६ वैशाख २०८१ बिहीबार
अर्थ

चिस्यान सुविधासहित कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा महानगर

कृषि एम्बुलेन्सको लागि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र श्रृखंला विकास आयोजना बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै।

पोखरालाई कृषिजन्य उत्पादनको केन्द्र बनाउने उद्देश्यसहित पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको छ। कृषि एम्बुलेन्समा चिस्यान सुविधासहितको हुने समेत महानगरपालिकाले जनाएको छ।

कास्कीकै ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्ने योजनासहित निःशुल्क ढुवानी गर्ने उल्लेख गरेको छ। महानगरपालिकाले श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको हो।

सम्झौतामा कृषि तथा पशु पंक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्। कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्र छ।

संकलित तरकारीजन्य बस्तु निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरुमा वितरणको काम गर्ने छ। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

उनका अनुसार कृषि एम्बुलेन्समार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ समेत वितरण गर्न सहज हुनेछ। कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजारकेन्द्रसम्म सुरक्षित ढुवानी, समयमै ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य हुने पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनहर कडोरियाले बताए।

‘कृषकलाई तरकारी बजारसम्म पुर्‍याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धता लगायत फाइदा हुने विश्वास छ,’ उनको भनाइ थियो। तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिक जसो सेवा दिइने महानगरले जनाएको छ।

साना किसानहरूलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ। एक पटकमा ३ टन भन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको उक्त एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजाने समेत प्रतिबद्धता गरेको छ। महानगरले केही गएको असारको दोस्रो साता नै कृषि उपज ढुवानी सेवा शुरु गर्ने जनाएको थियो।  

कृषि उपज ढुवानी सेवाले किसानले उत्पादन गरेको कृषिजन्यलाई बजारसम्म ल्याउन सहज हुने विश्वास छ। पोखरा महानगरपालिका भित्र उत्पादन भएको कृषि उपजको ढुवानीमा समस्या भएमा, आफ्नोे टोल  वा क्षेत्रमा साना कृषकहरूले उत्पादन गरेको कृषि उपज संकलनको लागि निःशुल्क सेवासहित ढुवानी सेवा सञ्चालनमा ल्याइने कडरीयाले जानकारी दिए।

किसानलाई आफूसँग आफ्नो टोलमा केही उत्पादन भए सम्बन्धित वडा कार्यलय, कृषि सेवा केन्द्र तथा कृषि महशाखामा उत्पादन विवरण सहित जानकारी गराउन प्रमुख कडरीया किसानसँग आग्रह गरेका छन्। ‘यो सेवा साना किसान केन्द्रित हुने छ,’ उनले भने,‘बिचौलियाको अन्त्य हुने विश्वास छ।’  

महानगरको तर्फबाट सातलाख ५० हजार रुपैयाँ अन्नपात एग्रोलाई अनुदान स्वरुप उपलब्ध गराएको छ। ढुवानी सेवा महानगरका कृषि उपज उत्पादन हुने क्षेत्रमा खासगरी साना किसानलाई लक्षित गरेर सञ्चालन गरिने छ। कृषि उपज ढुवानी सेवा पोखरा–२१ बाट सुरु गरिने महानगरले जनाएको छ।  

प्रकाशित: २१ श्रावण २०७९ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App