९ आश्विन २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

क्रिकेटमा अर्थपूर्ण उपलब्धि

उमेर समूहका हरेक खेलकुदमा नेपालले सफलता चुम्ने गरेको छ। नेपाल उमेर समूहमा अब्बल छ भन्ने प्रमाण नेपाली यु १९ टोलीले आइसिसी यु १९ विश्वकपमा स्थान बनाएर दिएको छ। बिहीबार हारको संघारमा पुगे पनि उत्कृष्ट पुनरागनमा घरेलु टोली युएइमाथि ७ रनको रोमाञ्चक जितसहित नेपालले आठ वर्षको खडेरी तोड्दै सन् २०२४ मा श्रीलंकामा हुने आइसिसी यु १९ विश्वकपको टिकट पक्का गर्‍यो।

सीमित स्रोत तथा नामका लागि मात्र गरिने उमेर समूहका क्रिकेट प्रतियोगिताका बाबजुद पनि नेपाली युवा टोलीले आफूलाई प्रमाणित गरेका छन्। त्यसो त सन् २०१६ पछि नेपालले विश्वकप छनोट नखेलेको होइन तर नेपालको यस यात्रामा पटक पटक युएइ नै बाधक बन्दै आएको थियो। युएइको हातमा पुगिसकेको खेललाई नेपालले आफ्नो पक्षमा पार्दै पुनः नेपाली खेल समर्थकका मुहारमा हाँसो ल्याएको छ। यु–१९ टोलीको सफलतामा नायक रहे अलराउन्डर दिपेश कँडेल। उनको ह्याट्रिक विकेटपछि मात्र नेपालले विश्वकप सपना साकार पारेको थियो।

आयोजक श्रीलंकासहित भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड र जिम्बाब्वे गरी कुल ११ टोलीले स्वतः विश्वकपको टिकट काटिसकेका थिए। बाँकी ५ टोलीको टुङ्गो भने विभिन्न क्षेत्रीय छनोट खेलले टुङगो लगाउने थियो। नेपालले आइसिसी विश्वकप एसिया छनोटको विजेताका रूपमा श्रीलंकाको टिकट काटेको हो।

नेपाली यु १९ टोलीले विश्वकपमा स्थान बनाएको यो पहिलो अवसर भने होइन। तर नेपाली क्रिकेट खेलको अविभावक नेपाल क्रिकेट संघ (क्यान) नेतृत्व निरन्तर आन्तरिक विवादमा तानिरहँदा क्रिकेट खेलको गति निकै सुस्ताएको थियो। संक्रमणकालीन अवस्थामा रहेको स्थितिमा युवा टोलीको सफलताले विशेष अर्थ राखेको छ।

नेपालले पछिल्लो पटक सन् २०१६ मा यु १९ खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार विश्वकप खेले पनि २०१० मा भने छनोट हुन सकेको थिएन। २०१२ मा पुनः विश्वकपका लागि छनोट भएको नेपाली युवा टोली चार वर्षको अन्तरपछि २०१६ को विश्वकपमा छनोट भएको थियो। जहाँ नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसयता भने नेपालले छनोट चरण पार गर्न सकेको थिएन। नेपालको सिनियर टोलीले अहिलेसम्म विश्वकप खेलेको छैन। सन् २०१४ मा नेपालले टि २० मा बंगलादेशमा सम्पन्न विश्वकपको प्रारम्भिक चरण खेले पनि एक दिवसीयतर्फ भने अहिलेसम्म विश्वकप खेल्न सकेको छैन।

नेपाली युवा टोलीको यो सफलताले आन्तरिक विवादमा नराम्ररी अल्झिरहेको नेपाली क्रिकेटलाई केही राहत प्रदान गरेको छ। उमेर समूहका प्रतियागिता नै नभैरहेको स्थितिमा क्यान आफैँले भारतीय कम्पनीलाई कमर्सियल पार्टनरका रूपमा साझेदारी गर्दैै गत महिना मात्र नेपाल टि २० लिगको आयोजना गर्‍यो। तर खेल मिलेमतो र बेटिङलगायत अनेक विवादका कारण सो लिग आफैँ छायामा पर्‍यो। जुन प्रतियोगिता नेपाली युवा खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर बन्न सकेन।

