१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

खेलभित्रको झेल

खेलको विशेषता हो ‘नियम र अनुशासन’। जब खेलभित्र यी पक्ष लागु हुँदैनन्, त्यसलाई ‘फेयर प्ले’ मानिँदैन। प्रतिस्पर्धा चलिरहँदा त खेल-निर्णायकले नै त्यसलाई ‘फउल’ को संज्ञा दिन्छन्। यो खेलभित्रको नियमन पक्ष हो। निर्णायकको अधीनमा नै नरहने अर्को ‘फउल’ पनि छ, त्यो हो म्याच फिक्सिङ, जसले खेलको नतिजालाई प्रत्यक्ष प्रभाव पार्छ। नेपालमा यो घटना २०७२ सालमा नै घटिसकेको हो। त्यतिबेला नेपालका फुटबल खेलाडीमाथि यी आरोप लागेका थिए। तर, पछिल्लोपटक व्यावसायिक खेलमा पनि यो दाग फेरि दोहोरिएको छ। त्यो पनि देशभित्र नै आयोजना भएको प्रतिस्पर्धामा। गत पुस २७ गते सम्पन्न व्यावसायिक क्रिकेट ‘नेपाल टी–२० लिग’मार्फत फेरि खेलभित्रको अपराध दोहोरिन पुग्यो। लिगमा सहभागी विदेशी खेलाडी र नेपाली खेलाडीमाथि ‘स्पट फिक्सिङ’को आरोप लाग्यो। ‘स्पट फिक्सिङ’ले खेलको नतिजामा फरक त पार्दैन तर यो पनि खेलभित्रको अपराध नै हो। यस्तो अपराध नेपाल टी–२० लिगमा विदेशी र नेपाली खेलाडीले गरे।  

खेल चलिरहँदा नै ‘स्पट फिक्सिङ’ को आशंका गरिएको थियो। प्रतियोगिता सुरु भएदेखि नै नेपालको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्यहाँ निगरानी राखेको थियो। तैपनि ती घटना घटे। यद्यपि, यो आरोप प्रमाणित हुन भने बाँकी नै छ।

सोमबार सिआइबीले नेपाल टी–२० क्रिकेट लिग मिलेमतोमा संलग्न रहेको आरोपमा दुई क्रिकेटरलाई पक्राउ गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर एवम् कीर्तिमानी क्रिकेटर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारी पक्राउ परेका हुन्। मेहबुब एकै खेलमा १० विकेट लिने कीर्तिमानी क्रिकेटर हुन् भने आदिल नेपाली क्रिकेटमा सम्भावना बोकेका उदीयमान क्रिकेटर हुन्। नेपाली क्रिकेटका भेट्रान र युवा क्रिकेटरले नै यो आरोपको सामना गरेका छन्। अभैm अन्य नेपाली क्रिकेटर पनि पक्राउ पर्ने सम्भावना रहेको सिआइबीको संकेत छ। लिगको कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोटर््स हो, जसलाई नेपाल क्रिकेट संघ (क्यान) ले आठ वर्षका लागि ३३ करोड रूपैयाँमा व्यावसायिक साझेदारी बेचेको थियो। सिआइबीकै अनुसन्धानले सेभेन थ्री स्पोर्ट्सको भूमिकासमेत शंकास्पद रहेको देखाएको छ। प्रतियोगिताअघि नै सेभेन थ्री स्पोटर््सलाई बेटिङ कम्पनी रहेको आरोप लागेको थियो। तर, क्यानले उसलाई नेपाली क्रिकेटमा भिœयायो, जसको परिणामस्वरूप ठूलो क्षति हुने देखिएको छ।

नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन नसकिरहेका बेला ‘फिक्सिङ’को घटना दोहोरिनुले खेलकुदको भविष्यमाथि नै प्रश्न उठेको छ। पहिलोपटक २०७२ असोज २७ गते नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ६ खेलाडीमाथि म्याच फिक्सिङको आरोप लाग्दा यससम्बन्धी स्पष्ट कानुन थिएन। त्यसैले फुटबलरमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाइयो। तर, २०७५ जेठ २४ गते विशेष अदालतले राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसला गर्दै उनीहरूलाई सफाइ दियो। यद्यपि, अहिले खेल मिलेमतोबारे स्पष्ट कानुन छ। ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७५’ले मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ। ऐनको दफा ३२ को उपदफा ‘ग’ मा नेपाल वा विदेशमा खेल मिलेमतो गरेमा तीन वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। फिक्सिङमा लेनदेन भएको रकम सबै जफत हुने पनि ऐनमा स्पष्ट उल्लेख छ। तर, कानुन नै भए पनि फिक्सिङका घटना रोकिएनन्। त्यो पनि भर्खर सुरुआत हुन थालेको व्यावसायिक खेलमा यस्तो घटना हुँदा यसले नेपालको खेलकुद विकासमा मात्र असर गर्दैन, खेलमा भविष्य देखेका अभिभावकलाई आफ्ना सन्तानको भविष्यले पनि झस्काउने छ। स्पष्ट कानुन भएर मात्र हुँदैन। त्यसबारे खेलाडीलाई सजक गराउन पनि उत्तिकै आवश्यक छ भन्ने यो घटनाले देखाएको छ। अझ भनौं उनीहरूलाई केही रकमको प्रलोभनमा पर्ने वातावरण नै सिर्जना हुन दिनु हुँदैन।

विश्वमा यससम्बन्धी घटना सन् १९१९ मा नै सार्वजनिक भएको थियो। अमेरिकाको मेजर लिग बेसबलमा सिकागो ह्वाइट सक्स टिमले म्याच फिक्सिङ अर्थात् खेल मिलेमतो गरेका थिए। नेपालमा भने यो घटना धेरैपछि सार्वजनिक भयो। नेपालको घरेलु फुटबलमा पनि खेल मिलेमतो हुने चर्चा चल्थ्यो। तर, त्यो प्रमाणित हुन भने सकेको थिएन। राष्ट्रिय फुटबल टोलीकै खेलाडीमाथि आरोपसहित पहिलोपटक २०७२ सालमा त्यो घटना सार्वजनिक भएको थियो। तर, पछि उनीहरूले सफाइ पाए। यद्यपि, विश्व फुटबल महासंघ (फिफा)ले भने उनीहरूमाथिको आजीवन प्रतिबन्ध यथावत राखेको छ। जुन प्रतिबन्ध अहिले क्रिकेटरले पनि सामना गर्नुपर्ने हुन सक्छ। आरोप प्रमाणित भएमा नेपाली क्रिकेटले कीर्तिमानी र प्रतिभावान् युवा खेलाडीलाई गुमाउने छ।

नेपाली क्रिकेटले जन्माएको ग्लोबल स्टार ‘सन्दीप लामिछाने’माथिको मुद्दा किनार नलाग्दै फेरि नेपालकै क्रिकेटलाई अर्को दाग लागेको छ। यसले एसोसिएट राष्ट्रमा राम्रो छवि बनाएको नेपालको क्रिकेटलाई लज्जित बनाउने छ। जसरी फुटबलमा कहिल्यै नमेटिनेगरी म्याच फिक्सिङको दाग लागेको छ, त्यसैगरी क्रिकेटमा पनि यही रोग दोहोरिएको छ। जुन नेपाली खेलकुदका लागि दुःखद पक्ष हो। यो अवस्थामा फिक्सिङ या खेल मिलेमतोविरुद्धको कानुन बनाएर मात्र यो अपराधको शृंखला रोकिने छैन। बरु, आगामी दिनमा नेपाली खेलकुदका कार्यकारी निकायले खेलाडीलाई काउन्सिलिङ गर्न आवश्यक छ। साथै राज्यले उनीहरूका लागि खेलेर नै बाँच्ने आधार बनाउँदै उनीहरूको पेसालाई सम्मानित बनाउने वातावरण निर्माण गर्नुपर्छ। तब मात्र खेलभित्र रहेका ‘खराब पक्ष’ रोकिएलान्। तत्पश्चात् अभिभावकले पनि आफ्ना बालबालिकालाई खेलमा लाग्ने प्रेरणा दिने छन्। नेपाली खेलकुदले अझै धेरै प्रतिभावान् खेलाडी पाउने छ। त्यो अवस्थामा नेपाली खेलकुद पनि विश्वमा उदीयमान हुने सम्भावना रहने छ। 

प्रकाशित: १० माघ २०७९ ००:२३ मंगलबार

Download Nagarik App
Download Nagarik App