२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

समभाव, सद्भाव

नेपालगन्ज यतिबेला केही अशान्त छ । धार्मिक र सामाजिक सद्भावको विषयलाई लिएर केही व्यक्तिबीच देखिएको असमझदारीले तनावको स्थिति उत्पन्न भएको छ । केही समुदाय आफूमाथि अन्याय भएको महसुस गर्दै सडकमा समेत उत्रेका देखिएको छ । यसबाट स्थानीयमा जुनसुकैबेला केही हुन सक्ने त्रास उत्पन्न भएको छ । जुन कुरा कसैका लागि पनि सुखद हुन सक्दैन ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा मुख्य धर्मको संख्या १० वटा कायम भएको छ । यहाँ १४२ जातजातिको बसोबास गरेका छ भने मातृभाषा १२४ कायम भएको छ । यसरी हेर्दा नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक मुलुक भएकामा कुनै शंका छैन । हाम्रो संविधानले नै धर्म निरपेक्ष उल्लेख गरेबाट यहाँ जुनसुकै धार्मिक क्रियाकलाप सहजै अंगाल्न पाइनेमा पनि द्विविधा छैन । यसरी हेर्दा यो नेपालको मौलिक विविधता हो । यति सानो देशमा, यति थोरै जनसंख्या भएको मुलुकमा शायदै यति धेरै भाषाभाषी र जातजाति होलान् । विविधता नेपालको सौन्दर्य हो ।  

नेपालको अर्को सुन्दर पक्ष भनेको सबै जातजाति, भाषाभाषी, धर्मावलम्बीबीच एकले अर्काको अस्तित्व स्वीकार गर्ने, अर्काको संस्कार, पहिचान, मूल्य÷मान्यता आदिको सम्मान गर्ने र अन्तरघुलनको सिद्धान्त अपनाउने हो । त्यसैले त आफ्नो छरछिमेकमा बस्ने अर्को जाति वा समुदायको चाडपर्वका बेला होस् या दुःख पर्दा सामेल भइ सघाउने, भोजन गर्ने, मनोरञ्जन लिने जस्ता कार्य सामान्यरूपमा हुँदै आएका छन् । सहअस्तित्व र सहकार्यले नेपाली–नेपालीबीच एकअर्कालाई आत्मीय तुल्याउन गमको काम गरेका छन् । जुन हाम्रो विशेषता नै हो ।

कहिलेकाहीँ पोखरीको स्वच्छ पानीमा कतैबाट सानो ढुंगा खस्दा पानी तरंगित हुन पुग्छ । ढुंगा ठूलो भएमा केही समय धमिलिन पनि पुग्छ । सामाजिक बस्तीमा यस्तो हुनु अस्वाभाविक हुँदैन कहिलेकाहीँ । अहिले नेपालगन्जमा जे भइरहेको छ, त्यो समाजमा कहिलेकाहीँ आइपर्ने विसंगति हो भन्दा फरक पर्दैन । जसले केही बस्ती, समुदाय र व्यक्तिलाई अशान्त बनाएको छ ।

पाटा नकारात्मक मात्र छैनन् । धेरै व्यक्ति, समाजका अगुवा, धार्मिक नेतृत्वकर्ता यो असमझदारीको निकास खोज्नमा लागिपरेका छन् । प्रशासन र सुरक्षा निकाय अशान्ति बढ्न नदिन हररात÷दिन क्रियाशील छन् । जानेबुझेकाले यो घटना बढ्दै गएमा निम्तने हानि र क्षतिबारे सम्झाइबुझाइ गरिरहेका छन् । त्यसैले स्थिति नकारात्मकतातिर नजाने सम्भावना बढ्दो छ ।

विचार, मूल्य÷मान्यता, आस्था, धारणा आदिबीच मेल नखाँदा बेलाबखत यस्ता समस्या सिर्जना हुने गर्छन् । अझ अहिले सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै बढ्दो दुरूपयोगले पनि समस्याको आकार बढाउन सहयोग गरेको छ । सामाजिक सञ्जालमा प्रयोग गरिने शब्द, शैली र तौरतरिकामा ध्यान नपुराउँदा हुन सक्ने हानिबारे सचेतता अभाव छ । जसले बेलाबेलामा शान्त समाजलाई उत्ताउलो बनाउन सहयोग पुराउने गरेको छ ।

कतिपयले सामाजिक सञ्जालमा आएका विषयलाई नै सेयर गर्ने, पटक–पटक उद्धृत गरेर थप मानिस÷समुदायलाई समेत उत्तेजित तुल्याउने, समाजले नपचाउने शब्द÷वाक्य प्रयोग गर्ने, कानुनले निषेध गरेका विषयलाई उचाल्ने गरेका देखिएको छ । अझ जिम्मेवारी सम्हालेर बसेकाले समेत यही सिको गर्दा समाजमा अशान्ति बढ्ने क्रम बढ्दो छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगमा व्यापक सतर्कता अपनाउन ढिला भइसकेको छ ।

एकाध जना बस्ने परिवारमा त कहिलेकाहीँ द्वन्द्व उत्पन्न हुन्छ । सिंगो समाजमा नहुने कुरै भएन । एकापसमा शंका उत्पन्न हुँदा पनि यस्तो अवस्था सिर्जना हुन्छ । त्यसैले नेपालगन्ज घटनालाई केही व्यक्तिविशेषप्रति उत्पन्न गलत चिन्तनका रूपमा लिएर समाजमा सद्भाव र सहिष्णुता कायम गर्न सबै लागिपर्नु उत्तम उपाय हो । 

कसैप्रति इगो लिएर अघि बढ्ने र छाड्दै छाड्दिन भन्ने हो भने त्यसले निम्त्याउने विनाशबाहेक केही हुन सक्दैन । उसै पनि सामाजिक सद्भाव भड्कियो भने त्यसले गर्ने हानिको हिसाबकिताब निकै महँगो पर्नेमा शंका छैन । अहिले नेपालगन्जका बुद्धिजीवी, जनप्रतिनिधि, समाजका अगुवा, धार्मिक नेता सबैले यसतर्फ सुझबुझपूर्णतवरले लाग्नुको विकल्प छैन । 

प्रकाशित: १८ आश्विन २०८० ००:२५ बिहीबार

Download Nagarik App
Download Nagarik App