coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

दुर्घटनाको असर

पोखरामा माघ १ गते यती एयरलायन्सको विमान दुर्घटना भयो। यसमा सवार १५ विदेशीसहित ७२ जनाको ज्यान गयो। जसमा ४ जना एयरलायन्सकै कर्मचारी थिए। यो दुर्घटनाबारे छानबिन गर्ने, बिमालगायतका अन्य प्रक्रिया अघि बढिसकेका छन्। के कारणले दुर्घटना भयो र यस्ता घटना नदोहोेरियोस् भन्नका लागि आगामी दिनमा के गर्नुपर्छ भन्ने सुझाव आयोगले पक्कै दिनेछ।

घटना यही हो तर यो घटनाको असर पोखराको पर्यटन व्यवसायमा परेको छ। पर्यटकीय सहर पोखराका होटलमा अहिले धमाधम बुकिङ समेत रद्द भइरहेका छन् भने पछिल्ला कार्यक्रमका लागि पनि बुकिङ नहुने र सोधखोज पनि नगर्ने क्रम बढेको छ। पर्यटन व्यवसायीले दिएका जानकारी अनुसार उसै पनि यो पर्यटकका लागि उचित मौसम होइन तर यहीबीचमा भएको दुर्घटनाले फाट्टफुट्ट धानिएको व्यवसाय पनि चौपट हुने स्थितिमा पुगेको छ।

विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन। अझ नेपाल जस्तो अविकसित देशमा मात्र हैन, सम्पन्न र धनाढ्य मुलुकमा समेत बेलाबेलामा विमान दुर्घटना भइरहन्छ। त्यसैले दुर्घटनाले धनी-गरिब, सम्म-पहाड, विकसित-अविकसित केही भन्दैन। फरक यत्ति हो सावधानी जति अपनाइयो वा सतर्क जति भइयो, दुर्घटनाको सम्भावना त्यति नै कमसम्म हुने हो।

दुर्घटना भइसकेपछि स्वाभाविक रूपमा यसको प्रचार हुन्छ। त्यसले नकारात्मक प्रभाव पार्नु स्वाभाविक हो। त्यस्तो दुर्घटनाका कारकबारे पनि चर्चा हुन्छ। यस्तो चर्चा भएन भने भविश्यमा यस्ता घटना दोहोरिन सक्छन्। नेपालको हवाई उड्डयन क्षेत्र असुरक्षित भएको सन्देश यसअघिका दोहोरिइरहने दुर्घटनाले दिएका छन्। हवाई दुर्घटना कम गर्न यान्त्रिक मात्र होइन नीतिगत र संस्थागत व्यवस्था पनि दुरुस्त हुनु पर्छ। हामीकहाँ नागरिक उड्डयन र अनुगमनलाई छुट्याउन नसक्दा समस्या आइरहेको छ। नेपाल युरोपेली संघको कालो सूचीमा पर्नुको मुख्य कारण यो पनि हो।

हवाई दुर्घटनाको असर प्रत्यक्ष रूपमा पोखराका पर्यटन व्यवसायीले भोग्नुपरेको छ। परोक्ष रूपमा यसको मार पर्यटन क्षेत्र हुँदै सिङ्गो नेपाली अर्थतन्त्रमा पर्ने निश्चित छ। आन्तरिक उडानतर्फको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटनाप्रति गम्भीर हुनु आवश्यक छ। त्यो गम्भीरताका निम्ति सञ्चार माध्यमले गराएको ध्यानाकर्षणलाई मनन् गर्नु पर्छ। भविश्यमा यस्ता दुर्घटना नहुने गरी नेपालले नीतिगत व्यवस्था गर्नतिर लाग्नुको विकल्प छैन। आजको विश्व व्यवस्थामा सबै मुलुक र घटना जोडिएका छन्। नेपालमा भएको यो घटनाले नेपाललाई मात्र प्रभाव पार्दैन। यसको विश्वव्यापी असर हुन्छ।

