१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

२७ करोडको लगानीमा जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने

करिब २७ करोड रुपैयाँको लागतमा ताप्लेजुङ फुङलिङ नगरक्षेत्र र आसपासमा नियमित, शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने गरी जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ।

संघीय सरकार खानेपानी आयोजनामार्फत् आर्थिक वर्ष २०८४/०८५ सम्ममा योजना पूरा हुनेगरी आयोजना कार्यान्वयनको सम्झौता भएको हो। आयोजनाको निर्माणको जिम्मेवारी स्वामी नारायण निर्माण सेवा विराटनगरले पाएको छ। ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन समारोहमा समितिका सचिव रणबहादुर कार्कीले उक्त जानकारी गराएका हुन्।

उनका अनुसार यो खानेपानी आयोजना पूरा भएपछि प्रतिसेकेण्ड १५ लिटर पानी प्रवाह हुनेछ। योजना सञ्चालनका लागि ठेक्का रकमको १ प्रतिशत अर्थात् करिब २७ लाख रुपैयाँ उपभोक्ता समितिले बहन गर्नुपर्ने भएको छ। योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ।

पहिले तयार भएको विस्तृत परियोजना प्रतिवेदन अनुसार देउराली भित्री सामुदायिक वन क्षेत्रमा तयार हुने संरचनामार्फत् पानी फिल्टरिङ र भण्डारण गरी देउराली, सुकेटार र सो आसपासका क्षेत्रमा पानी प्रवाह हुनेछ। चनौटे क्षेत्रमा निर्माण हुने संरचनामार्फत् पानी फिल्टरिङ र भण्डारण गरी त्यसक्षेत्र आसपास, क्याम्पस लाइन सम्म पानी प्रवाहको प्रवन्ध गरिने छ। यस्तै नर्सरी क्षेत्रमा अहिले कायम रहेका र नयाँ बन्ने सरंचनामार्फत् फुङलिङ नगरपालिकाको वडा नं १ देखि ८ सम्मका घरधुरीमा पानी प्रवाह हुने व्यवस्था मिलाइने समेत कार्कीले जानकारी दिए।

कार्कीका अनुसार फुङलिङमा २०३४/०३५ सालमा जिल्ला खानेपानी कार्यालयमार्फत् ३६ घरमार्फत् पानी आपूर्ति सेवा सुरु भएको पाइन्छ। २०५६ साल देखि उपभोक्ता समितिमार्फत् खानेपानी आपूर्ति भइरहेको र अहिले १ हजार ९ सय ५० खानेपानी ग्राहक रहेको ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति कमलप्रसाद गुरागाँईले जानकारी दिए।

उपभोक्ता समितिसँग अहिले कूल १२ लाख ६० हजार लिटर पानी भण्डारण गर्नसक्ने क्षमताका ट्यांकी रहेका छन्। फुङलिङ–५ उकालीपानीमा ३ लाख २० हजार लिटर, फुङलिङ–८ सालिम्बेमा ४० हजार, फुङलिङ–३ याङलीजुङमा १ लाख र फुङलिङ–४ तोक्मे नर्सरी क्षेत्रमा करिब ८ लाख लिटर क्षमताका ट्यांकी रहेको उपभोक्ता समितिले बताएको छ।

समितिका सचिव कार्कीले नर्सरी क्षेत्रमा खानेपानी प्रशोधन केन्द्र परियोजना सञ्चालन गर्न आवश्यक रहेको बताए। यसले सम्भावित प्रदूषित र धमिलो पानीलाई शुद्धीकरण गर्न सक्ने उनको बुझाइ रहेको छ। अहिले नौ वटा मुहानको पानी एकीकृत गरी प्रतिसेकेण्ड १४ लिटरका दरले पानी आपूर्ति हुँदै आएको उपभोक्ता समितिले जनाएको छ।

उपभोक्ता समितिको आफ्नै कार्यालय

केही समय अघिसम्म भाडामा बस्दै आएको उपभोक्ता समितिको कार्यालय अब आफ्नै भवनमा सरेको छ। फुङलिङ नगरप्रमुख अमिर मादेन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ सिंहले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका छन्। भवन करिब ८८ लाखको लागतमा निर्माण भएको हो।

२०७७ साल माघ १४ गते तत्कालिन फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख सिंहले संयुक्त रुपमा शिलान्यास गरेको भवन निर्माण सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मादेनले जम्बुढाँडे–मैदाने खोला खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ता समितिले बहन गर्नुपर्ने २७ लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ फुङलिङ नगरपालिकाले व्यहोर्ने घोषणा गरे। बाँकी रकम व्यवस्थापन गर्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन्।

उपभोक्ता समिति अध्यक्ष गुरागाँईले कर्मचारी तलब भत्ता भुक्तानीपछि बढीमा मासिक १ लाख ५० हजार रुपैयाँ बचत हुने गरेको र यो रकमले मर्मतसम्भार खर्च धान्न कठिनाइ भइरहेको सुनाए। उनका अनुसार अहिले कार्यालय सचिव १, खानेपानी तथा सरसफाई टेक्निसियन ७, महशुल संकलक १ र चौकीदार तथा कार्यालय सहयोगी ११ गरी २० जना वैतनिक कर्मचारी रहेका छन्। अहिले मासिक करिब ५ लाख ५० हजार रुपैयाँ महशुल शुल्क असुल हुने र कर्मचारीको तलब भत्तामा मासिक ४ लाख रुपैयाँ भुक्तानी हुँदै आएको उपभोक्ता समितिले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App