९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

पशु–पीडक समाज

क्याप्शन

अधिकार मानवको मात्र हुँदैन। मानवीयता सम्पूर्ण प्राणीसँग सम्बन्धित संवेदनशील पक्ष हो। मानव यो धर्तीको सर्वश्रेष्ठ प्राणी बन्न सफल भएको हो। चेतनाका हिसाबले सबै प्राणी उत्तिकै संवेदनशील छन्। प्राणी जगतमा आफूलाई अग्रणी बनाउनुको अर्थ सबैलाई हेप्ने र दुःख दिने भन्ने होइन। सबैप्रति समभाव राख्न नसके मानवता कमजोर हुन जान्छ। समभावले सबैप्रति संवेदनशीलता जाग्छ। आफ्नो आजीविकाका निम्ति अन्य प्राणीलाई प्रयोग गर्दा पनि मानिसले त्यो संवेदनशीलताबाट बाहिर जान मिल्दैन। कुनै बेला हिंस्रक जन्तुबाट भाग्दै हिँड्ने मानिस आज सबैलाई नियन्त्रण गर्न सफल हुनुको अर्थ तिनलाई बाँच्न नदिने भन्ने होइन। सबैको अस्तित्व स्वीकार गरेर मात्र मानवता कायम रहन सक्छ।

अरूभन्दा सक्षम हुनु राम्रो हो। तर, अरूलाई नियन्त्रण र परिचालन गर्न सक्ने खुबी दुरूपयोगचाहिँ अपराध हो। जुन मान्छेले धेरैमाथि गरिरहेको छ। खासगरी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा एकदमै कठोर शैली अपनाएको देखिन्छ। जुन यति हृदयविदारक हुन्छ कि यस्तो दृश्य देख्ने मानिस भावविह्वल नभई रहनै सक्दैन। तर यस्तो भावविह्वलता आफैँमा सीमित राख्नुको विकल्प भने हेर्ने/देख्नेसँग पनि रहँदैन।
आइतबार नागरिकमा प्रकाशित एउटा समाचारअनुसार राँगा/भैँसीलाई मोटरमा राखेर काठमाडौँसम्म पुर्‍याउन करिब ३० घण्टा लाग्छ। पहिलो कुरा त ट्रकमा पशुहरू यसरी राखिन्छ कि लाग्छ, तिनलाई यातना दिनकै लागि त्यस्तो गरिँदैछ। दोस्रो, नाक, खुट्टा, पुच्छर सबै ठाउँमा यसरी बाँधिएको हुन्छ कि ऊ यही कारण चलमलाउनसमेत सक्दैन। गाडीले सडकको चालअनुसार हल्लायो भने बाँधिएका विभिन्न अंगमा चोटपटक लाग्ने गर्छ। कतिपय ठाउँमा त रगत नै आएको वा घाउ लागेको पनि देखिँदै आएको छ। ती अवोध पशुप्रति गरिएको यस्तो क्रूर व्यवहारले पाषाण ह्रदय मात्र द्रविभूत हुँदैन। बाँकी सबैको मन छियाछिया हुन्छ।

खासगरी राजमार्गहरूमा यस्ता पशुका लागि ‘होल्डिङ सेन्टर’ हुनुपर्ने हो। जहाँ उनीहरूलाई दानापानी खुवाउन सकियोस्। यसरी दानापानी खुवाउने निहुँमै पनि पशुले केही क्षणका लागि भए पनि यातनाबाट मुक्ति पाउँछन्। यसतर्फ न पशु ढुवानीकर्ताले सोचेका छन् न त खरिदकर्ताले नै। बिक्री गर्नेले त किन सोचोस् र? सरकारीतवरबाट समेत यसबारे चासो नदिइनु पशुमाथि चरम अन्याय हो। अन्यत्र मुलुकमा मासु वा दुग्धजन्य पदार्थका निम्ति पालेका पशुप्रति क्रूरतापूर्ण व्यवहार नहोस् भन्नेमा सजग बनाउने संयन्त्र हुन्छन्। पशुलाई दुःख दिइएको छ भने तिनका उत्पादन उपभोग नगरेर समेत उपभोक्ताले आफूलाई यो पापबाट जोगाउन खोजेको देखिन्छ। त्यसैले यस क्षेत्रका निम्ति आचारयुक्त अभ्यास गरेको पाइन्छ।

