२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

विश्व बैंकको ३४ करोड लगानीमा बन्यो शिशुवा–खुदीखोला सडक

विश्व बैंकको सहयोगमा बनेको शिशुवा–खुदी सडक। तस्बिरः नागरिक

शिशुवा शिसाघाटसम्म सडक खण्ड अन्तर्गतको पोखरा महानगरपालिका–३० शिशुवा–खुदीखोला सडक निर्मांण पुरा भएको छ। शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत यो सडक निर्माण गरिएको हो।  

उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन्। सडक उद्घाटन गर्दै नगर प्रमुख आचार्यले विकास साझेदारको लगानी र परियोजना सञ्चालनका लागि पोखरा सहर प्राथमिकतामा रहेको बताए। ‘जे जति पनि विकास साझेदार नेपालमा कार्यरत छन्, तीमध्ये सबैजसो पोखरा आएका छन्,’ नगर प्रमुख आचार्यले भने, ‘यो सडक साना दुखले बनेको चिज होइन। यो आजको भोली भएको पनि होईन।’  

पोखरामा हाल ३३ अर्ब रुपैयाँका विभिन्न परियोजना सञ्चालन रहेको उनले बताए। शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैंककै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा रहेको उनले बताए। तालचोक–बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति भने मेयर आचार्यले चिन्ता जनाए।  

आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य ढिला भईरहेको पनि उनले बताए। उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन समेत उनको आग्रह थियो।  

निर्माण सम्पन्न भएका सडक आयोजनाका इन्जिनियर नवीन गौतमका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो। विश्व बैंकको ३४ करोड ११ लाख २० हजार रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो। सडक नालीसहित १५ मिटरको दोहोर लेन सहितको छ। त्यससँगै १.५ मिटर साइकल ट्रयाक र २.५ मिटर फुटट्रयाक पनि रहेको छ।

सडक उद्घाटनका क्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा उत्कृष्ट भएको बताए। पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानमा हातेमालो गर्न तयार रहेको उनले बताए। ऐतिहासिक मार्गका रुपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रुपमा निर्माण भएको उनले बताए।  

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पोखरा महानगरपालिका नागरिकको अपेक्षा अनुसार पहुँचका पूर्वाधार निर्माणमा लागिरहेको बताए। पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तको आधारमा अगाडी बढेको बताए।  

प्रकाशित: ११ वैशाख २०८३ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App