२२ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

काम,काम र काम

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो मधुमास अवधि पूरा गरिसकेको छ। निर्वाचनपछि सरकार बनेको पहिलो सय दिन सरकारलाई काम बुझ्न दिइने समय हो। तेस्रोपटक प्रधानमन्त्री बन्ने मौका पाएका दाहालका निम्ति राज्य संयन्त्रलाई बुझ्ने यो पर्याप्त समय हो। तथापि, बितेका सय दिन उनका निम्ति त्यति सहज भएनन्। सम्भवतः मधुमासमै दुईपटक विश्वासको मत लिनुपर्ने वाध्यतामा परेको सरकार यही हो। सरकार गठन र पुनर्गठनका निम्ति सरकारको ध्यान पर्याप्त मात्रामा खर्च भएको छ।

संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) को तर्फबाट सरकारको नेतृत्व दाहालले गरिरहेका छन्। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत ११ दलको गठबन्धन सरकारलाई व्यवस्थित गरेर लैजान सजिलो छैन। तैपनि तुलनात्मकरूपमा युवा जोश/जाँगर भएका दाहालले निरन्तर कोसिस गरेको देखिएको छ। सत्ता गठबन्धनको बैठक निरन्तर राख्नु, त्यसलाई लिएर निर्णय गराउनु र अगाडि बढ्नु आफैँमा सजिलो काम होइन। तैपनि सरकारको नेतृत्व गर्नु भनेकै यी सबै जिम्मेवारी पूरा गर्ने हो।

प्रधानमन्त्रीको अधिकांश समय सरकार गठन र दलहरूलाई मिलाएर लैजान खर्च भएको छ। यसले गर्दा सरकारको कामको दिशा अझै देखिएको छैन। मुलुकमा सरकारले परिणाममुखी काम थालोस् भन्ने आमअपेक्षा रहेको छ। सरकार जोसुकैले चलाए पनि परिणाम आउन थाल्नासाथ आम रूपमा विश्वासको वातावरण बन्छ। तर दाहाल एउटा चुनौतीपूर्ण समयमा सरकारको नेतृत्व गर्न आइपुगेका छन्। एकातिर, मुलुकमा संस्थागत हुनै नसकेका लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउनुपर्ने अवस्था छ। अर्कोतिर, सरकारबाट परिणाममुखी काम भएको हेर्ने उत्कट अभिलाषा पनि आम रूपमा प्रकट भइरहेको छ।

सरकारले नियमित रूपमा काम गरेर मात्र पुग्ने अवस्था छैन। नियमितरूपमा हुने कामले मात्र विकासको गति पछ्याउन सकिँदैन। देशले ‘भ्यागुते उफ्राइ’मा आफूलाई लैजानुपर्नेछ। त्यसका निम्ति सरकार आफैं सबैका निम्ति प्रेरक बन्छ। सरकारले प्रभावकारी रूपमा काम गर्न थाल्यो भने देशभरि त्यसको प्रभाव पर्छ। त्यसमा पनि संघीयतामा रहेको मुलुकका तीनै तहका सरकारमा यसको सकारात्मक प्रभाव पर्छ। अहिले स्थानीय सरकारले बरु राम्ररी काम गर्न सकेको छ। त्यत्तिकै काम संघीय सरकारबाट हुन नसकेको अवस्था छ।

प्रधानमन्त्री दाहालको काँधमा यतिबेला गठबन्धन संस्कृतिलाई जोगाएर अघि बढ्नुपर्ने चुनौती छ। नेकपा (एमाले) को सहयोगमा सरकारको नेतृत्व गर्न पुगे पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्न दाहालको भूमिका रहेको छ। प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेलाई निर्वाचित गरिसकेपछि मुलुकमा शक्ति सन्तुलनका निम्ति पनि उच्च पदहरू प्रमुख दलबीच बाँडिनुपर्ने उनले जो सोचे त्यसलाई स्वाभाविकरूपमा लिइएको छ। दाहालले अहिले बचनको पक्का भएर काम देखाउनुपर्ने अवस्था पनि छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि अहिलेसम्म आइपुग्दा दाहालले खासै धेरै विचार उल्लंघन गरेको देखिएको छैन। उनले सकेसम्म सबैलाई मिलाएर जान खोजेका छन्। राष्ट्रपतिमा एमालेबाहेकका अन्य दललाई सहभागी गराउनुपर्छ भन्ने मान्यतालाई उनले निरन्तरता दिए। दाहालको यही अभ्यासका कारण अहिलेको गठबन्धन लामो समयसम्म जानसक्ने आधार पनि बन्दै गएको देखिएको छ।

