अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन। जब यस्तो बालीको महत्त्व उपभोक्तालाई थाहा हुन्छ त्यतिबेला यसको माग बढ्न थाल्छ। कतिपय यस्ता बालीबाट बनेका परिकार खानुपर्ने धारणा सार्वजनिक भएपछि पनि माग बढ्न थाल्छ। स्वस्थ रहन स्थानीय स्तरमा उत्पादन भएका अनाज उपभोग गर्नुपर्छ भन्ने मान्यता बढ्दै गएको छ। आजकल जुनेलोको बजार निकै बढेको छ।
यसका परिकार खानुपर्छ भन्ने मान्यता बढेको छ। जुनेलोलाई धेरैले चिन्दैनन्। जब यसलाई ‘किन्वा’ भनेर सोध्ने हो भने तारे होटलमा समेत परिकार पाउन सकिन्छ। यसबाट बुझिन्छ, हामीले हेपेका कैयन् अनाजले नयाँ ढंगबाट आफ्नो बजारीकरण गरिरहेका छन्। उपभोक्ताले पनि महँगोमा यस्ता खाद्य पदार्थ खोजीखोजी खान थालेका छन्।
जुम्लाको रैथाने बाली कागुनो पनि अहिले यस्तै लोकप्रिय भएको छ। यसको उत्पादन कम हुन्छ। उपभोग गर्नेहरू बढेपछि यसको माग पनि बढेको छ। माग धेरै छ, आपूर्ति कम हुन्छ। कागुनोको चामल काठमाडौँ, पोखरा, कपिलवस्तुसम्म पुर्याएका स्थानीय उत्पादकहरू मागबमोजिम आपूर्ति गर्न नसकेको बताउन थालेका छन्। वास्तवमा यस्ता चाँडै बिक्री हुने रैथाने बाली लगाउन कृषि विकास कार्यालयले स्थानीयस्तरमा प्रोत्साहित गर्नुपर्छ। त्यसो भयो भने किसानको आम्दानी बढ्छ। उपभोग गर्ने सर्वसाधारणको स्वास्थ्यमा पनि सुधार आउँछ।
कतिपय रैथाने बालीप्रति हाम्रो समाजमा सम्मानसमेत छैन। गुणकारी कोदो बालीलाई हेर्ने दृष्टिकोण पनि यस्तै थियो विगतमा। विगतमा कोदो नेपाली बारीमा निकै फल्थ्यो। तुलनात्मक रूपमा कम मेहनत लाग्ने र रुखासुखा जमिनमा पनि सजिलै फल्ने कोदो पोषिलो पनि उत्तिकै हुन्छ। नेपाली समाजमा जसरी पनि भात खानुपर्छ भन्ने मान्यता स्थापित हुँदै जाँदा कोदोको ढिडो र रोटी आमउपभोगबाट क्रमशः हट्दै गएको छ। आजको दिनमा कोदोका परिकार रेस्टुरेन्टको महँगो मेनुमा पुगेको छ। धनीमानी व्यक्तिले खाने परिकार पो बनेको छ अहिले। तर, यसलाई आमउपभोगको वस्तु बनाइरहने हो भने हामीलाई आन्तरिक उत्पादनले सजिलै पुग्छ। यसका साथै पोषणका हिसाबले पनि यसबाट सर्वसाधारण लाभान्वित हुन सक्छन्।
कोदोको महत्त्व बुझेकै कारण संयुक्त राष्ट्र संघले यो वर्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरिसकेको छ। भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा कोदोजन्य वर्ष घोषणा भएको हो। त्यसैअनुरूप नेपालले समेत यससम्बन्धी कार्यक्रमको थालनी गरिसकेको छ। कोदोजन्य बालीमा चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छन्। यी उस्तै खालका अन्न बालीको पोषणका हिसाबले ठूलो योगदान छ। पहिले पहिले पहाडमा धान कम हुने अवस्थामा समेत यस्तै अन्न बालीको प्रयोग गरेर सर्वसाधारणले आफूलाई बचाउँदै आएका हुन्। लामो समयसम्म नकुहिने र नबिग्रने भएका कारण कोदोलाई खाद्य सुरक्षाका हिसाबले पनि उत्पादन र भण्डारण गर्न ध्यान दिनुपर्ने राय विज्ञहरूको छ। कोदो खेती तराईदेखि उच्च पहाडी क्षेत्रसम्म गर्न सकिने भएका कारण पनि यो धेरै हिसाबले हाम्रो मुलुकका निम्ति अनुकूल बाली हो।
