भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत र उद्धारमा सघाउने उद्देश्यले पोखराका व्यावसायी नारायण पौडेल अध्यक्ष रहेको संस्थाबाट ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
विपत्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास स्वरुप सहयोग गरेको अध्यक्ष पौडेलले बताएका छन्। पौडेलका अनुसार अटोवेज प्रालि परिवार र भारतको बुल्स मेसिन्स प्रालिबाट गरि २५ लाख रुपैयाँ संकलन भएको थियो।
त्यस्तै पोखराको प्रतिभा माध्यमिक विद्यालयको संस्थागत दायित्व तथा विद्यालयका शिक्षक–कर्मचारीबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि त्यही सहयोगमा समेटिएको छ। त्यसैगरि गोविन्द–कलावती फाउन्डेसनबाट समेत पाँचलाख रुपैयाँ गरेर ४१ लाख ११ हजार १ सय एघार रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको पनि अध्यक्ष पौडेलले बताएका छन। संकलित यो रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
‘प्राकृतिक विपत्तिका कारण देश यतिबेला अत्यन्त दुःखद् र पीडादायी अवस्थाबाट गुज्रिरहेको छ। यस विपत्तिले निम्त्याएको मानवीय क्षति र ठूलो भौतिक क्षति पनि गरेको छ। यस्तो बेला सहयोगको खाँचो पनि पर्छ,’ अध्यक्ष पौडेलले भनेका छन, ‘सबैले हातमा हात मिलाएमा यस्तो विपत्बाट जोगिन सकिन्छ।’
विपद्को यस घडीमा पीडित नागरिकको दुखमा साथ दिनु केवल सहयोग मात्र नभई मानवीय दायित्व र सामाजिक जिम्मेवारी रहेको पनि उनले बताए। अहिलेको अप्ठेरो परिस्थितिमा सरकार, निजी क्षेत्र, संघसंस्था र आम नागरिक सबै एकजुट भई प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा एक मन र एकताका साथ हातेमालो गर्न आवश्यक रहेको पनि उनले बताएका छन। ‘देश दुखेको बेला साथ दिनु नै हाम्रो सबैभन्दा ठूलो मानवीय कर्तव्य हो,’ उनले भने।
तत्काल राहत र उद्धारपछि पुनःस्थापनाको चरणमा पनि निरन्तर साथमा रहने पनि संस्थाले बताएका छन्। विशेष गरी प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण तथा बालबालिकाको शैक्षिक वातावरण पुनः स्थापित गर्न सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिभा माविका प्राचार्य किरण सापकोटाले बताए।
प्रकाशित: १६ भाद्र २०८३ १६:३० मंगलबार



-600x400.jpg)