दाहालले संक्रमणकालीन न्यायको मुद्दालाई समेत टुंग्याउनुपर्ने आवश्यकता महसुस गरेका छन्। वास्तवमा अहिलेको गठबन्धन बन्नुको एउटा कारण यो पनि हो। संक्रमणकाल नटुंग्याउँदा माओवादी केन्द्र मात्र होइन, कांग्रेस नेताहरूलाई समेत अप्ठ्यारो छ। सरकारको यो मधुमास अवधिमा यसका निम्ति पनि प्रयास हुन थालेको छ। तर पीडित पक्षले अझै यसमा आशा गर्न सकेका छैनन्। उनीहरूलाई पनि विश्वासमा लिएर यो प्रक्रिया अगाडि बढाउन सके भने दाहालको कार्यकालको सफलता सिद्ध हुनेछ। त्यति मात्र होइन, शान्ति प्रक्रियाको बेवास्ता गरिएको यो पाटोले पनि समाधान पाउन सक्छ।

सरकारको मधुमास अवधिले सरकारको आगामी कार्यदिशालाई प्रकट गर्छ। तर सरकारले यो अवधिमा कामतिर ध्यान दिन पाएको छैन। मुलुकको अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई समाधान गर्नेतिर कोसिस गर्नुपर्ने अवस्था छ। मधुमास सकिने बेलामा कांग्रेसका तर्फबाट अर्थमन्त्री दिएर फेरि यो समस्या समाधानको कोसिस गरिएको छ। अर्थतन्त्रका समस्या समाधान गरेर अगाडि बढ्न सकेको खण्डमा सरकारको कार्यक्षमताको प्रशंसा हुन थाल्छ। सरकार त्यतिबेला मात्र प्रभावकारी भएको मानिनेछ, जतिबेला यसले यथार्थमै आमनागरिकको जीवनस्तर सुधारका निम्ति काम गर्छ।

प्रधानमन्त्री दाहालले आमनागरिकको मन जित्ने गरी काम गर्न थाले भने स्वाभाविक रूपमा उनीप्रतिको विश्वास बढ्न थाल्छ। उनको लचिलो भएर काम गर्न सक्ने क्षमताका कारण सरकारमा समर्थकको पंक्ति पनि ठूलो छ। राम्रो काम हुन थाल्यो भने प्रमुख विपक्ष नेकपा (एमाले) ले पनि उनको धेरै विरोध गर्न सक्ने अवस्था हुँदैन। आखिर सबैजसो दल परीक्षणमा रहिसकेका छन्। सरकारले अहिले गर्ने काम सकारात्मक हुन सक्दा त्यसको प्रभाव आगामी निर्वाचनमा पर्छ। त्यति मात्र होइन, अहिले प्रमुख दलप्रति देखिएको अविश्वासको वातावरण चिर्न पनि मद्दत पुग्छ। मधुमास अवधिमा धेरै गर्न नसके पनि सरकार अब दौडाउन सक्ने अवस्थामा पुगिसकेको छ। मन्त्रिपरिषद्का केही स्थानबाहेक सबै पूर्ण भइसकेका छन्। यसकारण पनि अब सरकारले तीन वटा पक्षमा ध्यान दिनुपर्छ, ती हुन्–काम, काम र काम।

प्रकाशित: २१ चैत्र २०७९ २३:३९ मंगलबार

Download Nagarik App
Download Nagarik App