धर्मलाई व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति भन्छ शब्दकोश। जसले लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य बुझाउँछ। यस अर्थमा धर्मले कसैको अहित चाहन सक्दैन। अहित चाह्यो र त्यसैअनुसार अघि बढ्यो भने त्यो धर्म हुन सक्दैन। धर्मले असल आचरण राख्छ। पुण्यका कुरा गर्छ। सदाचार र सत्कर्ममा विश्वास गर्छ। त्यसैले त धर्म कुनै न कुनै रूपमा सबै वर्ग, समुदाय र तप्कामा व्याप्त छ।
अहिले धरान यही धर्मका नाममा अशान्त छ। एकाध दिनका घटनाले मानव–मानवबीच कतै अनावश्यक द्वन्द्व त सिर्जना हुन्न भन्ने त्रास देखिएको छ। भलै, पछिल्लो समय मत्थर हुँदै गरेकोचाहिँ देखिएको छ।
खासमा समाज नियन्त्रणका विभिन्न माध्यममध्ये धर्म पनि एउटा हो। समाज नबहकियोस्, विकृति/विसंगति नझांगिउन् र सहिष्णुता कायमै रहोस् भनेर समाज स्वयंले नियन्त्रणका विभिन्न माध्यम बनाएका हुन्। हुन त कानुन पनि बनाइएको हुन्छ तर सबै कुरा कानुनले मात्र नियन्त्रण गर्न सक्दैन। त्यसैले धर्म जस्ता साधन पनि आवश्यक ठानिएको हो। कानुन नमान्नेले समेत धर्मको डरका कारण आपराधिक गतिविधि गर्न हच्किने मान्यताले काम गरेको हुन्छ।
विश्वका जतिसुकै धर्म हुन् जसले हिंसालाई कहीँ कतै प्रोत्साहन गरेका छैनन्। अहिंसा, शान्ति, सबैको भलो मात्र यस्ता धर्मका मुख्य उद्देश्य हुने गरेका छन्। त्यसैले धर्मका नाममा खेल्न खोजिने कुनै पनि पौँठेजोरी उक्त धर्मकै विरुद्ध हुन जान्छ। कहिलेकाहीँ कुनै व्यक्ति वा समूहबाट गलत बुझाइका कारण यस्ता घटना सिर्जना भए पनि सबै मिलेर त्यसलाई समाधान मार्गमा ल्याउनुले मात्र धर्मप्रति न्याय गरेको ठहरिन्छ।
अहिले नेपाली समाजमा धर्मका नाममा अशान्तिको बिऊ रोप्न खोजेको देखिँदैछ। त्यस्ता कारण खुट्याएर आगामी दिनमा समेत नदोहोरिने गरी उपचार थाल्नु पर्छ। आफ्नो धर्म उच्च र अरूको तुच्छ भन्ने हुँदैन। ‘सर्वधर्म समभाव’ हाम्रो मुलमन्त्र हुनुपर्छ। सबैको सम्मानले मात्र समाजलाई बसौँबसौंजस्तो बनाउन सकिन्छ। धर्मको निहुँमा कुनै अप्रिय घटना हुन नपाओस् र कसैको कुनै क्षति हुन नसकोस् भन्ने भाव सबैमा हुनुपर्छ।
आगो जतिसुकै ठूलोरूपमा लागेको किन नहोस्, सुरु हुने भनेको सानो झिल्काबाटै हो। धर्मकै कारण मुलुक टुक्रेका इतिहास छन्। नरसंहारका घटनाले इतिहास राताम्मे भएका छन्। गृहयुद्ध निम्तिएर हुँदाखाँदाको मातृभूमि रणमैदान भएको हामीले देखेकै छौं। यो वास्तविकता बुझेर झिल्कोलाई यही अवस्थामा निभाउन सबै सक्रिय हुनुको विकल्प छैन।
नेपाल यस्तो देश हो जहाँ सबै जातजाति, वर्ग, समुदाय मिलेर बसेका इतिहास मात्र हैन, वर्तमानसमेत कायम छ। त्यसपछि मात्र धर्म, भाषा, संस्कृति आदिका अनुयायी। हामीमा विविधता छ र त्यही विविधता स्वीकार्दै एकतावद्ध छौं। हामी अरूका धर्म, संस्कार र संस्कृतिप्रति पनि उत्तिकै गौरवान्वित हुन्छौं।
विध्वंश रोक्न हामी सर्वसाधारणको मुख्य हात छँदैछ। कतिपय अवस्थामा सत्तामा बस्नेका बोलीले समेत स्थिति भड्काउन सहयोग पुग्छ। त्यसैले विशेषगरी विभिन्न जिम्मेवारीमा बसेकाको मुखबाट निस्कने विवेकहीन एउटा शब्दले ठूलो विपत्ति निम्त्याउन सक्छ। समाजमा शान्ति र अमनचयन कायम गर्ने तीन मन्त्र हुन्-संयम, संयम र संयम।
प्रकाशित: ११ भाद्र २०८० ००:२७ सोमबार