१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

कर्मकाण्डमा सीमित धान दिवस

दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै। त्यसैले यस्तो दिवस आउनु र नआउनुमा खासै तात्विक फरक हुँदैन। आज मुलुकमा धान दिवसको चर्चा छ तर यो चर्चामै सीमित छ। यसबाट केही फल मिल्ने आशा कुनै पनि नेपालीमा छैन।  

होस् पनि कसरी? कुनैबेला नेपाल धान निर्यात गथ्र्यो। विभिन्न ठाउँमा संकलन केन्द्र नै खोलेर किसानको धान लिइन्थ्यो र निर्यात गरिन्थ्यो। हेर्दाहेर्दै अहिले हामी अरबौँको चामल किन्छौँ। छिमेकी भारतले नाकाबन्दी गरिदियो भने भातमरीले सताइने अवस्था छ। त्यति मात्र हैन, भारतबाहेकका देशबाट समेत स्वादिला र मीठोमसिनो चामल झिकाएर खाने बानी परेको छ हामीलाई। त्यसैले पनि हामी दिनानुदिन आफ्नै खानाका लागिसमेत परनिर्भर हुने क्रम बढ्दो छ।

त्यसो त नेपाल धानका लागि निकै सम्भावना भएको देश हो। यहाँका ७७ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा धान फल्छन्। यी जिल्लाका समेत केही ठाउँमा धान फलेका देखिन्छ। यसरी हेर्दा नेपालमा कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ७३ हजार हेक्टर क्षेत्रफल (४७ प्रतिशत) मा धान खेती गरिँदै आएको छ। भौगोलिकरूपमा हेर्दा जति धान खेती हुन्छ त्यसको ७० प्रतिशत एक्लै अन्नको भण्डार भनिने तराई क्षेत्रमा हुन्छ। त्यसपछि २५ प्रतिशत पहाडले ओगट्छ भने उच्च पहाडका ५ प्रतिशत क्षेत्रमा धान खेती गरिन्छ।  

यो तथ्यांकले देखाउँछ कि हामी धान उत्पादनका हिसाबले कृषिप्रधान देशको इज्जत कायम राख्न सक्षम छौँ। २०४५ सालकै तथ्यांक हेर्दा पनि त्यतिबेला नेपालको ३५ लाख हेक्टरमा धान खेती हुने गरेको थियो। उत्पादन पनि राम्रै हुने गरेको छ। झण्डै ५ दशकअगाडि प्रतिहेक्टर १.३ मेट्रिक टन धान उत्पादन हुने गरेकामा उत्पादकत्व बढेर गत वर्ष प्रतिहेक्टर ३.७९ मेट्रिक टन पुगेको छ। मल, बिउ, सिँचाइ, कीटनाशक, प्रविधिको प्रचुर प्रयोग आदिको बढोत्तरीका कारण उत्पादन बढेको पनि देखिएको छ।

वर्षको एकदिन कुनै कार्यकर्ताको खेतमा गएर बिउको मुठो समाएर हिँलो गालामा दल्ने र मन्त्रीदेखि उनका केही भुरेटाकुरे कर्मचारीसमेतको तस्बिर सामाजिक सञ्जालको भित्तोमा राखेर भाइरल हुने दिनका रूपमा रूपान्तरण गरिँदै आएको छ धान दिवसलाई। 

तर पनि खेती गरिने जमिन भने खुम्चिँदै जानु मुख्य चिन्ताको विषय हो। हो, औद्योगिकीकरणसँगै कृषिमा लगाव र संलग्नता घट्न सक्छ। तर नेपालमा न औद्योगिक कलकारखाना बढेका छन् न त कृषि कर्म नै। यहाँको खेतीयोग्य भूमिमध्ये एकचौथाइ बाँझो छ। जुन खेती गर्नेले नगरिदिएका कारण ऊर्वरता नष्ट भइरहेको छ। एकातिर यसरी जमिन बाँझो रहने क्रम बढ्दो छ भने अर्कोतर्फ तेस्रो मुलुकबाट चामल आयातको ग्राफचाहिँ हरेक महिना बढ्दो छ। यस्तो अवस्थाले कृषिप्रधान देशका बासिन्दा हामीलाई लाज लाग्नुपर्ने हो, अझ विशेषगरी सरकार र ऊअन्तर्गतको कृषि र उत्पादनको ठेक्का लिएर बसेका मन्त्रीदेखि कर्मचारीसम्मलाई।  

