नेपालीहरूको महान् पर्व विजयादशमीको पूर्वसन्ध्यामा छौँ हामी। यद्यपि दसैँको प्रक्रिया भने चलिरहेको छ। यही महान् धार्मिक आस्था नवीकरण गर्ने क्रममा यतिबेला शहरबजारमा चहलपहल छ। खाद्यान्नलगायत अन्य आवश्यक सामग्रीको जोहो गर्नेहरू हतारिएका छन्। पिङ हाल्ने, घर लिपपोत गर्ने, सरसफाइ गर्ने जस्ता कार्यले यो सारदीय मौसममा रौनक थपिएको छ। शक्तिपीठहरू भक्तजनका भीडले घेरिएका छन्। कर्मथलो छाडेर जन्मथलो जान हतारिएकाहरूले सवारीसाधन भरिभराउ छन्। यी यस्ता दृश्य हुन् जसले बडादसैँको रौनक मात्र बताउँदैन, यसको महत्वसमेत उजागर गर्छ।
खासमा दसैँ असुर प्रवृत्तिमाथि विजयको प्रतीक हो। हिंसामाथि धावा हो। असत्य कहिल्यै नजित्ने उद्घोष हो। अनि सत्य र अहिंसाको मार्ग अनुशरण गर्दै घमण्डलाई तिलाञ्जलि दिनुपर्ने सन्देशयुक्त पर्व हो। त्यसैले शान्तिकामी नेपालीले यसलाई महान् पर्वोत्सवका रूपमा मनाउँदै आएका छन्। यो पर्वले केही दिन भए पनि आराम दिलाउने र मीठोमसिनो भोजनमा रमाउने वातावरण प्रदान गर्छ। यसकारण पनि यो पर्व हुनेखाने मात्र हैन, हुँदा खानेहरूको समेत प्रतीक्षाको क्षण बन्ने गरेको छ।
नेपालमा यतिबेला सत्य निहुरिनुपर्ने अवस्था सिर्जना भएको छ। हिंसाले अहिंसाको घाँटी न्याकेको न्याक्यै छ। असुरी प्रवृत्ति जताततै हाबी भएको देखिन्छ। इमानदारहरू पाखा लाग्नुपर्ने र आसुरी प्रवृत्ति बलियो हुने अवस्था पनि यदाकदा देखिन्छ। राजनीतिको शीर्षासनमा बस्नेहरूको आशीर्वाद प्राप्त भएकै कारण यस्ता प्रवृत्ति हलक्कै बढेका दृश्य सामान्य हुन थालेका छन्। हामी ठीक यस्तो अवस्थामा दसैँ मनाउन लागिरहेका छौँ। त्यसैले हालको नेपालको अवस्था र दसैँ मनाउनुको अर्थबीच व्यापकै खाडल देखिएको छ।
बजारमा दिन दिगुना, रात चौगुना बढिरहेको महँगी, जताततैको भ्रष्टाचार, पदमा पुग्न र शक्ति हत्याउन जस्तोसुकै कर्तुत गर्न पछि नहट्ने दलका नेताहरू, दिनदहाडै भइरहेका हत्या/बलात्कार र यसैमा संलग्नहरूको चर्को स्वर, विमानस्थलदेखि पशुपतिसम्ममा भइरहेका खुलेयाम अनियमितता, चरम दण्डहीनता र चौतर्फीरूपमा फैलिरहेको विसंगति असुरी प्रवृत्तिको विजयका केही प्रमाण हुन। यस्तो प्रवृत्ति जसरी पनि रोकिनुपर्छ।
त्यसैले यस्तो अवस्थाबीच दसैँ र यसपछि आउन क्रमशः लाइन लागिरहेका पर्वहरू जसोतसो मनाए पनि नेपाली मन खुसी भन्ने पक्कै छैन। यस्तो अवस्थामा विजयादशमीले यो वातावरणलाई परिवर्तन गर्न आवश्यक छ। मुलुकबाट भ्रष्टाचार डाँडो कटाउने, दण्डहीनताको स्थिति अन्त्य गर्ने, आपराधिक क्रियाकलापमा संलग्नलाई हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याउने, सदाचार र इमानदारीको कदर गर्ने जस्ता कार्य हुन सके मात्र दसैँ मनाउनुको अर्थ रहन्छ। कम्तीमा पनि नेताहरूमा यो सद्बुद्धि पलायो भने सर्वसाधारणको दसैँ सफलतापूर्वक सम्पन्न भएको मान्न सकिन्छ। अनि साँच्चै दसैँ मनाउने सनातनी परम्परामाथि न्याय मिलेको महसुस गर्न सकिन्छ।
जतिबेला सर्वसाधारण ऋण गरेर भए पनि आफ्ना लागि खाद्यान्न, कपडा र अत्यावश्यक चिजबिज जोहो गर्नुपर्ने अवस्थामा हुन्छन्, त्यतिबेलै कालोबजारी गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ। यतिबेलै बसको भाडा बढाउनेदेखि नयाँ नोट लिनसम्म कमिसन दिनुपर्ने कार्यमा संलग्नलाई कठघरामा उभ्याउनुपर्छ। यो वा त्यो बहानामा सर्वसाधारणको बाध्यतामाथि खेलवाड गर्दै शोषण गर्नेलाई कुनै हालतमा क्षमा दिनु हुँदैन। अनि जस्तोसुकै आपराधिक कार्यमा संलग्नलाई पनि सुरक्षा कवच प्रदान गरेर जोगाउने दलीय नेतृत्वलाई पनि छाड्नु हुँदैन। यसो भएमा बल्ल राक्षसी प्रवृत्तिको हार भएको मानिनेछ। त्यति मात्र हैन, हिंसा, अपराध, असत्य र दानवीकरण कहिल्यै उठ्न नसक्ने गरी थला पर्नेछन्। त्यतिबेला बल्ल दसैँ मनाउनुको सार्थकता रहन्छ।
विजयादशमी २०८० सम्पूर्णमा, अझ विशेष गरेर स्थायी र अस्थायी सरकारका उच्चासनमा बस्नेलाई यही सद्बुद्धि भर्न सफल रहोस्। सम्पूर्णमा विजयादशमीको शुभकामना!
प्रकाशित: २ कार्तिक २०८० २३:३५ बिहीबार