कुनै पनि खेलको सफलताका लागि उमेर समूह बलियो हुनु राम्रो मानिन्छ। तर नेपालको हकमा भने त्यो लागु भएको पाइँदैन। उमेर समूहमा लगातार सफलता निकाले पनि क्यान गम्भीर बन्दा सीमित मात्रामा हुने घरेलु प्रतियोगिता यी युवा खेलाडीलाई स्वाभाविक लय कायम राख्न पर्याप्त नहुन सक्छ। सीमित खेलाडीले मात्र सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउने गरेका छन्। क्यान आफैं जिम्मेवार हुने हो र यी युवा खेलाडीलाई समेत निरन्तर बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने हो भने सधैं सुखद नतिजाको आशा राख्न सकिन्छ।

अन्य राष्ट्रका खेलाडीहरू उमेर समूहमा प्राप्त गरेको सफलतासँगै व्यावसायिकतामा प्रवेश गर्छन्। त्यहाँ आयोजना हुने विभिन्न फ्रेन्चाइज लिग ती खेलाडीहरूका लागि आफ्नो स्वाभाविक लय कायम राख्नुका साथै आफूलाई थप निखार्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्नका लागि सबै भन्दा राम्रो माध्यम बनिरहेको छ।

तर नेपालको हकमा भने खेलाडीलाई व्यावासायिक बन्न निकेै कठिन छ। यहाँ आयोजना हुने सीमित प्रतियोगिताको भरमा उनीहरूलाई आफ्नो लय कायम राख्न निकै कठिन हुने गरेको छ। अझ खेलाडीमाथि व्यक्तिगत रिस साँध्न प्रयोग हुने राजनीतिक खिचातानीले यी खेलाडीमा थप नैराश्यता पैदा गर्ने गरेको छ। यस प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सक्षम छु है भन्ने प्रमाणित गरिसकेका छन्। प्रदेश एक छनोटमै नपरेका दीपेश अन्ततः नेपालको विश्वकप यात्रामा नायक सावित भए। त्यस्तै ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीका साथै कप्तान देव खनालले अब्बल प्रदर्शन गरे।

कप्तान देवका लागि सिनियर राष्ट्रिय टोलीमा फर्कँदै विगतको लय फर्काउनका लागि पनि आइसिसी विश्वकप एसिया छनोट कोशे ढुङ्गा सावित हुन सक्छ। देव स्वयंले भनेका छन्, ‘पछिल्लो ६–७ महिना म एउटै घटनामा मुछिएँ, जसले मेरो खेललाई प्रत्यक्ष असर गर्‍यो। तर यस प्रतियोगितामा गरेको प्रदर्शन र सफलताले मेरो पनि हौसला बढेको छ। हामीले आफूलाई प्रमाणित गरेका छौँ। यो सारा नेपालकै सफलता हो। हामी यो यात्रा आगामी दिनमा थप अघि बढाउँदै थप सफलता हासिल गर्नेमा आशावादी छौँ।’

नेपालले १६ राष्ट्र सम्मिलित यु १९ विश्वकपमा आफ्नो चुनौती प्र्रस्तुत गर्न अब करिब एक वर्षको समय बाँकी छ। क्यान जिम्मेवार बन्ने हो र विश्वकप लक्षित गर्दै बन्द प्रशिक्षणका साथै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू खेलाउने हो भने नेपाली युवा टोलीबाट धेरै आशा राख्न सकिन्छ। बधाई तथा शुभकामना नेपाल यु–१९ क्रिकेट टोलीलाई।

प्रकाशित: २० फाल्गुन २०७९ २३:२६ शनिबार

Download Nagarik App
Download Nagarik App