८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण

भारतबाट आयात गरे नष्ट गर्ने चेतावनी

किसानहरुले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य कायम गरेका छन्। व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै चितवनका किसानहरुले आज(मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि मालाको मूल्य सार्वजनिक गरेका हुन्।

  

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताए। उनका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण छ। ‘किसानहरुसँग सल्लाह गरेर ५० देखि ५५ रुपैयाँसम्म होलसेल रेट राखिएको छ’ उनले भने, ‘फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा ८० देखि १०० रुपैयाँमा खुद्रा बिक्रि वितरण गर्नुपर्छ भन्ने हो।’ समग्रमा चितवन फूलमा ७० देखि ८० प्रतिशत आत्मनिर्भर छ। किसानले पहिलोपटक तिहार लक्षित मालाको मूल्य निर्धारण गरेका हुन्। व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको उनले बताए। गतबर्ष ५० रुपैयाँसम्ममा भारतीय माला बजारमा पाईएको थियो। तर, दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मूल्य तिरेका थिए। त्यसलाई रोक्नका लागि मूल्य कायम गर्न परेको उनको भनाई छ। एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उनले अपिल गरे।  

तिहारको समयमा भारतबाट सयपत्री फूल आयात गरे नष्ट गर्ने चितवनका किसानले चेतावनी समेत दिएका छन्।  चितवनलाई पूग्ने सयपत्री फूल र माला जिल्लामा उत्पादित रहेको भन्दै भारतीय माला रोक्न माग गरेका हुन्।  

‘तिहार लक्षित सयपत्री फूल हामीले जिल्लालाई पूग्ने उत्पादन गरेका छौँ,’ किसान गोविन्द बास्तोलाले भने, ‘हामीले ४० प्रतिशत सयपत्री फूल निर्यात गर्नसक्छौँ।’ प्रमुख जिल्ला अधिकारीको सहयोगमा भारतबाट आयातित माला रोक्ने तयारी भएको उनले बताए। उनका अनुसार, चितवनमा तिहार लक्षित दुई ट्रक माला भारतबाट भित्रिएको छ।  

सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ। सोही अनुसार व्यवसायीले भारतबाट फूल आयात गर्ने योजना बनाएको उनको भनाई छ। ‘हामीले प्रशासनसंग पनि कुरा गरेका छौँ’ उनले भने, ‘पुष्प व्यवसायीलाई आत्ननिर्भर बनाउन यसपटक भारतीय माला फाल्ने अभियानमा छौँ।’ जिल्लामा ३ देखि ४ लाख माला उत्पादित रहेको कृषि प्राविधिक तथा कृषक सुन्दर बस्नेतले बताए। त्यसमध्ये ६० प्रतिशत चितवनमा खपत हुने गरेको छ। चितवनमा उत्पादित माला हुँदाहुँदै व्यवसायीहरुले भारतबाट ल्याउने गरेको किसानको आरोप छ।  

किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन्। त्यसलाई रोक्न मुल्य कायम गर्नुपरेको किसान प्रविण लामाले बताए। भारतमा माला सस्तो पाइन्छ। व्यवसायीले त्यो माला देखाएर किसानसंग बार्गेनिङ गरिरहेको अवस्था छ, ’उनले भने, ‘त्यसलाई रोक्न किसान एक जुट हुनुपर्छ।’ व्यवसायीले भारतबाट सस्तोमा ल्याएपनि उपभोक्तालाई नेपाली माला भनेर चर्को मुल्यमा बिक्रि गर्ने गरेको उनले बताए। रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख समेत रहेका लामाका अनुसार, गत बर्ष तीन लाख माला नेपालमा भित्रिएको थियो। यसपटक पाँच ट्रक सयपत्री फूल भारतबाट काठमाण्डौँ गएको उनले बताए।  

तिहारपछि सयपत्री फूलको माला मुल्य समेत घट्ने गर्दछ। किसानले सो समयमा ५० रुपैयाँमा होलसेल र ७० रुपैयाँमा खुद्रा बिक्रि गर्दै आएका छन्। तिहारको समयमा मात्रै जिल्लामा ३देखि ४ करोड रुपैयाँसम्म कारोवार हुने गर्दछ। चितवन फूल उत्पादनमा उत्कृष्ट जिल्ला नै मानिन्छ। यहाँ एउटै किसानले पाँच विघासम्ममा फूल खेती गर्दै आएका छन्। चितवनमा सय जना किसानले सयपत्री फूलको खेती गर्दै आएको फ्लोरिकल्चर एशोसियनले जनाएको छ।  

भारतीय माला कसरी चिन्ने?

सयपत्री फूल छिट्टै ओइलाउँछ। राम्रोसँग स्टोरेज गर्न सकिएन भने एक दुई दिनमै दाग देखिन्छ। तर, भारतबाट आउने मालामा केमिकल राखिन्छ। त्यसलाई एक सातासम्म स्टोरेज गरेर राख्न सकिन्छ। तर, स्टोरबाट निकालेको दुई घण्टामै ओइलाउने गरेको लामाले बताए। केमिकल हालेर राखिएको मालाले कपडामा दाग लाग्ने भएकाले सचेत हुन उपभोक्तालाई अनुरोध समेत गरेका छन्। भारतबाट आउने माला सुतरीको धागोले बुनेको हुने उनले बताए।  

 

 

 

प्रकाशित: १ कार्तिक २०७९ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App