१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय गौरवको आयोजना: गोरखा खण्डको ठेक्का पनि अधुरै, हिलो धुलोले सास्ती

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा २०७१ सालदेखि सुरु भएको काम २०७९ असार मसान्तसम्म ८० प्रतिशत मात्रै पूरा भएको छ।

आरुघाटदेखि ओख्लेसम्मको १३ किलोमिटर सडक २०७३ पुस ३ गते कालोपत्रे भइसक्नुपर्थ्यो पथ्र्यो तर सातौं पटक म्याद थप गर्दा पनि रसुवा ईलाईट सूर्य जेभीले काम पूरा गर्न नसकेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यलय पालुङटारका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए। यो सडक खण्डको कार्यालयले सबैभन्दा पहिले लगाएको ठेक्का २५ करोड ४२ लाख रूपैयाँको हो।

ओख्लेदेखि निबेलसम्मको १६ किलोमिटर सडक खण्ड २०७२ साल माघमा सम्झौता भई काम सुरु गरिएको हो। २०७५ माघमा सम्पन्न गर्नुपर्ने काम चार पटक म्याद थप भइसक्दा पनि गत असार मसान्तसम्म ५७ प्रतिशत मात्रै प्रगति भएको छ। उक्त खण्ड निर्माणको जिम्माएमपी/एससिएफ/एसिसी जेभीले लिएको थियो।

पालुङटारदेखि पाउँदीसम्मको १६ किलोमिटर सडकको म्याद तीन पटक सकिँदासम्म करिब ८४ प्रतिशत मात्रै काम भएको इन्जिनियर श्रेष्ठले बताए। बज्रगुरु/द कन्चनजंगा/शंकरमाली जेभीले २०७२ साल फागुनमा ३५ करोड ४४ लाख रूपैयाँमा ठेक्का लिएको उक्त खण्ड २०७५ सालको फागुनमा गरिसक्नुपर्थ्यो।

निबेल नयाँ साँघु मसानेपाटीको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा आशिष डिएस जेभीले लिएको हो। गत असार मसान्तमा सक्नुपर्ने काम ४८ प्रतिशत मात्रै पूरा भएको छ। ३५ करोड ८० लाख रूपैयाँमा लिइएको उक्त ठेक्काको २०८० साल असार २० गतेसम्मका लागि म्याद थप भइसकेको योजना कार्यालय पालुङटारका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए।

१५ दशमवल ८ किलोमिटरको मसानेपाटी ठाँटीपोखरी खण्डको १९ प्रतिशत मात्रै काम भएको छ। ५५ करोड तीन लाखको उक्त ठेक्का हिमदुङ प्यासिफिक जेभीले जिम्मा जिएको हो। यो खण्डको पनि एक पटक म्याद थप भइसकेको छ। उक्त खण्डमा जंगल परेकाले रुख काट्ने निर्णय बाँकी हुँदा कामले गति लिन नसकेको इन्जिनियर श्रेष्ठले बताए।

नाना कन्सट्रक्सनले जिम्मा लिएको बोहोराखोला पुल निर्माणको काम अन्तिम चरणमा छ। २०७६ वैशाखमा निर्माण गरी सक्नुपर्ने पुल तीन पटक म्याद थप हुँदा पनि अझै करिब ८ प्रतिशत काम बाँकी रहेको आयोजना कार्यालयका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए। म्याद सकिएकालाई विभिन्न बाहना बनाएर थप्ने गरिन्छ। अहिले खरिद नियमावलीको १२ औं संशोधनलाई देखाएर सबै ठेक्काको म्याद एक वर्ष थप्ने प्रक्रिया चलिरहेको छ।

सधैं हिलो, सधैं धुलो !

