coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

तिहारको अवसरमा पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी पाहुनालाई भाइटीका लगाउँदै।

पर्यटन प्रवर्द्धनार्थ यहाँका पर्यटन व्यवसायीले नियमित रुपमा गर्दै आएको एउटा कार्यक्रम हो–भाइटीका महोत्सव। यो महोत्सव हरेक वर्ष तिहारका दिन मनाइन्छ। पोखरा घुम्न आएका विदेशी पाहुनालाई तिहारको दिन भाइटीका लगाएर यो महोत्सव मनाइन्छ।

होटल संघ पोखराले नियमित रुपमा गर्दै आएको यो १५ औं महोत्सव हो। यो पटक विभिन्न मुलुकका ३५ जना विदेशीलाई भेला गराएर बिहीबार भाइटीका लगाइदिएको संघले बताएको छ महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इटली, जर्मनी लगायतका देशका पर्यटकले भाग लिएको संघले जनाएको छ।

लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका बालिकाहरुले सहभागीलाई भाइटीका लगाइदिएका थिए। संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आयाम छर्नका लागि यो महोत्सव गर्दै आएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि यो महोत्सव सहयोगी बन्ने सुवेदीको अपेक्षा छ। ‘आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा  यो महोत्सवले सघाउने विश्वास छ,’ उनले भने।

कोभिड–१९ को त्रासकारण अघिल्ला दुई वर्ष यस्तो महोत्सव हुन नसके पनि त्यस भन्दा अघिल्ला वर्ष नियमित रुपमा संघले यो कार्यक्रम गर्दै आएको थियो। यो पटक कोरोना संक्रमण केही कमजोर भएको मौका पारेर यसलाई पुनः निरन्तरता दिन थालिएको अध्यक्ष सुवेदीले बताए। 

अघिल्ला महोत्सवमा कतिपय मुलुकका विदेशी दोहोरिएर सहभागी हुने गरेका थिए। तर, यो पटकका सबै सहभागीका लागि भाइटीका महोत्सव नौलो रहेको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए।

तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ। कार्यक्रमका अवसरमा संघका महासचिव राजेन्द्र ढकालले भाइटिका महोत्सवका बारेमा देश विदेशका सहभागीलाई जानकारी दिएका थिए।

संघले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न विभिन्न र नियमित रुपमा कार्यक्रम गर्दै आएको छ। त्यही क्रममा भाईटीका महोत्सव पनि मनाएको ढकालले बताए। यो महोत्सवमा विदेशीलाई टीका लगाइदिने बालगृहका बालिकालाई दाजुभाइको रुपमा रहेका विदेशी पाहुनाले टीका थापेपछि दक्षिणा दिने गर्छन विभिन्न होटलमा बसेका विदेशीलाई टीका लगाउन निम्ता गर्ने गरिन्छ।

महोत्सवमा सहभागी विदेशीलाई टीका लगाएर उपहार दिने चलन छ। विदेशीले पनि टीका लगाउने बालिकालालाई दक्षिणा र उपहार दिन्छन्। त्यसबाहेक संघले विदेशीका लागि खानपिन र मनोरञ्ज पनि दिलाउन विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App