२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

कर्णालीको सुखद सन्देश

कर्णाली शब्द अशिक्षा, अविकास, पछौटेपन, निकै पर, दुर्गम, देहात आदि हेपाइको पर्याय रहँदै आएको हो विगतमा। यही कारण सरकार र कर्णालीको सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेन पनि। तर समय र परिपस्थिति कहिल्यै एकनास हुँदैन। यो परिवर्तनशील छ। जसलाई कर्णालीको स्वास्थ्य अवस्थाले पनि पुष्टि गरेको छ। अर्थात अब कर्णाली हामीले विगतमा सुने जस्तो/देखे जस्तो अनि भोगे जस्तो पक्कै छैन।

कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ। अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ। त्यति मात्र हैन, रक्तसञ्चार सेवा सञ्चालनसमेत गर्छ। यी यस्ता सेवा हुन् जसका लागि यहाँका बासिन्दा कि बाँकेको भेरी अञ्चल अस्पताल पठाइन्थे कि त संघीय राजधानीका अस्पताल। अहिले आफ्नै ठाउँमा यस्ता सेवा पाउन थालेपछि उनीहरूको स्वास्थ्योपचारमा फड्को त मार्ने नै भयो।

प्रदेश अस्पतालको भौतिक पूर्वाधार आकर्षक छ। यस अर्थमा यो अस्पतालमा भौतिक पूर्वाधारको समस्या छैन। अझ ५ सय शैयाको सुविधा उपलब्ध गराउने उद्देश्यसहित तला थपिँदै गरेकाले सुविधा झन् बढ्ने निश्चित छ। जनशक्ति पनि कम छैन। मात्र सरकारले केही आवश्यक प्राविधिक जनशक्ति थपिदिने हो भने आफूहरू उत्कृष्ट सेवा दिन सक्ने हैसियतमा पुगेको अस्पताल प्रशासनको दाबी स्तुत्य छ। किनकि आत्मबल र इच्छाशक्तिबिना केही पनि काम सफल हुँदैन जुन यहाँको अस्पताल प्रशासनमा देखिएको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको चाप बढी भएको बताउँदै अब त्यस्ता बिरामीलाई कर्णाली प्रदेश अस्पतालमा स्थानान्तरण गरिने योजना सुनाएका छन्। सधैँ जे कुराका लागि पनि संघीय राजधानीको मात्र मुख ताक्नुपर्ने कर्णाली अब काठमाडौँबाट स्थानान्तरण भएर आएका बिरामीलाई सेवा दिने हैसियतमा पुग्नु कर्णाली प्रदेशको मात्र नभएर सिंगै नेपालको शान बढाउने अवस्था हो।

अशिक्षा, पछौटेपन र विकास अभावमा स्वास्थ्य संस्था भरपर्दा थिएनन्। भौतिक पूर्वाधार थिएन, भौतिक पूर्वाधार भए पनि स्वास्थ्यकर्मी बस्ने वातावरण थिएन, स्वास्थ्यकर्मी बसे पनि आवश्यक औषधि र उपकरण अभावमा उपचार सम्भव थिएन। यसरी हेर्दा कर्णाली मात्र बिरामी उत्पादन गर्ने थलोका रूपमा परिचित थियो। तर यतिबेला कर्णालीले आफ्नो त्यो विगतको पहिचान परिवर्तन गरेको छ। ऊ यतिबेला बिरामी मात्र हैन, तिनका लागि नभइनहुने डाक्टर पनि उत्पादन गर्छ। यो अवस्थालाई चानचुने उपलब्धिका रूपमा लिन मिल्दैन।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संघीय सरकारले केही जनशक्ति उपलब्ध गराउने हो भने आफूहरूले दैनिक ३ जनासम्मको मिर्गौला प्रत्यारोपण गर्न सक्ने दाबी गरेका छन्। पर्याप्त भौतिक पूर्वाधार, बजेट, जनशक्ति जस्ता सबै आधारभूत कुरा पूरा हुँदा त काम नगर्ने कर्मचारी बाहुल्य भएको नेपालमा योखालको उत्साह र आत्मबल प्रदर्शन हुनु खुसीको कुरा मान्नुपर्छ। उत्कृष्ट अपरेसन थिएटर र आधुनिक उपकरणले सजिसजाउ यो अस्पताल नमुना बन्न सक्नुको एउटा कारण यहाँको व्यवस्थापकीय र चिकित्सकीय समूह उत्कृष्ट हुनु पनि हो भन्ने बिर्सनु हुँदैन।

