२३ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सेतो पुतलीबाट सावधान !

वर्षा मौसम अझै सकिएको छैन। त्यसैले यो मौसममा आउने विभिन्नखाले मौसमी रोगहरू आउने क्रम सकिएका छैनन्। मुलुकभर डेंगीले मानिसलाई सताइरहेका बेला अहिले फेरि सापु रोगको संक्रमणले आक्रमण गरिरहेको छ। खासगरी सेतो पुतलीको रौँ आँखाभित्र पसेपछि हुने संक्रमणले आँखामा धेरै नोक्सानी पुर्याउने सम्भावना रहन्छ।

संघीय राजधानीको प्रख्यात आँखा अस्पताल तिलगंगामा गएको एक महिनामा जति बिरामी आए, तीमध्ये ३० प्रतिशत यस्तै संक्रमण बोकेर आएका जानकारी अस्पतालले दिएको छ। यो तथ्यांक निकै डरलाग्दो हो किनभने आँखा मानिसको संवेदनशील अंग हो। जसमा थोरै मात्र समस्या आउँदा पनि मानिस संकट बेहोर्न बाध्य हुन्छ। यो संक्रमणले त आँखाको दृष्टिसमेत गुम्न सक्ने जानकारी चिकित्सकले दिएका छन्। त्यसैले पनि सेतो पुतलीको रौँबाट उत्पन्न हुने र सापु भनिने रोगको संक्रमण चानचुने मान्न नसकिने बनेको हो।

यस्तो पुतली सामान्यतया भदौदेखि कात्तिकसम्म देखिने गर्छ। काम गरिरहेका बेला मानिसको ध्यान काममै हुने भएकाले पुतली उडेर आइ आँखामा रौँ छाडेर बाहिरिने गर्छ। उसले छाडेको रौँमा कीटाणु हुन्छ। यही कीटाणुका कारण आँखामा संक्रमण हुन्छ। र, संकटको सुरुवात यहीँबाट हुन्छ। पुतली सोझै आँखाभित्र वा छेउछाउमा प्रवेश गरेमा मात्र हैन, हातले त्यस्तो पुतलीलाई छोइएमा र उक्त हातले आँखा चलाएमा वा माडेमा पनि संक्रमण हुने सम्भावना रहन्छ।  

यस्तो समस्या लिएर उपचारका लागि आउनेहरूमा काठमाडौँ उपत्यकाभित्रका मात्र नभएर मोफसलका समेत रहेका कारण संक्रमण धेरैतिर फैलिएको अनुमान लगाउन सकिन्छ। त्यसैले सबैतिरका मानिस यसतर्फ उत्तिकै सतर्क रहन जरुरी छ। बिपी कोइराला नेत्र अध्ययन केन्द्रमा समेत यस्ता रोगी आउने क्रम बढेबाट सापुको खतरा उत्तिकै रहेको थाहा पाउन सकिन्छ।  

उसै त बालबालिका आंगिकदेखि सबैखाले विकासका क्रममा हुने भएकाले परिपक्व भइसकेका हुन्नन्। यस्तै बालबालिकालाई रोगले पछ्याउने सम्भावना पनि बढी हुन्छ। यो अर्को खतरनाक संकेत हो। 

यो संक्रमण सुरु भएपछि उपचारका लागि लैजान जति ढिला हुन्छ रोग उति नै जटिल हुँदै जाने चिकित्सकहरूले बताएका छन्। त्यति मात्र हैन, समयमै उपचार भएन भने पिप भरिएर आँखा सेतो र पहेँलो हुने, उज्यालोमा हेर्न गाह्रो हुने आदि हुँदै जान्छ। सुरुमा मानिसले यसो हुनुलाई सामान्य आँखा पाक्ने रोग ठान्छन् र खासै समस्याका रूपमा लिँदैनन् जब रोगको गम्भीरता थाहा पाउँछन्, त्यतिबेला भने उपचारका लागि ढिला भइसकेको हुन्छ। परिणामस्वरूप ठूलै क्षति आइलाग्न सक्छ।

अस्पतालहरूले सापु संक्रमण हुनेमा ७० प्रतिशत बालबालिका हुने गरेको जानकारी दिएका छन्। उसै त बालबालिका आंगिकदेखि सबैखाले विकासका क्रममा हुने भएकाले परिपक्व भइसकेका हुन्नन्। यस्तै बालबालिकालाई रोगले पछ्याउने सम्भावना पनि बढी हुन्छ। यो अर्को खतरनाक संकेत हो। अझ ठूलो खतरनाक पक्ष त यो छ कि यस्तो संक्रमण भएकामध्ये ३० प्रतिशतको आँखाको ज्योति नै गुमेको थियो।

सर्वप्रथम यस्तो संक्रमणका बारेमा सरकारीतवरबाट जानकारी व्यापक गरिनुपर्छ। यो रोग के हो, लक्षण के हुन्, कसरी बच्न सकिन्छ, उपचारका तौरतरिका के हुन् र कहाँ गराउन सकिन्छ जस्ता विषय जानकारी गराउनुपर्छ। नसक्नेलाई निःशुल्क उपचारको व्यवस्थासमेत मिलाउनुपर्छ। अर्कोतर्फ त्यस्ता पुतली नियन्त्रण गर्ने उपाय र कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ। किनकि सरकारी निकायहरूको काम पीडितको संख्या गनेर सार्वजनिक गर्ने मात्र हुँदै होइन।  

मुख्य कुरा यसको उपचार हो । यसका लागि स्थानीय स्वास्थ्य चौकीहरूमा सबै प्रभावितलाई पुग्ने औषधि सर्वसुलभ तुल्याउनुपर्छ। विशेषगरी विद्यालयकेन्द्रित सचेतना कार्यक्रम गर्ने हो भने सापुबाट बच्ने सम्भावना बढी रहन्छ। यसो गर्दा पहिलो कुरा त यसले बालबालिकालाई बढी लक्षित गर्ने भएकाले उनीहरू सतर्क रहन सक्छन्, दोस्रो कुरा प्रत्येक विद्यार्थीले यो जानकारी घर–घर पु¥याउने हुँदा सचेतना प्रभावकारी बन्न सक्छ। 

प्रकाशित: ९ आश्विन २०८० ००:२८ मंगलबार

Download Nagarik App
Download Nagarik App