पछिल्ला केही दिनयता दुईवटा समाचार विश्वव्यापी आकर्षण र चासोमा छन्। सोमबारदेखि ३ दिने भ्रमणमा मस्को पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको औचित्य र यसले पार्ने भूराजनीतिक प्रभावको सेरोफेरो एक प्रमुख विषय बनेको छ। यही अवधिमा भारतको औपचारिक भ्रमण पूरा गरी जापानी प्रधानमन्त्री फुमिओ किसिदाले अकस्मात युक्रेन भ्रमण गरेका छन्। आफ्नो एसियाली प्रतिस्पर्धी राष्ट्र चीनका नेता मस्को भ्रमण गरिरहेका बेला जापानका प्रधानमन्त्रीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेर युक्रेनप्रति ऐक्यबद्धता जनाएका छन्। जेलेन्स्कीले किसिदालाई ‘अन्तर्राष्ट्रिय व्यवस्थाका शक्तिशाली रक्षक’ र ‘युक्रेनका पुराना मित्र’ भनेका छन्।
दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमा र नागासाकीमा आणविक बमले ठुलो मानवीय मूल्य चुकाएको जापानले विश्व मञ्चमा तुलनात्मक रूपमा शान्त र अहस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको छ। तर पछिल्ला दिनमा क्षेत्रीय राजनीतिमा चीनको आक्रमणकारी रबैया रहेको बताउँदै जापानले यसको प्रतिरोधमा आफूलाई उभ्याउने प्रस्ट संकेत गर्दै आएको छ। दोस्रो विश्व युद्धपछि युद्धरत देशमा जापानी प्रधानमन्त्रीले भ्रमण गरेको यो पहिलो पटक हो। भ्रमणमार्फत जापानले चीन र विश्व समुदायलाई प्रतिकात्मक सन्देश दिएको छ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले भने मस्कोमा आफूलाई शान्तिकामी व्यक्तिका रूपमा चित्रित गर्न चाहेका छन्। आफ्नो ३ दिने भ्रमण सम्पन्न गरी बुधबार उनी देश फर्किसकेका छन्। अमेरिकालगायत पश्चिमा राष्ट्रले भ्रमण क्रममा चीनले घातक हातहतियार दिने सम्बन्धमा छलफल र सहमति हुने आशंका व्यक्त गरेको भए पनि यस सम्बन्धमा कुनै सहमति तथा सम्झौता भएको सार्वजनिक भएको छैन। मस्को बसाइका क्रममा राष्ट्रपति सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुई पटक वार्ता गरेका थिए। भ्रमणपश्चात् जारी संयुक्त विज्ञप्तिमा दुवै देशले आफूबीच रहेको रणनीतिक साझेदारीलाई गहिरो पारिने र विशेष गरी आर्थिक सहयोगका क्षेत्रलाई अगाडि बढाउने बताएका छन्। दुई देशबीचको व्यापार, प्रविधि एवम् आपसी सहयोगको क्षेत्रमा एक दर्जन सहमति भएका छन्।
रुसी समाचार संस्था तासका अनुसार चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई चीन भ्रमणको निम्तो दिएका छन्। रुसले युक्रेनमाथि गत वर्ष आक्रमण गरेपछि चिनियाँ राष्ट्रपतिको यो पहिलो मस्को भ्रमण हो।
यो भ्रमणको अर्थ पनि उत्तिकै प्रतीकात्मक छ। ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने रुस र चीनको सम्बन्ध उतारचढावपूर्ण छ। तर पछिल्लो समयमा उनीहरूको अमेरिकालाई हेर्ने दृृष्टिकोण समान छ। पश्चिमा राष्ट्रको सहयोगमा अमेरिकाले नेतृत्व गरेको विश्व व्यवस्थालाई उनीहरूले चुनौती दिन चाहेका छन्।
यही सन्दर्भमा भ्रमणपश्चात् चीनद्वारा जारी वक्तव्यलाई लिन सकिन्छ। वक्तव्यमा भनिएको छ, ‘दुई नेताले आफ्ना सम्बन्ध द्विपक्षीयभन्दा माथि उठेको र यो विश्व व्यवस्था र मानवताको भविष्यका लागि समेत महत्वपूर्ण रहेकोमा जोड दिएका छन्।’ भ्रमण बिट मार्नुअघि राष्ट्रपति सीले पुटिनलाई भनेका छन्, ‘पछिल्ला सय वर्षमा नभएका परिवर्तन अहिले भइरहेका छन्। हामी सँगसँगै हुँदा हामीले यो परिवर्तनलाई दिशानिर्देश गर्न सक्छौं।’
भ्रमणका बेला आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपतिले युक्रेन संकट अन्त्य गर्न गत महिना चीनले प्रस्तुत गरेको १२ बुँदे प्रस्ताव सकारात्मक रहेको बताएका छन्। उनले भनेका छन्, ‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ तर यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।’ उता युक्रेन र पश्चिमा राष्ट्रले भ्रमणले युक्रेन युद्ध अन्त्य गर्ने दिशामा कुनै ठोस निर्णय नगरेको र यो केवल देखाउनका लागि मात्र भएको प्रतिक्रिया दिएका छन्।
यो पृष्ठभूमिमा युक्रेन युद्ध तत्काल अन्त्य नहुने संकेत देखिएको छ। चीनले आफ्नो मध्यस्थतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गराउन सफल भएको छ। त्यही सफलताको आधारमा चीनले हालै युक्रेन युद्ध अन्त्यका लागि १२ बुँदे शान्ति योजना पनि अघि सारेको हो। तर यो योजना कब्जा गरेको युक्रेनी भूमिबाट रुस कसरी पछाडि हट्छ भनेर केही बोलेको छैन। त्यही कारणले यो प्रस्तावलाई युक्रेन र पश्चिमा राष्ट्रले अस्वीकार गर्दै आएका छन्।
चिनियाँ राष्ट्रपतिको भ्रमणलगत्तै युक्रेन आक्रमणलाई रुसले झन् तीव्रता बनाएको छ। शान्तिको नाममा भएको सी–पुटिन शिखर वार्तालगत्तै भएका आक्रमणमा सर्वसाधारण मारिएका समाचार सार्वजनिक भएका छन्। यो दुःखद संकेत हो। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले रुसी राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा दुई देशका नेताबीच भेट भएको छ। यो भेटले यी देशहरू विश्वको भूराजनीतिमा एउटा खेमामा रहेको सन्देश दिन खोजेका छन्।
आपसी सहयोग र सहकार्यमार्फत विश्व समुदाय अगाडि बढ्नुपर्नेमा एकपछि अर्काे द्वन्द्व र अस्थिरता देखिनुलाई शुभ संकेत मान्न सकिन्न। मानव अस्तित्वसँग गाँसिएको जलवायु संकटसँग जुध्न, भोकमरी र मानवीय गरिबीको चुनौतीसँग जुध्न आपसी सहकार्य र समन्वयको खाँचो हुन्छ। विश्व शक्ति राष्ट्रबीचको आपसी द्वन्द्वले यी विषय ओझेलमा पर्ने गरेका छन्। तर बिर्सन नहुने तथ्य के हो भने आपसी सहकार्य र साझेदारीका कारणले मानव सभ्यताले यो सफलता हासिल गरेको हो। यही भावले मात्र मानव सभ्यताको आगामी यात्रा सफल हुन सक्छ।
प्रकाशित: ९ चैत्र २०७९ २३:५६ बिहीबार