७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

निर्दोषमाथि ज्यादती

गुल्मीस्थित इस्माका ३५ वर्षीय मोती कुमाल हेर्दाहेर्दै दायाँ हातबिहीन बनेका छन् । उनको कान, घाँटी, ढाड र अन्य अंगसमेत जलेका छन् । त्यति मात्र हैन, कानको पनि प्वाल मात्र बाँकी छ । यतिबेला उनी कालसँग पौँठेजोरी खेल्न विवश छन् । अझै कति समय अस्पताल बस्नुपर्ने हो वा कति हण्डर खेप्नुपर्ने हो भन्ने कुनै ठेगानसमेत छैन । नेपाल विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारी मोती विद्युत्को पोलमा डिस जोड्न चढेका थिए । त्यतिबेलै विद्युत्को लाइन छाडिएपछि उनलाई करेन्टले पछारेको थियो । ८ महिनाको छोरासहित ३ सन्तानका पिता मोतीको यो हालत उनको परिवारका लागि खपिनसक्नु चिन्ताको विषय बनेको छ ।

यस्तो घटना बेहोर्न बाध्य मोती एक्लै छैनन् । दैलेखका १७ वर्षीय रेशम बिक पनि बाख्रा चराउन जंगल गएका बेला भुइँमा लत्रेको तारमा टेक्न पुगेपछि हुँदाखाँदाका हात खुट्टै जल्न पुगे । उनको हातै काट्नुपरेको छ भने अझै अरू भाग पनि काट्नुपर्ने चिकित्सकले बताएका छन् । १० कक्षा पढ्दै गरेका रेशम आफ्नो भविष्य सम्झेर बेलाबेलामा भक्कानिन्छन् भने अभिभावकहरू छोराको अवस्था देखेर भावविह्वल बन्न बाध्य छन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको । बर्सेनि सयौँ मानिस यसरी नै उक्त लापरबाहीबाट प्रताडित हुने गरेका छन् । तर पनि प्राधिकरणले यस्ता घटना हुन नदिन पर्याप्त उपाय अपनाएको देखिँदैन । नत्र यस्ता घटना किन दोहोरिइरहन्थे र ? करेन्ट छाड्नुअघि कसैलाई यसबाट जोखिम छ कि छैन भनेर हेर्ने काम प्राधिकरणको हो । त्यसैगरी कतै तार लत्रिएको, चुँडिएको वा सर्ट भएको जस्ता अवस्थाको निरन्तर निगरानी गर्ने काम पनि प्राधिकरणकै हो । तर यस्ता पक्षमा उसले विचार नपुर्याउँदा बर्सेनि मानिसले अनाहकमा जीवन गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय शारीरिक अपांगताको जिन्दगी जिउन विवश छन् भने कतिपयचाहिँ निको नहुने घाउ र बेदना अंगालेर बाँच्न बाध्य छन् ।

‘सेफ्टी फस्र्ट’– विश्वव्यापी मान्यता हो । सुरक्षित भए न मानिसले आफ्नो जीवन सुन्दर बनाउन सक्छ र काम सफल तुल्याउन सक्छ । तर विद्युत् प्राधिकरण यही पक्षमा चुक्नाले नेपालीले दुःख पाउनुपर्ने अवस्था सिर्जिएको छ । प्राधिकरणले यसमा सजग गराएर काम गराउने र कुनै घटना भए त्यसलाई सम्बोधन गर्ने परिपाटी मिलाउनु पर्छ । करेन्ट जस्तो खतरनाक अवस्थालाई व्यवस्थित गर्न नसक्नु उसको कमजोरी हो । तर पनि बारम्बारका घटनाबाट नचेत्नु त्योभन्दा पनि खतरनाक पक्ष हो ।

