३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

औषधी उद्योगमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाललगायत पदाधिकारीहरूसँग भेटघाट गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट। तस्बिर : नागरिक

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले औषधि उद्योगमा लगानी गर्न बेलायतलाई आग्रह गरेको छ। प्रदेश १ को भ्रमणमा आएका बेलायती राजदूत निकोला पोलिटलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले औषधी उद्योगमा लगानी गर्न आग्रह गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले प्रदेश १ को पहाडी क्षेत्रमा पर्याप्त जडीबुटी उत्पादन हुने भएकाले यस क्षेत्रको जडीबुटी प्रशोधन गरी औषधि उत्पादन गर्ने उद्योगमा लगानी गर्न बेलायतलाई आग्रह गरे। ढकालले भने– ‘प्रदेश १ को पहाडी तथा हिमाली क्षेत्रमा पर्याप्त जडिबुटी उत्पादन हुने भएकाले यस क्षेत्रमा जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्ने उद्योगमा लगानी गर्न राजदूतमार्फत बेलायतका लगानीकर्तालाई आग्रह गर्दछु।’  

महासंघले प्रदेश १ को औद्योगिक विकासका लागि सिप, प्रविधि हस्तान्तरण मार्फत सहयोग गर्न पनि बेलायती राजदूतलाई आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अविनाश बोहोराले प्रदेश १ मा जलविद्युत्, कृषि र खनिजमा ठूलो संभावना रहेको बताए।

प्रविधि अभावका कारण ठूलो संभावना भएर पनि उपयोग गर्न नसकिएको बोहोराले बताए। उनले प्रदेश १ को जलविद्युत्, खनिज, जडीबुटी, र कृषि क्षेत्रलाई बेलायत सरकारले सहयोग गर्न सक्ने बोहोराको भनाइ छ। उनले भने ‘जलविद्युत्, खनिज, जडिबुटी र कृषि क्षेत्रलाई बेलायतले सहयोग गर्नसक्छ।’  

बोहोराले नेपालकै पुरानो औद्योगिक कडिरोरका रूपमा रहेको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा प्रदर्शनी स्थलको अभाव रहेको भन्दै औद्योगिक प्रदर्शनी स्थल निर्माणमा पनि सहयोग गर्न बेलायतलाई आग्रह गरे।  

उद्योगीहरूसँगको भेटमा राजदूत निकोला पोलिटले नेपालको औद्योगिक विकासका लागि बेलायतले बेलायती सहयोग कार्यक्रमहरू मार्फत सहयोग गर्दै आएको बताए। उनले प्रदेश १ को औद्योगिक अवस्था बुझ्न आफू प्रदेश १ को भ्रमणमा आएको जानकारी दिए। सोमबार सुनसरी –मोरङ औद्योगिक करिडोरका ट्राइकोट उद्योग, रघुपति जुटमिल, रिलायन्स स्पिनिङ मिलको भ्रमण गरेको राजदूत पोलिटले बताए।  

इटहरीमा बेलायती सरकारकै कार्यक्रमहरू अन्तर्गत दूध उत्पादनको क्षेत्रमा भइरहेका लगानीबारे जानकारी लिने र इलामको चियाको अवस्थाबारे त्यहाँ पुगेर जानकारी लिने राजदूत पोलिटले बताए।

भेटघाट कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश समिति सदस्य रविन दाहाल, श्रवण अग्रवाल, महिला उद्यमीहरू सरु केसी, प्रतिभा रिजाललगायत सहभागि थिए। 

प्रकाशित: १७ भाद्र २०७९ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App