पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका निम्ति मंगलबार सिंगापुर प्रस्थान गरेका छन्। नियमित स्वास्थ्य जाँचका निम्ति विदेश जान पाउनु नेपाली सन्दर्भमा ठुलो भाग्य हो। सामान्यतः धेरैले देशभित्रै उपचार गर्नुपर्ने हुन्छ। तर, यहाँको उपचारमा पूर्णतः आश्वस्त हुन सकिन्न भन्ने आम विश्वास छ। त्यो विश्वासलाई पुनर्पुष्टि गर्ने काम राजनीतिक व्यक्तिहरूको उपचार भ्रमणले गर्ने गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचार यात्रा केही अघि सम्पन्न भएको हो। उनी भारतको नयाँ दिल्लीबाट स्वास्थ्यलाभ गरी स्वदेश फर्किसकेका छन्। राष्ट्रपतिमा जटिल स्वास्थ्य समस्या देखिए पनि देशभित्रै उपचार गर्न सक्ने संरचनागत हैसियत आवश्यक छ। देशभित्रकै स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने हो भने विदेश गइरहनुपर्दैन। संयोगले राष्ट्रपतिको गंगालाल ह्ृदय केन्द्रमा एन्जिओग्राम गरिएको छ। उपचार दिन सक्ने अवस्थामा स्वास्थ्य संस्था रहेका छन्।
तैपनि मुलुकका स्वास्थ्य संस्थालाई यति कमजोर अवस्थामा राखिएको छ कि क्षमता हुनेले नेपालमा उपचार गर्न चाहँदैन। कतिपय व्यक्तिको अनुभवमा नेपालमै उपचार गरेको भए स्वास्थ्य जटिल हुने वा मृत्यु नै हुन सक्थ्यो, त्यही भएर पनि विदेश नगई सुख छैन। यस किसिमको धारणा आम रूपमा देखिनु आफैंमा चिन्ताको विषय हो।
त्यसैले थोरै आर्थिक हैसियत भएका व्यक्ति पनि उपचारका निम्ति विदेश जान चाहन्छन्। भारत, चीन (अपवादमा थोरै नेता गएका), थाइल्यान्ड, सिंगापुर, जापान आदि मुलुक यस्तो उपचारका निम्ति गन्तव्यका रूपमा रहेका छन्। कतिपय प्रबुद्ध नागरिक (सेलिब्रिटी) लाई पनि उपचारका निम्ति यस्ता गन्तव्यमा लगिएको छ। उनीहरू स्वाभाविक रूपमा देशभित्रै उपचार गराउन तत्पर हुने हुन्। तैपनि यहाँको उपचार कमजोर हुँदा उनीहरू विदेश जान बाध्य भएका हुन्।
स्वतन्त्र र सार्वभौम मुलुक नेपालले जटिल स्वास्थ्य समस्या हुनासाथ अरू देशकै भर पर्नुपर्ने अवस्था किन सिर्जना गरिएको छ ? देशभित्रका स्वास्थ्य संस्था पहुँच नभएका नागरिकका निम्ति मात्र हुन् ? होइन भने यिनको अवस्था सुधार गर्न किन कसैको ध्यान गएन ?
सांसद चन्द्र भण्डारी जलेको उपचार (वर्न केस) का निम्ति भारत जानुपरेको छ। उनले उपचारपछि प्रतिनिधिसभाको बैठकमा भावुक ढंगले दिएको वक्तव्यबाट पनि देशभित्रै उपचारको क्षमता बढाउनुपर्छ भन्ने देखिन्छ। जलेको उपचार देशभित्रै गर्न सक्ने गरी यहाँका स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्ने हो भने स्वदेशी समय र स्रोत दुवै बच्छ। त्योभन्दा पनि महत्वपूर्ण पक्ष स्वतन्त्र र सार्वभौम मुलुक नेपालले जटिल स्वास्थ्य समस्या हुनासाथ अरू देशकै भर पर्नुपर्ने अवस्था किन सिर्जना गरिएको छ ? यसको जिम्मेवारी कसैले लिनुपर्दैन ? देशभित्रका स्वास्थ्य संस्था पहुँच नभएका नागरिकका निम्ति मात्र हुन् ? होइन भने यिनको अवस्था सुधार गर्न किन कसैको ध्यान गएन ?