नेपालमा सर्वसाधारण र अझ विशेष गरेर साना तहका कर्मचारी तथा कामदारको सुरक्षामा पर्याप्त ध्यान दिइँदैन । पोलमा चढेर काम गर्नेहरू, वहुतले घर बाहिर बाँस वा डोरीमा झुन्डिएर रंगरोगनलगायत काम गर्नेहरू तथा भिरालो जमिन, इनार जस्ता गहिरो ठाउँ, खानी आदिमा संलग्नहरूका लागि अपनाउनुपर्ने सुरक्षाका नियमप्रति ख्याल गरिएको हुँदैन । जसका कारण टार्न सकिने दुर्घटना दोहोरिइरहेका छन् र यिनले मानिसलाई विरूप बनाउनेदेखि ज्यानैसमेत लिने हर्कत गरिरहेका छन् ।

विद्युत् प्राधिकरण वा कामदार परिचालन गर्ने विभिन्न निकायले यस्ता घटना भएपछि उपचार खर्च बेहोर्ने, क्षतिपूर्ति दिने जस्ता काम भएको भनेर आफू चोखिने प्रयास गर्दै आएका छन् । तर उनीहरूले नबुझेको कुराचाहिँ गुमेको हातको क्षतिपूर्ति पैसा दिएर हुन्न वा अन्धकारमा धकेलिएको भविष्य कुनै जागिर वा राहतसँग साट्न सम्भव हुन्न भन्ने नै हो । त्यसैले क्षतिपूर्ति, राहत, सहयोग आदि क्षणिक प्रक्रिया भए पनि दीर्घकालीन उपाय भनेको यस्ता घटना हुने कारण खोजी त्यसलाई निर्मूल गर्नु नै हो ।

सबैभन्दा पहिले विद्युत् प्राधिकरणलगायतका निकायहरूले यस्ता घटना हुनै नदिन सतर्कता अपनाउनु जरुरी हुन्छ । कहाँ कहाँ के भइरहेको छ, कहाँ जोखिम बढी छ र त्यसलाई टार्न के गर्न सकिन्छ भन्नेबारे घुम्ती टोली खडा गरेर विवरण संकलन गर्नुपर्छ । त्यसपछि जोखिमयुक्त अवस्था पन्छाउनुपर्छ । जोखिमयुक्त अवस्था छ र त्यसलाई सल्ट्याउन केही समय लाग्छ भन्ने लागेमा बरु त्यो अवधिभर करेन्ट नछाड्ने र यसको कारण सम्बन्धित उपभोक्तालाई जानकारी गराउन सकिन्छ ।

कस्तो कस्तो अवस्थामा जोखिम हुन्छ भन्नेबारे सर्वसाधारणलाई नियमित जानकारी गराउनु अर्को महŒवपूर्ण पक्ष हो । लत्रेको तार नछुने, पोलमा कुनै पनि बेला नछुने, जोखिम शंका लागेमा विद्युत् प्राधिकरणको कार्यालयमा सम्पर्क गर्ने, सर्वसाधारणले सम्पर्क गरेका बेला फोन÷मोबाइल उठाइहाल्ने र उचित जानकारी दिने गरे जोखिम कम हुन सक्छ । किनकि अहिलेको मुख्य समस्यामध्ये विद्युत् कार्यालयहरूले फोन नउठाउने पनि एक हो ।

निर्माण व्यवसायी, ठेकेदार, संरचना निर्माणकर्ता आदिले पनि आफ्ना कामदारलाई कामका क्रममा दौरान कुनै दुर्घटना नहोस् भनेर सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गराउनुपर्छ । खसिहालेमा बचाउने सुरक्षित डोरीको प्रयोग, हेल्मेट, दरिलो कवच आदिले पनि सुरक्षामा सघाउन सक्छ । तर कतिपय निर्माणस्थलमा कामदारलाई सुरक्षाका सामान्य वस्तुसमेत उपलब्ध गराएको देखिन्न । त्यसैले यस्ता पक्षमा पनि विचार पु¥याउनुपर्छ । मुख्य कुरा सुरक्षाका सम्पूर्ण उपाय अपनाएको÷नअपनाएकोबारे सरकारीतवरबाटै अनुगमन गरिनुपर्छ र नअपनाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ । तबमात्र यस्ता दुर्घटनाबाट हुने हानि घटाउन सम्भव हुन्छ । 

प्रकाशित: २९ आश्विन २०८० ००:२४ सोमबार

Download Nagarik App
Download Nagarik App