देशले यस पक्षमा पनि ध्यान दिन जरुरी छ। भनाइको मतलव दिवसका लागि तय गरिएको नारालाई व्यावहारिक बनाउन सम्बन्धित पक्षलाई दबाब दिने दिनका रूपमा पनि महिला दिवसलाई लिइनु उचित हुन्छ।

प्रायः महिला उत्थानको कुरा गर्दा यो विषय तिनको मात्र हो भन्ने संकीर्ण सोच पनि धेरै देखिन्छ। वास्तवमा महिला मुद्दा समग्र राष्ट्रको मुद्दा हो। महिलालाई सशक्तीकरण गर्न देशको नीतिगत व्यवस्थामै सुधार हुनुपर्छ। त्यसो भएन भने यो ओठेभक्ति मात्र हुन पुग्छ। मुखले मात्र यस्तो कुरा गरेर पुग्दैन। यसका निम्ति देश जिम्मेवार हुनुपर्छ। राजनीतिले सही बाटो समात्नु पर्छ। जुन मुलुकले महिलामा ध्यान दिँदैन समग्र विकासको लक्ष्यबाट पछाडि पर्छ। त्यसकारण पनि एक दिन दिवस मनाएर मात्र महिला उत्थान हुँदैन। वर्षैभरिका निम्ति कार्ययोजना हुनुपर्छ। महिलामैत्री नीतिगत व्यवस्था र व्यवहार भएन भने अहिलेकै जस्तो खोक्रो अवस्था हुन्छ। सरकार महिला तुलनात्मकरूपमा केही सशक्त होलान्, गाउँठाउँमा अहिले पनि तिनको अवस्था कठिन छ। सबै ठाउँका महिलामा राज्यका प्रगतिशील नीतिगत पहलको प्रतिफल तिनीसम्म पुग्न सक्ने वातावरण सिर्जना अहिलेको आवश्यकता हो।

महिला उत्थान भनेको तिनको मात्र प्रगति होइन। महिला भनेका आमा, पत्नी र छोरी पनि हुन्। उनीहरू मार्फत् समग्र परिवारको उत्थान हुन्छ। परिवार परिवारको उत्थान राष्ट्रको प्रगति सोपान हो। त्यसैले महिलामा गरिएको लगानी समग्र मानव जातिमाथिको लगानी हो। सबैलाई सकारात्मक प्रभाव पार्न सक्ने महिलाका निम्ति यसकारण पनि ध्यान दिनु उचित हुन्छ।

सबै महिलाको भलो होस्। शान्तिपूर्ण वातावरणमा सुखी र समृद्ध जीवनसाथ बाँच्ने अभिलाषा पूर्ण होस्। सम्पूर्ण महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक मंगलमय शुभकामना। 

प्रकाशित: २५ फाल्गुन २०८० ०६:१२ शुक्रबार

Download Nagarik App
Download Nagarik App