पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बहुप्रतीक्षित पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबार साँझदेखि नियमित रूपमा पोखरा–दुबई उडान थालेको हो।
पहिलो उडान फ्लाई दुबईको बोइङ ७३७–एफडीबी ११६५ कलसाइनको जहाजले गरेको थियो। नेपाली समयअनुसार दिउँसो २ बजे दुबईबाट उडेको जहाज साँझ ६:१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
१५६ इकोनोमी र १० बिजनेस क्लास गरी १६६ यात्रु क्षमताको उक्त जहाज पहिलो उडानमा ११३ यात्रु लिएर पोखरा आएको विमानस्थल कार्यालयले जनाएको छ। पोखरा आएको जहाज बुधबार साँझ नै १५२ यात्रु लिएर दुबई फर्किएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार फर्किएको जहाजमा १४९ इकोनोमी र तीन बिजनेस क्लासका यात्रु थिए। १५३ यात्रु लिएर फर्किने तयारी भए पनि अन्तिम समयमा एक यात्रुले टिकट रद्द गरेपछि १५२ यात्रु मात्र दुबई गएको विमानस्थल स्रोतले जनाएको छ।
बुधबारदेखि सुरु भएको फ्लाई दुबईको पोखरा–दुबई उडान अब दैनिक सञ्चालन हुनेछ। फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार तीन महिनाका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
यात्रुको चाप हेरेर त्यसपछि थप तीन महिनाको बुकिङ खुला गरिने उनले बताए। छ महिनाको परीक्षण उडानपछि मात्रै पोखरा–दुबई उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने वा नगर्ने विषयमा फ्लाई दुबईले निर्णय गर्ने शाहीले जानकारी दिए।
पोखरा–दुबई उडान सुरु भएको खुसीयालीमा पोखरेलीले पहिलो उडानका यात्रुलाई स्वागत तथा बिदाइ गरेका छन्। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्सहित पर्यटनसँग सम्बन्धित संघसंस्था र स्थानीयले दुबईबाट पोखरा आएका आन्तरिक तथा विदेशी पर्यटकलाई खादा र माला लगाएर स्वागत गरेका थिए।
दुबईबाट पोखरा आएको टोलीमा संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, चर्चित कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ, संगीतकार सुनिल थापासहित ब्यान्डका सदस्यसमेत थिए।
उनीहरूलाई नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले खादा र मालासहित ध्यान तथा साधनामा प्रयोग हुने ‘सिङ्गिङ बाउल’ उपहार दिएको थियो। स्वागत, शान्तिको कामना र मायाको चिनोस्वरूप सिङ्गिङ बाउल प्रदान गरिएको नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताइन्।
त्यस्तै, पोखराबाट दुबई प्रस्थान गरेका आन्तरिक तथा विदेशी पर्यटकलाई पनि खादा र माला लगाएर बिदाइ गर्दै शुभयात्राको कामना गरिएको थियो।
फ्लाई दुबईको उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वका दुई सयभन्दा बढी देशका सहरसँग हवाई सञ्जालमार्फत जोडिएको सहर भएकाले पोखरा–दुबई उडानले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘यो फ्लाइट ऐतिहासिक हो र पोखराको पर्यटनका लागि कोशेढुंगा साबित हुने विश्वास लिएका छौँ,’ उनले भने।
फ्लाई दुबईको पोखरा–दुबई उडान सफल भए कतार एयरवेज, एयर इन्डियालगायत अन्य ठूला हवाई कम्पनीसमेत पोखरा आकर्षित हुने श्रेष्ठको अपेक्षा छ। उनका अनुसार पोखरा–ढाका उडान पनि जनवरीदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ।
‘बाँकी फ्लाई दुबईको पोखरा–दुबई उडानको सफलतामा निर्भर रहन्छ,’ उनले भने।
उडानलाई दीगो बनाउन पर्यटनसँग सम्बन्धित संघसंस्था सक्रिय रहेको नाट्टा गण्डकीकी अध्यक्ष पौडेलले बताइन्। ‘हामीले पोखरा–दुबई उडानलाई दीगो बनाउन हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भनिन्, ‘यसलाई सफल बनाएरै छाड्ने प्रयासमा छौँ।’
फ्लाई दुबईको पहिलो उडानबाट पोखरा आएका पर्यटकलाई पोखरेली पर्यटन व्यवसायीले विभिन्न सुविधा र अफर दिएका छन्। पहिलो उडानबाट आएका प्रत्येक पर्यटकलाई एक दिनका लागि सामान्यदेखि चारतारे होटलसम्म निःशुल्क बसोबासको व्यवस्था गरिएको छ।
पोखराका रानीवन अर्किड रिसोर्ट, टिका रिसोर्ट, गुडविल होटललगायत होटलमा निःशुल्क बसोबासको व्यवस्था गरिएको पोखरा–दुबई उडानका अभियन्ता तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। इच्छुक पर्यटकलाई प्याराग्लाइडिङसमेत निःशुल्क गराउने व्यवस्था गरिएको उनले बताए।
त्यस्तै, रानीवन अर्किड, टिका रिसोर्ट र गुडविल होटलले दुई महिनासम्म हरेक दिन दुईवटा कोठा निःशुल्क उपलब्ध गराउने भएका छन्।
होटल व्यवसायीसँगको समन्वयमा फ्लाई दुबईमार्फत पोखरा आउने पर्यटकलाई हरेक दिन निःशुल्क बसोबासको व्यवस्था गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए।
‘इच्छुक सबैलाई निःशुल्क बासको व्यवस्था गरेका छौँ,’ उनले भने।
प्रकाशित: ७ आश्विन २०८३ २१:३२ बुधबार





