१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा ‘तेस्रो दाइँ महोत्सव’ हुँदै, ५० विदेशी पर्यटकले टिपाए नाम

पोखरामा आउँदो शनिबार ‘तेस्रो दाइँ महोत्सव-२०८३’ आयोजना हुने भएको छ।

पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यही माघ १२ गते शनिबार महोत्सव हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

कृषि र पर्यटनलाई जोड्ने उद्देश्यले पोखरा-२९ नौबिसे सिसुवामा महोत्सव गर्न लागिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिए।

महोत्सव हुने स्थल रोपाइँ महोत्सव भएकै स्थान नजिक रहेको छ। परिषद्ले प्रत्येक वर्ष असार १५ मा रोपाइँ महोत्सव पनि आयोजना गर्दै आएको छ।

शनिबार बिहान ९ बजेदेखि सुरु हुने महोत्सवमा धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य हुनेछ। महोत्सवमा चार हल गोरुले दाइँ हालिने र १७ जना दँदेराहरूले गोरु धपाउने, दँदेरा लगाउने, पराल बाँध्ने तथा परालको कुनियो लगाउनेलगायतका कार्य गर्ने अध्यक्ष भुजेलले बताए।

परम्परागत दाइँको झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने उनले जानकारी दिए।

महोत्सवमा स्वदेशीसँगै विदेशी पर्यटक पनि सहभागी गराइने कार्यक्रम संयोजक हरिराम अधिकारीले बताए। उनका अनुसार हालसम्म ५० जना विदेशी पर्यटकले सहभागी हुन नाम टिपाइसकेका छन्।

नाम टिपाउने क्रम अझै जारी रहेकाले पर्यटकको संख्या बढ्ने उनको अनुमान छ। महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीदेखि सर्वसाधारणसम्म सहभागी हुने उनले जानकारी दिए।

मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा दँदेरा लगाउने, गुन्द्री बुन्ने, लठ्ठो तान्नेलगायतका प्रतियोगितासमेत हुने संयोजक अधिकारीले बताए।

प्रतियोगिताका विजेता तथा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई समेत पुरस्कृत गरिने उनको भनाइ छ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लोपोन्मुख अवस्थामा पुगेको गोरुले दाइँ गर्ने परम्परा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए। ‘किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्ने उद्देश्य हो हाम्रो,’ उनले भने।

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले दाइँ महोत्सवमार्फत परम्परागत कृषि प्रणालीमा जोड दिँदै गोरु पाल्न किसानलाई प्रोत्साहित गरिएको बताए।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोड्दै समृद्धि हासिल गर्न सकिने उल्लेख गरे।

जति धेरै इभेन्ट गर्‍यो त्यति नै पर्यटक बढ्ने बताउँदै उनले भने, ‘सडक महोत्सव हेर्न जसरी क्यालेन्डर बनाएरै पर्यटक आउँछन्, त्यसरी नै दाइँ महोत्सव हेर्न पनि आउने बनाउनुपर्छ र त्यो सम्भव छ। ’

प्रकाशित: १० मंसिर २०८३ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App