२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

‘औद्यागिक विकासका लागि पूर्वाधार’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले औद्योगिक विकासका लागि सरल र सुलभ ढंगबाट जग्गा प्राप्ति र पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। जग्गाको अध्यधिक मूल्यका कारण उद्योग स्थापना तथा विस्तारमा बाधा उत्पन्न हुने गरेको हुँदा सरकारले पूर्वाधारयुक्त औधोगिक क्षेत्रको निर्माण तथा विस्तारमा ध्यान दिनुपर्ने उनले बताएका हुन्।  

बुटवल उद्योग वाणिज्य संघको साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले औद्योगिक क्षेत्रमा उद्योगहरूलाई लिज सम्झौताको समयावधि पनि बढाउनुपर्ने बताए। जग्गाको मूल्यवृद्धि, बैंकको व्याजदर सत प्रतिशत बढ्नु, कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव जस्ता समस्याले उद्योगी व्यवसायीलाई ठूलो समस्यामा पारेको उनले बताए।  

मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई टार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले इन्डोर गरेको बताउँदै कतिपय कुरा सम्बोधन भइसकेको उल्लेख गरे। उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरूसँग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको उनले बताए। ‘

देश बंगलादेश, पाकिस्तान जस्तो बन्छ भनेर उद्योगी व्यवसायीलाई हतोत्साही बनाउने काम पनि भइरहेको छ तर हामी विज्ञसँगको परामर्श र अध्ययनबाट त्यस्तो स्थिति सिर्जना भएको छैन र हुने छैन कुरामा क्लियर छौं र अरूलाई पनि त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछौं’– अध्यक्ष गोल्छाले भने।  

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले व्यावसायिक तथा औद्योगिक विकासका लागि बुटवल उपमहानगरपालिकाले सहकार्यको रणनीति तयार गरी अगाडि बढेको बताए। बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरू भएको बताए। बुटवल १५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको जानकारी गराउँदै नगरप्रमुख पाण्डेले लगानीको वातावरण तयार गर्ने प्रतिवद्धता गरे। महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारी निकायले उद्योगी व्यावसायीलाई हतोत्साही बनाएको बताउँदै समस्या समाधानको लागि महासंघले नेतृत्व लिनुपर्ने बताए।

निजी क्षेत्रको प्रवद्र्धन र विकास हुन नसके देशको अर्थतन्त्र विग्रिँदै जाने भएकाले समयमै ध्यान दिनुपर्नेमा उनले जोड दिए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे। अध्यक्ष कसजूले चालू पुँजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यसायी मारमा परेको, तरलता अभाव, महँगी लगायतका समस्या राख्दै सरकारका व्यावसायिक अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको बताए।

महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एशोसियट उपाध्यक्ष रामचन्द्र सांघाई,बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले, महासंघमा निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठ, संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, मकवानपुरका अध्यक्ष कविराम खत्री, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सम्मानित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले बोल्दै सरकारले ल्याउने नीतिले नीतिले स्थायित्व नपाउँदा व्यवसायी मारमा पर्ने गरेको बताए।  

सोही अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसङ्गध्वज मास्केलाई संघले सम्मान गरेको छ। मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र वास्केटवल खेलाडी मास्केलाई महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका हुन।  

बुटवल १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रूपैया आर्थिक सहयोग गरिएको संघका महासचिव भट्टराईले बताए। 

प्रकाशित: २८ भाद्र २०७९ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App