४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

कार्बन उत्सर्जनको कहर

गत साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले गत वर्ष अर्थात सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको देखाएको छ। यो उत्सर्जन सन् १९०० यताकै सर्वाधिक हो। वायुमण्डलमा उत्सर्जन हुने कार्बन डाइअक्साइडको सबैभन्दा ठूलो स्रोत हामीले गर्ने खनिज इन्धनको प्रयोग हो। पृथ्वीको सरदर तापमान बढ्नुमा कार्बन डाइअक्साइडको बढ्दो उत्सर्जनलाई प्रमुख कारण मानिन्छ। यो सन्दर्भमा उत्सर्जनको बढोत्तरी चिन्ताको विषय हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत बिहीबार सार्वजनिक गरेको कार्बन डाअक्साइड उत्सर्जनसम्बन्धी प्रतिवेदनका अनुसार सन् २०२२ मा ऊर्जाजन्य कार्बन डाइअक्साइड उत्सर्जनमा ०.९ प्रतिशतले बढोत्तरी भएको छ।

सो वर्ष वायुमण्डलमा ऊर्जाजन्य ३२१ मेगाटन थप कार्बन डाइअक्साइड उत्सर्जन भएको छ। एक पटक उत्सर्जन भएपछि वायुमडलमा सयौँ वर्षसम्म रहने भएकाले यो ग्यासको बढ्दो उत्सर्जनले चुनौती थपेको छ। वैज्ञानिकका अनुसार वायुमण्डलमा उत्सर्जन भएसँगै यो ग्यासले सूर्यका प्रकाशबाट आउने तातोपनालाई सोसेर राख्ने भएकाले तापमान वृद्धि हुन जान्छ। पृथ्वीको तापमान औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधि भन्दा १.१ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको सरदर तापमान वृद्धि १.५ देखि २ डिग्री सेन्टिग्रेडभित्रै राख्न निर्देश गरे पनि यो अवधिमा पृथ्वीको तापमान साढे दुई डिग्री भन्दा बढीले बढ्ने र यो लक्ष्य हासिल गर्न असम्भवप्रायः भएको वैज्ञानिक तर्क छ।

पृथ्वीको तापमान बढेसँगै  विश्वमा जलवायुजन्य प्राकृतिक विपद्का घटना अत्यधिक भएको मानिएको छ। बाढी, पहिरो, तातो हावा तथा जंगली आगो लगायतका घटनाले बर्सेनि ठूलो जनधनको नष्ट हुने गरेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत वर्षको खडेरीका कारण पानीको प्रवाहमा कमी आएकाले जलविद्युत् उत्पादनमा ह्रास आउँदा विद्युत् उत्पादनमा कोइला जस्ता खनिज इन्धनको प्रयोग बढेको थियो। विश्वका विभिन्न स्थानमा तातो हावाको प्रकोप (हिट वेभ)का कारण बिजुुलीको माग ह्वात्तै बढेको थियो। प्रतिवेदनका अनुसार सन् २०२२ मा ऊर्जाजन्य हरितगृह ग्यासको उत्सर्जनमा पनि १ प्रतिशतले वृद्धि भएको छ। पृथ्वीको तापमान वृद्धिका लागि हरित गृह ग्यास उत्तिकै जिम्मेवार मानिन्छ।

प्रतिवेदन अनुसार सन् २०२२ मा कोइलाजन्य उत्सर्जनमा १.६ प्रतिशत र तेलजन्य उत्सर्जनमा २.५ प्रतिशतले बढोत्तरी भएको छ। हरितगृह ग्यासमध्ये एक मानिने मिथेनको उत्सर्जन पनि गत वर्ष झन्डै रेकर्ड कायम भएको एजेन्सीले जनाएको छ। यसैगरी गत वर्ष विश्वव्यापी रूपमा हवाई यातायातको माग बढेका कारण २.५ प्रतिशतले हवाई इन्धनको प्रयोग बढेको थियो। कोभिड–१९ महामारीपछि तंग्रेको विश्वमा हवाई यातायातको माग बढ्दो छ। क्षेत्रीय हिसाबमा एसियाले सर्वाधिक ४.३ प्रतिशत कार्बन उत्सर्जन गरेको छ। विशेषगरी युक्रेन युद्धका कारण एसियामा प्राकृतिक ग्यासको मूल्य बढ्दा कोइलाको प्रयोग अत्यधिक रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ।

