२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालगन्ज–कोहलपुर सडक विस्तार अलपत्र

नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत पर्ने नेपालगन्ज बजार।

नेपालगन्ज–कोहलपुर सडक विस्तार योजना बीचमै अलपत्र परेको छ। सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त सडक खण्ड विस्तार गर्ने अनेक प्रयास गरे पनि बीचमै अलपत्र परेको हो। सडक क्षेत्रमा परेका निजी र सरकारी संरचना हटाउन अटेरी गर्दा उक्त योजना अलपत्र परेको सडक डिभिजन कार्यालयका कर्मचारी बताउँछन्।

सडक डिभिजन कार्यालयले स्थानीय तहको निर्वाचनअगाडि यी ठाउँका संरचना हटाउने प्रयास गरे पनि घरधनीको अटेरी, राजनीतिक दबाबलगायत कारणले गर्दा बीचमै रोकिन पुगेको थियो। सडक डिभिजनले चार महिना अघि रोकिएको काम अझै सुरु गर्न सकेको छैन।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले नेपालगन्ज–कोहलपुर सडक विस्तार योजना विविध कारणले अगाडि बढाउन नसकिएको बताए। ‘अहिलेसम्म साइड क्लियर नै भएको छैन, कतिपय घरधनीको अटेरी, चुनाव र बर्खायामका कारण यो काम बीचमै रोकिन पुगेको हो,’ उनले नागरिकसँग भने। उक्त सडक खण्ड १० वर्ष अगाडी पनि स्तरोन्नति गरी चार लेनमा बनाइएको थियो।

सडकको बीच भागबाट २५/२५ मिटर कायम रहेको उक्त खण्डअन्र्तगत नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदोस्थित प्रहरी तालिम केन्द्रसम्म र कोहलपुर बजार क्षेत्रलाई सरकारले तत्कालीन समयमा बस्ती क्षेत्र घोषणा गरेको थियो। अहिले उक्त खण्डलाई पुनः विस्तार गरेर बस्ती क्षेत्रमै २१/२१ मिटर र अन्य क्षेत्रमा २५/५ मिटरमा विस्तार गर्ने योजना रहेको सडक डिभिजन प्रमुख एसी बताउँछन्।

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए।

सडकभित्र परेका भौतिक संरचना नहटाउँदा ठेक्का प्रक्रियामै जान नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ। भौतिक संरचना खाली गर्न समय लाग्ने भएकाले सुरुमै ठेक्का प्रक्रियामा जान नसकिएको कर्मचारी बताउँछन्। सडक विस्तारको योजना अगाडि बढाउनका लागि सडक डिभिजन कार्यालयले स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघबीच पहिला सहमति कायम हुनुपर्ने जनाएको छ।

स्थानीय चुनावअगाडि राजनीतिक दलबीच सहमति भए पनि सर्वपक्षीय रूपमा सहमति हुन सकेको थिएन। सर्वपक्षीय सहमतिविना एक्लो प्रयासले अगाडि बढ्न कठिन हुने सडक डिभिजन कार्यालयले जनाएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअगाडि यो काम गर्न सम्भव पनि नहुने कर्मचारीको बुझाइ छ।

आकाशे पुल, सडक स्तरोन्नति र बत्ती जडान गर्न अलग्गै ठेक्का

नेपालगन्ज–कोहलपुर सडक विस्तारको काम अलपत्र परेकै बेला कार्यालयले उक्त खण्डमा आकाशे पुल, सडक स्तरोन्नति र सडक बत्ती जडानको काम गर्ने प्रक्रिया सुरु गरेको छ। कार्यालयका अनुसार नेपालगन्ज र कोहलपुरमा गरी विभिन्न ५ स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो। नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ।

करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए। यस्तै नेपालगन्ज–कोहलपुर खण्डअन्तर्गत जमुनाहादेखी राँझासम्म रहेको १०.८ किमी क्षेत्रलाई स्तरोन्नती गर्ने प्रक्रिया अगाडि बढाइएको छ। कुल ३३ करोड रूपैयाँको लागतमा ‘अस्फाल्ड’ प्रविधिको सडक स्तरोन्नति गर्न लागिएको हो।

यसअघि पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘डिबिएसटी’ प्रविधिको कालोपत्र छोटो समयमै उप्किएपछि सडक डिभिजन कार्यालयले मर्मत कार्य गर्दै आएको थियो। कार्यालयले गतवर्षको बजेटबाट राँझादेखि कोहलपुरसम्मको खण्डमा भने डिबिएसटी प्रविधिकै सडक स्तरोन्ति गरिसकेको र यसपटक राँझा–जमुनाहा खण्डमा नयाँ प्रविधिमा सडक स्तरोन्नति गर्न लागिएको कार्यालयका सब–इन्जिनियर राजेन्द्र पाण्डे बताउँछन्। यसैगरी, उक्त खण्डको जमुनाहादेखी मनिकापुरसम्म रहेको १३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

कुल ७ करोड रूपैयाँको लागतमा ठेक्का समेत खोलिसकेको डिभिजन प्रमुख एसपीले प्रष्ट्याए। उक्त खण्डमा यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सोलार बत्ती जडान गरे पनि अधिकांश बत्ती बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन्। यी तीनवटै योजनाको ठेक्का प्रक्रियाको सबै काम दसैअगाडिसम्म सम्पन्न हुने र तिहार पछाडि निर्माण कार्य दु्रत गतिमा अगाडि बढाउने सडक डिभिजन कार्यालयको योजना छ। 

प्रकाशित: ३ भाद्र २०७९ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App