३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टीकापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने

टीकापुर नगरपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ। आफ्ना सय दिनको उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामलाल डगौरा थारुले सम्मेलनका माध्यमबाट बाह्य लगानी भित्र्याइने बताए।

उनले सम्मेलन अगावै औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता भइसक्ने जानकारी दिए। उनले टीकापुरको समग्र विकासका लागि सम्मेलन सहयोगी हुने दाबी गरे। सो अवसरमा उनले आगामी दिनमा गर्नुपर्ने र सय दिनको अवधिमा भैसकेका गरी १७ वटा कामको चर्चा गरेका थिए।

उनले विगतका वर्षहरूमा चर्चामा रहेको बाह्य चक्रपथ निर्माणको काम चालु आर्थिक वर्षबाट शुभारम्भ हुने जानकारी दिए। ‘यसै वर्षबाट रेखांकन र कालोपत्रको काम सुरु हुन्छ’ उनले भने-‘बाह्य चक्रपथ निर्माण प्राथमिकतामा राखेका छौं।’

उनले असारे विकासको अन्त्य गर्ने लक्ष्य रहेको बताए। उनले वैशाख महिनाको मसान्तभित्र योजना तथा कार्यक्रमहरू सम्पन्न गरी भुक्तानी लिइसक्नुपर्ने नीतिगत निर्णय गरेर कार्यान्वयनमा गइसकेको जानकारी दिए।

उनले टीकापुर नगरका संस्थापक स्व खड्गबहादुर सिंहको सम्झनामा पार्क निर्माण गरिने बताए। सो पार्क टीकापुर नगरपालिका-१ स्थित नगर विकास समितिको कार्यालय रहेको ठाउँमा निर्माण हुने बताइएको छ। यहाँ टीकापुर नगर स्थापना हुँदा तत्कालीन टीकापुर विकास समितिको कार्यालय थियो। यही ठाउँमा बसेर सिंह लगायतको टोलीले टीकापुर नगर निर्माणको थालनी गरेका थिए।

नगर प्रमुख थारुले स्व. सिंहको सम्झनामा खड्ग स्मृति पार्क निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए। उनले हालको टीकापुर पार्कलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी विकल्पका रूपमा दुना टपरीको प्रयोगलाई बढाइने बताए।

उनले बजार क्षेत्रमा रहेका खुल्ला सार्वजनिक स्थललाई हरियाली बगैंचा बनाउने र विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा संरक्षण गरिने बताए।

नगर प्रमुख थारुले उज्यालो कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइने बताए। उनले सो कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका विभिन्न चोकमा हैलोजन लाइट जडानको काम सुरु भैसकेको जानकारी दिए। उनले निकट भविष्यमा कार्यक्रमलाई नगरपालिकाभरि अभियानकै रूपमा निरन्तरता दिइने बताए।

उनले फोहोरलाई मोहरमा परिणत गर्न विभिन्न संघसंस्थाहरूसँग समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढेको जानकारी दिए।

उनले टीकापुर अस्पतालमा उपलब्ध गराइँदै आएको बालरोग र स्त्री रोग विशेषज्ञ सेवालाई निरन्तरता दिनुका साथै सिकलसेल र सर्पदंशको उपचारका लागि छुट्टै अस्पताल स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए।

पत्रकार सम्मेलनमा नगर प्रमुख थारुले जनताको अपेक्षा अनुसार काम अघि बढाउन नसकेको स्वीकारेका छन्। उनले सीमित स्रोत साधनका कारण काम गर्न कठिनाइ भैरहेको बताए।

उनले बसपार्कको उद्घाटन गरी सञ्चालन र सिटी हल सञ्चालन लगायतका सामान्य कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। स्थानीयले महसुस हुने गरी नगरपालिकाले काम गर्न नसकेको गुनासो गर्ने गरेका छन्। 

प्रकाशित: १७ भाद्र २०७९ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App