हाम्रो जस्तो मुलुकले बाली विविधता र खाद्य सुरक्षाका हिसाबले पनि रैथाने खाद्यान्नमा जोड दिनुपर्छ। चामलको बजारीकरण उच्च छ। खासगरी छिमेकी मुलुक भारतमा उत्पादन भएको चामल नेपालमा आयात गरेर खाने गरिएको छ। विगतमा स्वदेशी धानकै उत्पादन बढी थियो। त्यसलाई निर्यातसमेत गर्ने गरिएको हो। हामीकहाँ अहिले पनि धान उत्पादन हुन्छ। तर, किसानले धान भित्र्याउने बेलामा राम्रो मूल्य पाउँदैनन्। वर्षभरि खानका निम्ति आयातित महँगो चामल खाने गरी बजार संयन्त्र सिर्जना गरिएको छ। अहिले प्रदेश र स्थानीय सरकार पनि छन्। तिनले सकेसम्म रैथाने बालीलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने हो भने भोकमरीसँग लड्न सजिलो हुनेछ। स्वास्थ्यका दृष्टिले पनि चामल मात्र खानुभन्दा यस्ता अन्नबालीमा ध्यान दिन सर्वसाधारणलाई सजग बनाउन सकिन्छ।
चामल बोकाएर उच्च पहाडी भेगमा समेत पुर्याउनुभन्दा त्यहीँ उत्पादन हुने यस्ता खाद्यान्न बालीमा जोड दिनु उचित हुन्छ। यसले भौगोलिक वातावरणअनुसार नै उत्पादन भएका खाद्यान्नको उपभोग गर्दा सर्वसाधारणलाई सहज हुन्छ। तिनको स्वास्थ्य मात्र राम्रो हुँदैन, आर्थिक रूपमा समेत तिनले आफूलाई सक्षम पाउन सक्छन्। विडम्बना, आज मुलुकमा युवा जनशक्तिकै अभाव हुन थालेको छ। अधिकांश वैदेशिक रोजगारीमा जान चाहन्छन्। हाम्रा खेतबारी बाझा हुन थालेका छन्। त्यसैले मानव स्रोतको व्यवस्थापनमा पनि सरकारको ध्यान जान ढिला भइसकेको छ। स्थानीय स्तरमा रैथाने बाली उत्पादन गरी बजारमा सहजै बिक्री गर्न सकिन्छ। यसले युवाहरूलाई राम्रो आम्दानी पनि हुन्छ। यसकारण बजारलाई हेरेर यी बालीको उत्पादनमा लाग्नु उचित हुन्छ।
यस्ता खाद्य वस्तुप्रति सचेत उपभोक्ताको माग बढ्दै गएको स्थितिलाई ध्यानमा राखेर अब काम गर्ने बेला भइसकेको छ। कोसेलीका रूपमा मात्र यताउता पठाइने यी खाद्यान्न दैनिक उपभोगका निम्ति उपयुक्त हुन्छन्। यसले मुलुकको समग्र पोषण स्थितिमा मात्र सुधार गर्दैन, खाद्य सुरक्षाका हिसाबले पनि मुलुकलाई बलियो बनाउँछ। यिनको बिउ जोगाउने र उत्पादन विस्तार गर्नेतिर पनि ध्यान जानु उचित हुन्छ। हेर्दा सामान्य जस्ता लाग्ने यी बालीको असामान्य प्रभाव अर्थतन्त्रदेखि जनस्वास्थ्यसम्ममा हुन्छ।
प्रकाशित: २८ पुस २०७९ ००:३२ बिहीबार