स्वास्थ्योपचारका निम्ति विदेश जानुपर्ने बाध्यता रहेका सबै नेताहरूप्रति हामी संवेदनशील छौं। सबैको स्वास्थ्य राम्रो रह्यो भने स्वाभाविक रूपमा देशको उन्नति हुन्छ। स्वास्थ्य राम्रो केही सीमित व्यक्तिको मात्र भएर पुग्दैन। समग्रमा प्रत्येक सर्वसाधारण नेपालीले त्यही तहको उपचार पाउनुपर्छ, जुन तहको उपचार अहिले नेताहरूले विदेशका अस्पतालमा पाएका छन्।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि विदेशमा उपचार गराउने नेतामध्येमा पर्छन्। धन्य, उनले पछिल्लो पटक आफू प्रधानमन्त्री रहेकै बेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गराएका हुन्। त्यसले केही हदसम्म मुलुकको स्वास्थ्योपचारप्रति विश्वास बढाउने काम गरेको हो। देशकै नेता उपचारका निम्ति नआउने चिकित्सा प्रणालीले अपेक्षित सुधार गर्न सक्दैन।
हुन त कतिपय अवस्थामा देशभित्रका स्वास्थ्य संस्थालाई कमजोर बनाएर विदेशी स्वास्थ्य संस्थालाई प्रवर्धन गर्ने उद्देश्य पनि यसमा जोडिएको छ। कतिपय अस्पतालमै विदेशी अस्पतालका ‘कमिसन एजेन्ट’ को सक्रियता रहेको देखिन्छ। तैपनि यसबीच निजी क्षेत्रमै पनि गुणस्तरीय स्वास्थ्योपचार दिन निजी क्षेत्रका अस्पताल पनि खुलेका छन्। तिनले दिने स्वास्थ्य सेवाले राम्रो उपचार खोज्न विदेश जानैपर्छ भनी ठान्ने जनसंख्यालाई केही हदसम्म रोकेको पनि छ।
हाम्रो मुलुकको स्वास्थ्य बिमा प्रणालीलाई बलियो बनाउनुपर्छ। त्यो बिमाले देशमै बिरामी हुँदा सजिलै उपचार गराउन सक्छ। यसका साथै अस्पतालहरूको क्षमता विकास गर्नैपर्छ। सरकारी अस्पताललाई राम्रो बनाइदिने हो भने त्यसले देशभित्रका नागरिकको विश्वास जित्छ। अस्पताल राम्रा हुँदै गए भने जटिल उपचार हुन नसक्ने चिन्ता गरिरहनुपर्दैन। देशभित्रकै स्वास्थ्य संस्थाको क्षमता विकास गर्न सक्ने हो भने देशले प्रगति गरिरहेको सन्देश जान्छ। आम नागरिकमा मुलुककै संस्थाप्रति विश्वास पनि बढ्दै जान्छ।
नेपालले आफूलाई धेरै क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने अवस्था छ। अस्पतालको अवस्थासमेत सुधार नगरेर हाम्रो राजनीतिक नेतृत्वले आफूलाई अकर्मण्यताको अवस्थामा राख्नु आफैंमा चिन्ताको विषय हो। उपचारकै निम्ति विदेश गएको भन्दा त्यसले स्वाभाविक सन्देश दिँदैन। हुन त उपचारका नाममा विभिन्न बैठकको उद्देश्य बोकेर जाने चलन पनि राजनीतिक क्षेत्रको छ। प्रायः बिरामी भएरै उपचारका निम्ति जाने गरेको देखिन्छ।
देशभित्रका स्वास्थ्य संस्थालाई राम्रा बनाउन नसकेर विदेश धाउनुपर्ने विडम्बनापूर्ण अवस्थामा सुधार आवश्यक भइसकेको छ। विदेशमा उपचारका नाममा हुने अनाहकको खर्चले देशकै संस्थाको श्रीवृद्धि गर्न सक्नुपर्छ। जति धेरै जटिल उपचार गर्न सक्यो, त्यति नै यहाँका स्वास्थ्यकर्मीको क्षमता पनि बढ्छ। यहाँ स्वास्थ्यकर्मीले पनि विदेशकै स्वास्थ्य संस्थामा काम गर्ने अवसर खोज्नुपर्ने र जिम्मेवार राजनीतिक नेतृत्व पनि विदेश जाने अवस्थामा सुधार अपरिहार्य भइसकेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८० ००:३५ बुधबार