वर्षौंदेखि सडकमा हिलोधुलो खेप्नुपरेपछि मध्यपहाडी लोकमार्ग आसपासका स्थानीय आजित भएका छन्। धादिङ हुँदै गोरखाको आरुघाट, भिमसेन थापा, सिरानचोक, पालुङटार हुँदै लमजुङ जोड्ने खण्ड भएर यात्रा गर्नेहरूले सास्ती खेप्नुपरेको छ। मध्येपहाडी खण्ड गोरखाको दुईवटै निर्वाचन क्षेत्रलाई जोड्ने मुख्य सडक हो। गाउँ र सदरमुकाम जोड्ने सडकको ठाउँठाउँमा सडक झन् हिलो र धुलो भएको गुनासो स्थानीय गर्छन्। ‘एम्बुलेन्स बोलाउँदा पनि भनेको बेला आइपुग्दैन’ पालुङटार २ का कृष्णहरि घिमिरेले भने ‘पैदल हिँड्दा त लडिन्छ कि भन्ने डर हुन्छ, यस्तोमा कसरी गाडी गुड्नु।’

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यलय पालुङटारमा छ। कार्यालयसम्म जाने बाटो नै हिलाम्य भएपछि दैनिक सर्वसाधारण गुनासो गर्न कार्यालयमा पनि पुग्छन्। निर्माण व्यवसायीले काम नगर्दा कार्यालय वर्षौं देखिको समस्या टुलुटुलु हेरेर बसेको छ।

उक्त सडकछेउका स्थानीय निलराज आचार्य भन्छन्-‘बालवालिका र वृद्धवृद्धालाई त्यसै पनि हिँड्न समस्या हुन्छ त्यसमाथि घुँडासम्म हिलो हुन्छ। कहिले चिप्लिएर लडिन्छ तर पनि बाध्यता छ-हिँड्नैपर्‍यो।’ पहिले कालोपत्र भएको सडक थियो।

उक्त सडक मध्यपहाडी लोकमार्ग ठूलो, फराकिलो बनाउने भनेपछि भत्काइएको र झन दुःख बढेको उनले बताए। ‘बर्खामा हिलो छ, हिउँदमा घरभरि धुलो भएर बस्न सकिँदैन’, उनले भने-‘बाटो देख्दा देशमा सरकार छैन कि जस्तो लाग्छ।’

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको पालुङटारस्थित कार्यालयमा त्यस क्षेत्रका स्थानीय बारम्बार सडक हिलो धुलो भएको गुनासो लिएर आउने गरेको कार्यालयका नायब सुब्बा बमबहादुर रोकायाले बताए। ‘कहिले फोनबाट कहिले यहीँ आएर धेरैले गुनासो गर्नुहुन्छ’-उनले भने।

निर्माण व्यवसायी सम्पर्कमै छैनन्ः मेयर चिन्तन

निर्माण व्यवसायीलाई काम छिटो गर्न पटक आयोजना कार्यालयमार्फत खबर पठाउँदा बेवास्ता गरेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए। मध्यपहाडी राजमार्गको पालुङटार खण्डका कारण त्यहाँका सर्वसाधारणले धेरै वर्षदेखि सास्ती खेप्नुपरेको छ।

‘निर्माण व्यवसायी सम्पर्कबाहिर छन्, विधिको शासनभन्दा बाहिर छन्’ नगरप्रमुख चिन्तनले भने-‘हामीले ताकेता लगाउने मात्र हो, आयोजना कार्यालयले पत्र पठाउँदा पनि ठेकेदार सम्पर्कमा आएका छैनन् ।’ निर्माण व्यवसायीको कामले जनता वाक्क दिक्क भइसकेको उनले बताए। जनताको गुनासो दिनदिनै आउने गरेको बताउँदै उनले पीडाबोध गरेर बस्नुको विकल्प नभएको बताए। ‘यो राष्ट्रिय गौरबको आयोजना हो, संघीय सरकारको कार्यक्रम हो, हामीले ताकेता लगाउनेबाहेक केही गर्न सक्दैनौँ’-उनले भने ।

प्रकाशित: ९ भाद्र २०७९ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App