पशु ढुवानी मापदण्ड, २०६४ ले पशुलाई दैनिक आठ घण्टाभन्दा बढी गाडीमा हिँडाउन नपाइने उल्लेख गरेको छ। तर न यसबारे सरकारीतवरबाट कुनै अनुगमन हुने गरेको छ न त पशु ल्याउने/लैजानेले नै ध्यान दिन आवश्यक ठानेका छन्। नित्तान्त स्वार्थ र फाइदाका लागि पशुमाथि अत्याचार भइरहँदा पनि कसैको ध्यान नपुग्नु चिन्ताको विषय हो। पशु अधिकारकर्मीहरूले यदाकदा आवाज उठाए पनि सुनुवाइ भएको छैन। मानिसको अधिकारको त सुनिश्चितता छैन, पशुको के भयो र? भन्नेजस्तो गैरजिम्मेवार अभिव्यक्ति समेत पाइन्छ। मानवले आफू सचेत हुनुको नाता आफूलाई यसमा सजग गराउन सक्नुपर्छ।

एउटा ट्रकमा कतिवटासम्म राँगाभैँसी बोक्न दिने, पशु बोकेका गाडीको गति कतिसम्म हुने, तिनलाई गाडीमा यातना भएको छ कि छैन, बस्न मिल्ने गरी ठाउँ निर्माण भएको छ वा छैन, रोगी र निरोगी पशु एकै ठाउँमा राखिएको छ कि छैन वा छ भने बिरामीलाई फरक व्यवस्था के छ जस्ता पक्ष कतैबाट पनि खोजिएको छैन। यसले एकातिर पशुमाथि घोर अन्याय हुन पुगेको छ भने मासुजन्य परिकार उपभोग गर्नेमा समेत यसको परोक्ष असर परिरहेको हुन्छ। पीडादायी अवस्थामा रहेका पशुको मासु खाँदा स्वाभाविकरूपमा मानिसमा सकारात्मक प्रभाव पर्दैन। यसप्रति उपभोक्ता अधिकारका लागि कार्यरत संघसंस्थाको समेत ध्यान पुग्नु उचित हुन्छ। कुनै पनि समृद्ध व्यवस्थाले पशुको अधिकारलाई पनि उत्तिकै महत्वका साथ हेरेको हुन्छ।

जसरी मानिस एक ठाउँबाट अर्को ठाउँमा विचरण गर्छन् त्यसैगरी पशुलाई पनि यताउता गराउनुपर्ने हुन्छ। तर यसरी लैजाँदा वा ल्याउँदा अपनाउनुपर्ने सामान्य विवेकसमेत नपुर्‍याउनु निर्दयी व्यवहार हो। विशेषगरी सरकारले यस्ता विषयमा निगरानी राख्नुपर्छ अब। कहाँबाट हिँडेको, कति समयमा हिँडेको, कहाँकहाँ रोकेर दानापानी खुवाएको, पशुलाई यातना नहुनेगरी राखिएको छ कि छैन जस्ता विषयमा सुरक्षाकर्मीद्वारा जाँच गराइनुपर्छ। यस्ता कुरामा कमजोरी देखियो भने सम्बन्धितलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। यसो भए मात्र मानवीयता भन्ने शब्दको अर्थ संकुचन हुन पाउँदैन। आफूलाई शक्तिशाली ठान्ने मानिसले निर्दोष पशुहरूको कल्याणबारे थोरै भए पनि सोच्नुपर्छ। 

प्रकाशित: २२ माघ २०८० ०६:०० सोमबार

Download Nagarik App
Download Nagarik App