दुर्घटना नहुनु पर्थ्यो, भइहाल्यो। छानबिन र राहत, बिमा लगायतका प्रशासनिक कार्य चाँडो र झन्झटरहित तवरले टुंगिने गरी कारबाही अघि बढाउनुपर्छ। पीडितले कतैबाट पनि थप पीडा भोग्नुपर्ने अवस्था कदापि सिर्जना गरिनु हुन्न। यसबाहेक पनि सरकारले गर्नुपर्ने काम बाँकी छन्। जस्तो-बाटो विस्तारका नाममा पोखरा जाने सडक अवरुद्ध हुने थालेको र यही कारण त्यहाँ पुग्न निकै समय लाग्न थालेको धेरै समय बितिसकेको छ। त्यसैले पोखरा पुग्न ढिलाइ नहुने गरी बाटोको व्यवस्थापन गरिहाल्नुपर्छ। नेपालमा व्याप्त ‘ढिलासुस्ती’ को कारण पहिचान गरी तत्काल प्रभावकारी उपचार आवश्यक छ।

दोस्रो र महत्त्वपूर्ण कुरा, यो दुर्घटना अरू दुर्घटना जस्तै भएकाले त्यही रूपमा बुझिदिन सर्वसाधारणलाई बुझाउन सक्नुपर्छ। ताजा भएकाले दुर्घटनाका कारण धेरै मानिसको दिमागमा त्यहाँका दृश्य आइरहने र केही समय विमानको यात्रा गर्न डर लाग्ने हुन सक्छ। यो मानवीय स्वभाव पनि हो तर यसबाट बिस्तारै अन्यत्र ध्यान मोड्ने प्रयास पनि उत्तिकै जरुरी छ। त्यसैले नेपाली आकास सुरक्षित रहेको प्रत्याभूत गर्ने गरी प्रयास अगाडि बढाउनु उचित हुन्छ। यस्ता दुर्घटना हुनै नसकून भनेर विचार गर्ने हो। उड्डयन क्षेत्रलाई व्यवस्थित बनाउन नसकिने छैन। केही खास कम्पनीकै विमान किन धेरै दुर्घटना भइरहेका छन्? यो विचारणीय पक्ष हो। त्यसमा गम्भीर जाँच गरिएन भने सत्यतथ्यमा पुगिँदैन।

दुर्घटना यसअघि पनि भएका थिए। र, छानबिन समिति पनि बनेका थिए। त्यस्ता छानबिन समितिले के सुझाव दिए र ती कार्यान्वयनमा आए कि आएनन् भन्ने जानकारी आजका मितिसम्म सर्वसाधारणले पाउन सकेका छैनन्। यही कारण पनि यस्ता दुर्घटना भएपिच्छे सर्वसाधारण सरकारसँग आक्रोशित हुने गर्छन्। पोखरामा भएको विमान दुर्घटनापछि पनि जनताको आक्रोश यसैगरी पोखिएको त्यतिबेलाका सामाजिक सञ्जालका प्रस्तुति हेर्दा पत्तो लाग्छ। यी यावत् विषयलाई मनन गरी आगामी पाइला चाल्न सकियो भने बल्ल जनमानसमा विश्वास अभिवृद्धि हुन्छ भने विमान र पर्यटन दुवै व्यवसाय पनि चौपट हुनबाट जोगिन्छन्।

दुर्घटना हुन सक्छन्, तर त्यसबाट नसिक्ने मुलुकले फेरि पनि त्यस्तै अवस्थाबाट गुज्रिनु पर्ने हुन्छ। कैयन मुलुकले यस्ता घटनाबाट आफूलाई अगाडि बढाएका छन्। तिनले गल्ती नदोहोर्‍याउने प्रयास गरेकै कारण हवाई सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन सकेका हुन्। यसो गर्न सकेमा अहिले अर्थतन्त्रमा देखिएको असरलाई कम गर्न सहज हुन्छ। 

प्रकाशित: ७ माघ २०७९ २३:४८ शनिबार

Download Nagarik App
Download Nagarik App