२० वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो। यसअघि जे भए भए, गणतन्त्रकालमा समेत कर्णालीलाई हेपिने र हेरिने दृष्टिकोणमा परिवर्तन नआउनु साँच्चै उदेकलाग्दो विषय बनेको छ।

विभिन्न समयमा अनेकन समस्याको सिकार बन्दै आएको कर्णाली यतिबेला हवाई उडानमा लगाइएको सीमित नाकाबन्दीका कारण थप पीडित बन्दै आएको छ। सडक सञ्जाल भरपर्दो नभएको र अझ कतिपय ठाउँमा त मोटर गुड्न लायक सडकसमेत नभएको कर्णालीमा हवाईजहाजले थोरै भए पनि सघाउ पुर्‍याउँदै आएको थियो। खासगरी बिरामी र जरुरी काम परेकाले सीमितै किन नहोस्, सेवा पाउँदै आएकामा हुन्। तर, मनखुसी नियम लागु गर्दा कर्णालीबासी अहिले सेवा वञ्चित भएका छन्।

गएको साउन १५ गतेदेखि भने कर्णालीका विमानस्थलहरूमा १२ बजेपछि उडान गर्न प्रतिबन्ध लगाइएको छ। हिमाली र पहाडी जिल्लाका विमानस्थल भएकाले कतिपयमा बिहान १० बजेसम्म ढपक्कै कुहिरोले छोप्छ। त्यसपछिका २ घण्टामा हवाईजहाज आए आयो, नआए यो दिनलाई माया मार्नुपर्ने अवस्था छ। यस्तो अवस्थाले विशेषगरी तत्कालै अन्त लगेर उपचार गराउनुपर्ने गम्भीर रोगका बिरामी तथा कुनै कामका लागि अति जरुरी पर्ने मानिसलाई पर्नुसम्म समस्या पर्ने गरेको छ।

साविकको कर्णालीका ५ जिल्लामध्ये कालीकोटको सुनथराली सञ्चालनमै आएको छैन। हुम्लाको सीमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै र जुम्लाको जुम्ला विमानस्थलमा भने दिउँसो ५ बजेसम्म विमान आउने/जाने गर्थे। सामान लिएर वा पर्यटक लिएर चार्टरमा आउने, अति गम्भीर बिरामी र जरुरी परेका मानिस त्यसमा पनि फर्कने मेसो मिल्थ्यो। अझ हेलिकोप्टर त त्यसपछिको समयमा पनि आउने/जाने गर्थे। तर यतिबेला उडानमा लगाइएको समयको पावन्दीका कारण कर्णालीबासी ज्यानैसमेत गुमाउनुपर्ने अवस्थामा पुग्नु मानवीयताप्रति गम्भीर खेलवाड हो।

कुनैबेला यहाँका विमानस्थलहरू घाँसे मैदान थिए। भौतिक पूर्वाधार गतिला थिएनन्। यस्तो अवस्थामा जुनसुकैबेला पनि उडान गर्न र भर्न दिँदा दुर्घटनाको सम्भावना हुन्थ्यो तर यतिबेला अवस्था फेरिएको छ। विमानस्थलहरू पक्की भएका छन्। भौतिक पूर्वाधार र उपकरणहरू तुलनात्मकरूपमा भरपर्दा छन्। तर पनि किन विमान उडानका लागि निश्चित समय तोकियो भन्ने बुझ्न सकेका छैनन् कर्णालीका बासिन्दाले।

एकातिर कर्णालीको सबैजसो सडक सडक नभएर ‘ट्रयाक’ मा सीमित छन् र सडक पूर्वाधारका रूपमा रहेका यिनै ट्रयाकलाई सडक मानेर गाडी चलाउनुपर्ने अवस्था छ। अर्कोतर्फ यिनै सडकबाट पनि बाह्रै महिना सवारी कुदाउन सम्भव छैन। झन् त्यसमाथि पनि वर्षायाममा त यी सडकको यात्रा निकै जोखिमपूर्ण हुने गर्छ। यही कारण कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ समेत भन्ने गर्छन् धेरैले।

यस्तो अवस्थामा खासगरी वर्षायाममा हवाई मार्ग महँगो भए पनि तुलनात्मक रूपमा सहज र ज्यान बचाउने एक मात्र उपायका रूपमा रहँदै आएको थियो। यही मार्गलाई पनि सरकारले सीमित समयमा खुम्च्याइदिएपछि कर्णालीबासी निकै ठूलो अन्यायमा परेका छन्। हुन त प्रमुख जिल्ला अधिकारीहरू र कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले समेत यसबारे नागरिक उड्डयन कार्यालयको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्। गजब त यो छ कि यसबारे ध्यानकर्षण गराउन आएका मन्त्रीलाई समेत कार्यालयका महानिर्देशक प्रदीप अधिकारीले भेट दिएनन्। यसबाट पनि थाहा हुन्छ कि पदमा बसेकाहरू कर्णालीबासीलाई हेप्नैपर्ने मानसिकता सच्याउन तयार छैनन्। त्यसैले सबै भन्दा पहिले कर्णालीमा लगाइएको हवाई नाकाबन्दी तत्काल हटाउनुपर्छ। बाँकी विषयमा बहस गर्दै जाउँला।

प्रकाशित: २९ श्रावण २०८० ००:२७ सोमबार

Download Nagarik App
Download Nagarik App