२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

साकेलाले खोल्यो बाँसकला उद्योग

खोटाङको साकेला गाउँपालिकाले ‘बाँसकला सम्बन्धी उद्योग’ स्थापना गरेको छ । स्थानीय स्रोत साधनको प्रयोग गर्दै गाउँघरमे बसेर समृद्धि हात पार्ने योजना अनुसार बाँस कला उद्योग स्थापना गरिएको हो ।  

‘गरिबी निवारणका लागि लद्यु उद्यम कार्यक्रम (मेडपा)’ अन्तर्गत बुधबार स्थापना गरिएको उद्योगको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले मेसिन सञ्चालन गरेर औपचारिक रुपमा उद्घाटन गरे । गाउँघरमै पाइने बाँसजन्य वनस्पतिको उपयोग गर्दै र सीपको प्रयोगमार्फत रोजगारी सृजना गर्ने तथा आयआर्जन गरेर आत्मनिर्भर बन्न उद्योग स्थपना गरिएको अध्यक्ष राईले बताए ।  

समृद्ध गाउँपालिका निर्माण गर्न स्थापित उद्योगले स्थानीयको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उद्योग स्थापना उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले गाउँपालिकाभित्र सञ्चालनमा ल्याइएको उद्यम र उद्योगहरूले युवा पुस्तालाई स्वदेशमै रोजगारी दिने वातावरण बन्ने अपेक्षा गरे ।  

अध्यक्ष राईले बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतीमा महत्वपूर्ण टेवा पुर्‍याउने उल्लेख गर्दै यसबाट स्थानीय युवालाई सीपमूलक तालिम प्रदान गरि बाँसका विविध उपयोगी सामग्री उत्पादन गरेर बजार विस्तारमा सहयोग गर्ने बताए । बाँसको नमूना सामग्री तयार गरेर स्थानीय प्रयोगमा ल्याउनुका साथै अन्यत्र बजारीकरण गर्न सके गाउँमा आमदानीको स्रोत बृद्धि हुने अध्यक्ष राईको भनाई थियो ।  

यस्ता उद्योगले गाउँघरमा जताततै पाइने बाँसको सीपमार्फत उपयोग गर्दै नागरिकलाई आम्दानीको आधार बनाउन सकिने तथा स्थनीयबासीलाई सिर्जनसिल र आत्मनिर्भर बनाउन मद्धत गर्ने उनले बताए । रोजगारी र आत्मनिर्भरको जग बसाउन सके मात्र पनि समृद्धि र आर्थिक अवस्थामा परिवर्तन सम्भव हुने अध्यक्ष राईले बताए ।  

‘सीप र सृजनालाई विश्वासमा रूपान्तरण गर्नसक्ने व्यक्ति र समुदायले जीवनस्तर माथि उठाउन सक्छन्’ अध्यक्ष राईले भने ‘यस्तो पेशा गर्न बाध्यताले होइन, भित्री चाहना र इच्छा शक्ति जगाएर लाग्नुपर्छ ।’ रहर र इच्छाले गरेको कामले मात्र स्थायित्व र समृद्धि ल्याउँने अध्यक्ष राईको विश्वास थियो ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सम्पन्न उद्योग स्थापना कार्यक्रममा वडा नं. २ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राई, ३ का वडाध्यक्ष गोविन्द तामाङलगायत जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय मात्तिमबिर्ता प्रमुख नायव निरीक्षक फाईदलसिंह लिम्बूको सहभागिता थियो ।  

गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङ राईका अनुसार बाँसकला उद्योग स्थापना गर्न अघिल्लो वर्षदेखि नै तयारी थालिएको थियो । त्यसका लागि गत आर्थिकवर्षमा बाँसकलासम्बन्धी तालिम सञ्चालन गरेको तथा चालु वर्षका लागि बजेट विनियोजनसमेत भएको छ । सो तालिममा सहभागी स्थानीय युवाहरुकै सहभागितामा बाँसकला उद्योग स्थापना गरिएको सूचनाअ अधिकारी राईले बताए ।  

बाँसकला उद्योग स्थापना र सञ्चालनका लागि चालुवर्षको बजेटमा प्रदेश सरकारले पनि केही बजेट विनियोजन गरेको छ । प्रदेश सरकार, कृषि तथा उद्योग मन्त्रालयअन्तर्गत केही रकम गाउँपालिकालाई प्राप्त भएको उनको भनाई छ ।

 

प्रकाशित: २६ कार्तिक २०८२ २०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App