१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खाद्यको पर्वाेत्सव छुटः खाद्यमा चामल किन्दा किलोमा सात रुपैयाँ सस्तो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पोखरामा सञ्चालन गरेको पर्वाेत्सव बिक्री कक्ष।

दशैं, तिहार र  छठको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गरेको छ। असोज १ देखि सुरु भएको यो पसल डेढ महिनासम्म सञ्चालन हुनेछ। ‘पर्वाेत्सव सहुलियत छुट मूल्य पसल’ मार्फत उपभोक्तालाई चाडपर्वको अवसर पारेर खाद्यान्नमा छुट दिइने कम्पनीका गण्डकी प्रमुख नबिन बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार उपभोक्ताले विरौटास्थित बिक्री कक्षबाट छुटमा खाद्यान्न खरिद गर्न पाउनेछन्। उनका अनुसार यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। खाद्यबाट बिक्री हुने सबै किसिमका चामलमा प्रतिकिलो सात रुपैयाँ छुट हुने बस्नेतले बताए।

बस्नेतका अनुसार प्रतिकिलो १ सय पाँच रुपैयाँका दरले बिक्री हुने बासमति चामललाई उपभोक्ताले ९८ रुपैयाँमा खरिद गर्न पाउनेछन्। त्यस्तै ६७ रुपैयाँमा बिक्री हुने जिरा मसिनो चामल ६० रुपैयाँ प्रतिकिलोका दरले उपभोक्ताले पाउनेछन्।

त्यसैगरी ५३ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भएको स्टिम सोना चामल ४६ रुपैयाँँका दरले उपभोक्ताले पाउनेछन्। खाद्यले यो पटक चाडवाडमा मात्र पोखराको यो बिक्रीकक्षबाट कम्तीमा ५ सय क्विन्टल चामल बेच्ने लक्ष्य राखेको बस्नेतले बताए।

बस्नेतका अनुसार शनिबार पहिलो दिन नै करिब चार क्विन्टल चामल बिक्रीकक्षबाट बिक्री भएको छ। ‘यो पटक चामल मात्र बिक्रीमा राखिएको छ। दाल पनि राख्न पाएको भए हुन्थ्यो। तर, अहिले चामल बाहेकको खाद्यान्न उपलब्ध छैन,’ उनले भने। चिनी, नुन, तेल लगायतका खाद्यान्न भने अन्य संस्थानले नै बिक्री गर्छन्।  

प्रकाशित: १ आश्विन २०७९ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App