त्यसैले यो अस्पतालले माग गरेको आवश्यक जनशक्ति सरकार (संघ वा प्रदेश) ले तत्कालै उपलब्ध गराउनुपर्छ। जसबाट एकातिर अन्यत्रको बिरामीको चाप न्यून भइ यो अस्पतालले समेत आफ्नो थप क्षमता उजागर गर्ने अवसर पाउनेछ। अर्को कुरा ऋण खोजेर टाढा उपचार गर्न जानुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुनेछन्। त्योभन्दा पनि महत्वपूर्ण पक्षचाहिँ विभिन्न ठाउँमा यस्ता नमुना निकाय र काम स्थापित हुँदै जानुले संघीयताको मूल मर्म र औचित्य पुष्टि गर्छन्। किनकि यो प्रदेश अस्पताल संघीयताको फलमध्येकै एउटा मान्नुपर्छ।

जनताको स्वास्थ्य अधिकारलाई हाम्रो संविधानले सुनिश्चित गरेको छ। संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ। जसको उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ। संविधानले नै यसरी उल्लेख गरिसकेको अवस्थामा सम्पूर्ण जनतालाई यो अधिकार प्राप्त गराउन ठाउँ ठाउँमा यस्तै नमुनालायक स्वास्थ्य निकाय खोलिनुको विकल्प छैन।

मुलुक संघीय संरचनामा गइसकेपछि धेरै अधिकार मात्र हैन, काम र बजेटको अख्तियारीसमेत प्रदेश र स्थानीय तहमा विनियोजन हुँदै आएको छ। यस्तो अवस्थामा विगतमा जस्तो कुनै पनि काम नहुनुको दोष केन्द्रलाई मात्र दिएर प्रदेश र स्थानीय तहको नेतृत्व उम्कन पाउने अवस्था अब छैन। त्यसैले आफूलाई कानुनतः प्राप्त अधिकार र स्रोत प्रयोग गरी उल्लेखनीय काम गर्न कसैले रोकेको छैन। कर्णाली प्रदेश अस्पताल सिक्ने यस्तै एउटा आधार बनेको छ।

हामीकहाँ भ्रष्टाचार, विकृति र विसंगतिको सिकाइ चाँडो हुने गरेको छ। यो एक प्रदेश वा ठाउँबाट अर्को प्रदेश वा ठाउँमा पुग्न कत्ति पनि बेर लागेको देखिन्न। त्यसैगरी भ्युटावर जस्ता ‘अनावश्यक विकास’ को रोग पनि महाहारीकै रूपमा फैलिएको सबैलाई थाहै छ। त्यसैले यतिबेला हामीलाई जनताको जीवन र जीविकामा परिवर्तन ल्याउने ‘वास्तविक विकास’ चाहिएको छ। अनि त्यसका लागि विवेकसम्मत सोच्न सक्ने नेतृत्व चाहिएको छ। जसको उदाहरण कर्णाली प्रदेशको स्वास्थ्य सेवालाई उत्कृष्ट बनाउन योगदान गर्नेहरू छन्। त्यसैले अनुशरणमा ढिला नगरौँ, राम्रा कुरा जहाँबाट जोसँग सिक्दा पनि हुन्छ। परिवर्तन सम्भव छ। 

प्रकाशित: १० श्रावण २०८० ००:२३ बुधबार

Download Nagarik App
Download Nagarik App