मल ल्याउनमा कमिसनको हानाथाप, अनुदानमा नक्कली र फर्जीवालाको बिगबिगी छ। बिउ मोन्सान्टोदेखि कृषि प्राविधिक चामलको रुख खोज्दै हिँड्नेखालका मात्रै छैनन्, ठूला कुर्सीमा बस्नेहरू विदेशमा जन्मेर उतै पढेर आएका अर्थात यहाँको माटोले नचिन्नेहरू छन्। अनि हाम्रो नीति बनाइदिनेचाहिँ विदेशीहरू जो यहाँको कृषिबारे एकरत्ति पनि जानकार नभएका छन्। यी सबै नेपाली कृषि उभो नलाग्नुका मुख्य बाधक हुन्। तर पनि सरकारी अधिकारीहरूचाहिँ विभिन्न बहाना देखाएर आफू पानीमुनिको ओभानो हुने प्रयत्न जारी राख्नमा खप्पिस छन्। हाम्रो विडम्बना यही हो।

विडम्बना, हाम्रो सरकारी मान्छेहरूमा ‘हिलोमा चोपलिएर भरे टेलिभिजनहरूले देखाइदिए र सामाजिक सञ्जालमा भाइरल भइयो भने त्यो नै धान दिवस मनाउनुको ठूलो उपलब्धि हुनेछ’ भन्ने भ्रम व्याप्त छ।

वर्षको एकदिन कुनै कार्यकर्ताको खेतमा गएर बिउको मुठो समाएर हिँलो गालामा दल्ने र मन्त्रीदेखि उनका केही भुरेटाकुरे कर्मचारीसमेतको तस्बिर सामाजिक सञ्जालको भित्तोमा राखेर भाइरल हुने दिनका रूपमा रूपान्तरण गरिँदै आएको छ धान दिवसलाई। यसो गर्नु अन्नकी देवी अन्नपूर्णा मातादेखि दिनरात हिलोमै रमाउने वास्तविक पारिवारिक खेतीवाला किसानसम्मलाई गिज्याउनु हो। उनीहरूको किसानी कर्ममाथि सस्तो मनोरञ्जन गर्नु हो। जसले किसानलाई निराशासिवाय अरू केही उपलब्ध गराउन सक्दैन।

धान दिवसलाई वास्तवमै सार्थक बनाउने हो भने यो दिन सरकार र सम्बन्धित मन्त्रालय, विभाग आदिले किसानका लागि केही विशेष कार्यक्रमहरू घोषणा गर्नु सक्नुपथ्र्यो। अब किसानले मल सहजतवरले पाउने हो कि, मलको मूल्य किसानका लागि कम हुने हो कि, किसान परिचयपत्र प्रदान गरिने र त्यसैका आधारमा सुविधा उपलब्ध गराउने हो कि, बढी धान उत्पादन गर्नेलाई केही सुहलियतको व्यवस्था गर्ने हो कि, किसानी पेसालाई मर्यादित तुल्याउने आकर्षक योजनाहरू ल्याउने हो कि, विविधखाले कार्यक्रम जारी गर्न सकिन्थ्यो तर विडम्बना, हाम्रो सरकारी मान्छेहरूमा ‘हिलोमा चोपलिएर भरे टेलिभिजनहरूले देखाइदिए र सामाजिक सञ्जालमा भाइरल भइयो भने त्यो नै धान दिवस मनाउनुको ठूलो उपलब्धि हुनेछ’ भन्ने भ्रम व्याप्त छ। जसले वर्षौँदेखि मनाइए पनि यस्तो दिवसप्रति वास्तविक धान उत्पादक किसान आकर्षित हुन सकेका छैनन्।

उत्पादन दिवस र महोत्सवले बढाउने हैन। कृषिको जिम्मेवारी लिएर बसेकाको सफल नेतृत्व र उचित व्यवहार यसका लागि जरुरी छ। अहिले कृषिका कार्यालयलाई सरकारले कृषि ज्ञान केन्द्र नामकरण गरेको छ। साइनबोर्डको काँचुली फेराइले पनि ज्ञान उपलब्ध गराउने हैन। त्यसैले नेपालको सन्दर्भमा धानको उत्पादन वृद्धि गर्ने हो भने आफ्नै मेहनतले धान उत्पादन गरी आफ्नो परिवार पाल्ने र बाँकी अनाज अरूलाई समेत खुवाउनेको अवस्था विश्लेषण गरेर नीति निर्माण गरिनुपर्छ। आंशिक र नक्कली किसानको मुहार चम्किलो बनाउने उद्देश्यले निर्मित योजना र कार्यक्रमहरूले त धान दिवसमा एक दिन हिलोमा लडिबुडी खेले जस्तै क्षणिक मनोरञ्जन मात्र उपलब्ध गराउने हुन्।

प्रकाशित: १५ असार २०८० ००:३२ शुक्रबार

Download Nagarik App
Download Nagarik App