विद्यार्थीमार्फत अभिभावक र समुदायका सदस्यलाई वित्तीय प्रणालीका बारेमा अनुशिक्षित गराउने उद्देश्यले माछापुच्छ्रे बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले पाथीभरा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
‘विद्यार्थीसँगै माछापुच्छ्रे बैंक’ अभियानअन्तर्गत क्याम्पसका एकसयभन्दा बढी विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको माछापुच्छ्रे बैंकका फुङलिङ शाखा प्रवन्धक उमेश बास्कोटाले जानकारी दिए।
अभिमुखीकरणमा आयस्रोतको आधार निर्माणको पहिचान गर्ने तरिकादेखि प्राप्त आम्दानीको सही सदुपयोग कसरी सम्भव छ भन्ने बारेमा जानकारी गराइएको बैंकले जनाएको छ। शाखा प्रबन्धक बास्कोटाले वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न प्रेरित गर्ने तथा जोखिम न्यूनीकरणमा योगदान पुग्ने बताए।
विद्यार्थी उमेरदेखि नै अर्थ तथा वित्त सम्बन्धी असल संस्कार र आचरणप्रति अभ्यस्त हुन सकेमा परिवार, समाज र राष्ट्रले उचित प्रतिफल पाउने जानकारी उनले दिए। वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रूपमा बुझिन्छ।
मूलतः प्रविधिको बढ्दो प्रयोग र आकर्षणका कारण विद्युतीय प्रणालीको प्रयोग मार्फत सञ्चालन गरिने वित्त कारोबारलाई कसरी व्यवस्थित, गुणात्मक र संख्यात्मक वृद्धि गर्न सकिन्छ भन्ने बारेमा अनुशिक्षण केन्द्रित भएको बैंकले जनाएको छ।
कार्यक्रममा पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख मोहनकुमार राईले विद्युतीय वित्तीय साक्षरता र यसको महत्त्व दर्शाउन यस्ता अनुशिक्षण प्रभावकारी हुने बताए।
प्रकाशित: २० भाद्र २०७९ ०१:५७ सोमबार