२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट

उदयपुर सिमेन्ट उद्योगको प्रवेशद्वार। तस्विरः महेश्वर

पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ। लामो समय विद्युतको समस्या झेलेको उद्योगले अहिले आएर समयमा कोइला आपूर्ति हुन नसक्दा अर्को समस्या आइपरेको हो।  

गएको  ६ महिनायता कोइला अभावकै कारण पटकपटक बन्द हुँदै सुचारु गरेको उद्योग यो बीचमा करोडौँ घाटा बेहोर्न बाध्य भइसकेको छ। दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योग सहज रुपमा सञ्चालन हुँदा दैनिक ३ देखि ६ सय टनसम्म उत्पादन हुने गरेको छ। तर, कोइला अभावले पटक पटक बन्द हुँदै चल्दै गर्दा उत्पादनमा ह्रास आउदा निकै ठूलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले जनाएको छ।  

गएको असोजमै कोइला अभावले झण्डै दुईसाता बन्द हुन पुगेको उद्योग भर्खर सुचारु भएको छ। कोइला नभएकाले असोज पहिलो साता हप्ता दिन नचल्दै रोकिएको उद्योग सुचारु गर्न बालुवा, माटो, पानी मिसिएको कोइला काम चलाऊ प्रयोग गर्दा कोल मिल जाम भएर समस्या निम्तिएको थियो। दैनिक सरदर १ सय मेट्रिक टन कोइला आवश्यक पर्ने उद्योगलाई ६ महिनायता आपूर्ति नियमित नहुँदा समस्या झेल्नु परेको हो।  

गुणस्तरहीन कोइला सहजै पाए पनि गुणस्तरीय कोइला पाउन भने उद्योगलाई निकै मुस्किल पर्ने कर्मचारीहरु बताउँछन्। उनीहरुका अनुसार पहिले मापदण्डविपरित गुणस्तरहीन कोइला पनि कतिपय समयमा प्रयोग गर्ने गरिएको थियो। गुणस्तरहीन कोइला प्रयोग गर्दा बढी खपत हुने तर, सिमेन्ट कम उत्पादन हुने मजदुरहरु बताउँछन्।  

लिमिटेडलाई चाहिने कोइलाको मोइस्चर (चिसोपन) २ प्रतिशतसम्म हुनुपर्ने मापदण्ड रहे पनि सो मापदण्डबेगरको कोइला प्रयोग गर्दा उद्योगको कोल मिल जाम हुने समस्या आइपर्ने गर्छ। २ प्रतिशतसम्म मोइस्चर कोल मिलमा पठाउदा उपकरण राम्ररी चल्ने गर्छ भने अभावमा कहिलेकाही १० प्रतिशतसम्म मोइस्चरको कोइला प्रयोग गर्ने गर्दा मिलमा समस्या हुनुका साथै धेरै कोइला खपत हुने गरेको छ।  

मापदण्ड विपरितको कोइला प्रयोगले उद्योगलाई हानी गर्न थालेको बुझेपछि व्यवस्थापनले अहिले कडाइ गर्न थालेको छ। त्यसका लागि कोइला आएपछि अनिवार्य ल्याव जाँच गरेर मात्र कोल मिलमा पठाउन थालिएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए। उनका अनुसार कोइला जाँच गर्न नभ्याउने तथा समयमा कोइला नआउदा उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ। पहिले कोइला आइपुग्दा उद्योग चलिरहेको भए ल्याब जाँच नगरी मिलमा पठाउने गरिएको र त्यसो गर्दा उद्योगको मिल र उपकरणमा क्षति हुने गरेको पत्ता लागेपछि ल्याब जाँच अनिवार्य गरिएको न्यौपानेले बताए।  

‘आफु महाप्रबन्धक हुनुभन्दाअघि कोइला सकिनु २ घण्टाअघि मात्र कोइला आइपुग्ने अनि ल्याव जाँच नगरी सरासर मिलमा पठाउने गर्दा मेसिन बिग्रने समस्या हुने गरेको रहेछ’ जिएम न्यौपानेले भने ‘जव त्यसले उद्योगलाई क्षति हुने कुरा पत्ता लाग्यो, अनि अहिले अनिवार्य ल्याव टेस्ट गरेर मात्र मिलमा पठाउने गरेको छु।’ उनका अनुसार कहिलेकाही रातिको बेला कोइला सकिनै लाग्दा आइपुग्ने हुँदा जाँच गर्ने प्राविधिकहरु नहुने र उद्योग बन्द हुने हुँदा जाँचै नगरी मिलमा पठाउने गरिएकोमा अव त्यसो गर्न नदिने उनको अडान छ।  

त्यो कुरा व्यवस्थापनले थाहा पाएपछि गुणस्तरहीन कोइला प्रयोग गर्न छाडेर गुणस्तरीय कोइला ल्याउने त्यो पनि ल्याव जाँचपछि मात्र प्रयोग गर्न थालिएको हो। यो विषयमा उद्योग संचालक समितिले पनि कडाइ गर्न थालेकाले अहिले कोइला स्टोरमा राखेर गुणस्तर जाँच गरेपछि मात्र मिलमा पठाउन थालिएको न्यौपानेले बताए। उनका अनुसार कोइलाको गुणस्तरको पूर्ण रिपोर्ट आउन ४÷५ दिन लाग्ने गर्छ। छिटो गर्दा पनि २४ घण्टा अनिवार्य कुर्नुपर्ने हुन्छ।  

उद्योगका खरिद महाशाखा प्रमुख गम्भीरजङ खत्रीका अनुसार लिमिटेडलाई चाहिने कोइलाको ३ वटा फर्महरुले आपूर्ति गर्दै आएका छन्। अरियन्त सप्लायर्स विराटनगर, न्यू आयन सप्लायर्स भैरहबा र प्लाटिनम सप्लायर्सले आपूर्ति गर्ने जिम्मा पाएको कोइला विभिन्न कारणले पछिल्लो समय नियमित आपूर्ति हुन नसक्दा उद्योगलाई घाटा सहन बाध्य भएको खत्री बताउँछन्।  

उनका अनुसार पर्याप्त र गुणस्तरीय कोइला अभाव हुन नदिन सप्लायर्सहरुलाई कडाई गरिएको छ। भर्खर मात्र केही साता पुग्ने कोइला आइपुगेपछि अब उद्योग नियमित सञ्चालन हुने र कोइलाकै कारण बन्द हुन नदिन विकल्पको खोजी भइरहेको खत्रीले बताए।  

महाप्रबन्धक न्यौपानेले कोइला अभावले भनेजस्तो उद्योग नियमित सञ्चालन हुन नसक्दा धेरै घाटा बेहोर्नुपर्ने भएपछि त्यस्तो अवस्था आउन नदिन व्यवस्थापनले उपायको खोजी थालेको बताए। अन्य स्रोतसाधनको अभाव नभए पनि लिमिटेडलाई कोइलाको लागि भने भने अन्तराष्ट्रिय बजारकै भर पर्नु परेको उनको भनाइ छ। चुनढुंगा, रातोमाटोलगायत अन्य कच्चा पदार्थ प्रसस्त मात्रामा आफ्नै भए पनि कोइला भने लिमिटेडले विदेशी बजारकै भर पर्नु पर्दा यो समस्या आउने गरेको उनले बताए। अन्तराष्ट्रिय बजारबाट ल्याउनु पर्ने भए पनि खाँचो हुन नदिन र सहज आपूर्तिका लागि अन्य विकल्पहरुको खोजी भइरहेको न्यौपानेले बताए।  

प्रकाशित: १५ कार्तिक २०७९ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App