१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘भक्तपुरका सहकारी संस्थाहरु भाग्दैनन्’

भक्तपुरमा खोलिएका ८० प्रतिशत भन्दा बढी सहकारी संस्थाहरु नभाग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थालि. को शुक्रबार भएको १५ औं साधारणसभाका वक्ताहरुले ढुक्क भएर भक्तपुरका सहकारीहरुमा बचत गर्नसक्ने बताए। स्थानीयवासीहरु नै मिलेर खोलेका कारण अपवादबाहेक यहांका सहकारी संस्थाहरु नभाग्ने उनीहरुको भनाई हो।  

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुरमा रहेका सहकारीहरुको छुट्टै पहिचान कायम गर्न सफल भएको बताए। सहकारी संस्था सहकारी नीतिनियम र सिद्धान्तमा रहेर सञ्चालित भएको हुँदा जस्तोसुकै समस्याको सामना गर्न यहाका सहकारीहरु सक्षम हुनेमा उनले विश्वास व्यक्त गरे। उनले सहकारीमा आबद्ध सदस्यहरुले संस्थाको सञ्चालक समितिमा रहेका पदाधिकारीहरुले संस्थामा गरिरहेका क्रियाकलापसँगै सहकारी संस्थाले वार्षिक साधारणसभा गरे नगरेको, लेखा परीक्षण गरे नगरेको, वित्तीय प्रगति प्रतिवेदन प्रकाशित गरे नगरेकोलगायतका विषयमा ध्यानदिनुपर्नेमा जोड दिए।  

‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि कार्यक्रमबारे जानकारी दिएका छन्। यसैगरी, सभामा संस्थाका कोषाध्यक्ष प्रज्वल जोन्छेले संस्थाको आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन पेश गरे। उनले २०७९ असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ४२,४३,१८,०५४.४४ पुगेको जानकारी गराए भने आर्थिक वर्ष २०७९/८० माकुल सम्पति ५०,९१,८१,५६१ पु¥याउने अनुमानित बजेट पेश गरे। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संस्थाले रु. ५८,३१,७७०.५७ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। साधारण सभाले सदस्यहरुलाई १०.४८ प्रतिशत शेयर लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाका अध्यक्ष उत्तमप्रसाद वैद्यले संस्थाका सदस्यहरुको योगदानकै कारण संस्था आजको स्थानसम्मआइपुगेको भन्दै आगामी दिनमापनि संस्थाको प्रगतिका लागि रचनात्मक सहयोग गरिरहन सदस्यहरुलाई आग्रह गरे। उनले देशको अर्थतन्त्रमा प्रभाव परिरहेको बेलामा विभिन्न सहकारीहरु समेत समस्या रहेको भन्दै भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाले भने पर्याप्त तरलता व्यवस्था गरेका कारणकुनै समस्या नरहेको स्पष्ट पारे।  

सभामा प्रमुख अतिथि मानन्धरले संस्थाका ज्येष्ठ सदस्यहरु रामकेशरी अमात्य र बेलभक्त कोजूलाई कदर पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए। अध्यक्ष वैद्यले प्रमुख अतिथि मानन्धरलाई मायाको चिनो प्रदान गरेका थिए।  

प्रकाशित: २८ आश्विन २०७९ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App