यो प्रतिवेदनले केही सकारात्मक संकेत पनि दिएको छ। कार्बन डाइअक्साइड उत्सर्जनमा गत वर्ष रेकर्ड कायम भए पनि नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र चिसो पार्ने हिट पम्प्सको विश्वव्यापी प्रयोगमा आएको बढोत्तरीले कार्बन डाइअक्साइड उत्सर्जनको वृद्धि दरलाई नियन्त्रण गर्न सहयोग गरेको पाइएको छ। स्वच्छ ऊर्जा मानिने वायु तथा सौर्य ऊर्जाको उत्पादन तथा प्रयोगमा गत वर्ष बढोत्तरी हुनु शुभ संकेत मान्न सकिन्छ।

विशेष गरी युक्रेन युद्धका कारण सिर्जित ऊर्जा संकटलाई थेग्न गत वर्ष गत वर्ष युरोपले यसप्रकारको ऊर्जाको अत्यधिक उत्पादन र प्रयोग गरेको पाइएको छ। प्रतिवेदनलाई सार्वजनिक गर्ने क्रममा एजेन्सीका कार्यकारी निर्देशक फतिह बिरोलले स्वच्छ ऊर्जाको प्रयोग नभएको भए कार्बन उत्सर्जन तीन गुणाले बढ्न सक्ने थियो भनेका छन्। उनको यो कथनले विश्वले आगामी दिनमा स्वच्छ ऊर्जालाई आत्मसात गर्नुको विकल्प नरहेको देखाउँछ। विश्वले जलवायु परिवर्तनका लक्ष्य हािसल गर्न कार्बन उत्सर्जन नियन्त्रण गर्न अपरिहार्य बनिसकेको छ।

विश्वका कुनै पनि स्थानमा भएको कार्बन उत्सर्जनले अन्यत्रको विकास र वातावरणमा असर पारेको हुन्छ। विश्वले पछिल्लो ६ दशकमा गरेको आर्थिक प्रगति, यो अवधिमा भएको जनसंख्या वृद्धिले ठूलो वातावरणीय मूल्य चुकाउनुपरेको छ। सन् १९६० यता प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन तीन गुणाले बढेको छ भने यही अवधिमा पृथ्वीको तापमान वृद्धिका लागि कारक मानिने कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन ४ गुणाले बढेको छ। यसमध्ये दुईतिहाइ वृद्धि दर विगत ३ दशकमा भएको छ।

विश्वका सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्ने देशमा अमेरिका, चीन र भारत पर्छन्। यी देशले गर्ने उत्सर्जन विश्वको कुल उत्सर्जनको ५० प्रतिशत हुन जान्छ। विश्वका प्रमुख २० कार्बन उत्सर्जन गर्ने राष्ट्रले कुल कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा लिन्छन्। उत्तरी छिमेकी चीनले पछिल्ला वर्षमा गरेको आर्थिक विकास, गरिबी निवारण र विश्वव्यापी आपूर्ति शृंखलामा भएको एकीकरणले कार्बन उत्सर्जन ह्वात्तै बढाएको छ।

दक्षिणी छिमेकी भारत पनि अत्यधिक कार्बन उत्सर्जन गर्नेमा तेस्रो मुलुकमा पर्छ। यसरी दुई ढुंगाबीचको तरुल भनेर चिनिने नेपाल विश्वकै सबै भन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रको बीचमा छ। यी दुई देशले गर्ने उत्सर्जनले गर्ने प्रत्यक्ष प्रभाव नेपालमाथि परिरहेको छ। हिमनदी पग्लनु, हिमतालहरू बिष्फोटका खतरामा हुनु, सेता हिमाल कालो देखिनु तथा नेपालमा बढ्दै गएको वायु प्रदूषणका लागि कार्बन उत्सर्जनको बढ्दो स्तरलाई कारक मान्न सकिन्छ। यो हिसाबले यी चुनौतीको समाधानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको आवश्यकता रहन्छ।  

प्रकाशित: २४ फाल्गुन २०७९ २३:२९ बुधबार

Download Nagarik App
Download Nagarik App